
काठमाडौं । चीनको बेइजिङ उडान भर्ने क्रममा ११ वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको- एमएच ३७० विमानको पुनः खोजी सुरू हुने भएको छ ।
मलेसिया एयरलाइन्सको एमएच ३७० विमान क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा सन् २०१४ को मार्च ८ मा बेपत्ता भएको थियो । मलेसियाइ अधिकारीहरूले आगामी ३० डिसेम्बरदेखि पुनः खोजी सुरू गर्ने जनाएका हुन् । गत मार्चमै ५५ दिन लामो खोजी अभियान सुरू गर्ने बताइएकोमा खराब मौसमका कारण स्थगित भएको थियो । मलेसिया सरकारले पीडित परिवारलाई जवाफ दिन प्रतिबद्ध रहेको जनाएको छ ।
नयाँ खोजी अभियानको नेतृत्व अमेरिकी कम्पनी 'ओसन इन्फिनिटी' ले गर्ने जनाइएको छ । यसले विमानको अवशेष फेला पारे सात करोड डलर शुल्क लिने, तर, फेला नपरे कुनै शुल्क नलिने सहमति भएको मलेसियाका यातायातमन्त्री लोक सी फुकले जनाउनुभएको छ ।
२ सय २७ यात्री र चालक दलका १२ सदस्य गरी २ सय ३९ जना सवार उक्त बोइङ ७७७ भियतनामी हवाई क्षेत्रमा प्रवेश गरेको ३० सेकेन्डमै अचानक राडारबाट गायब भएको भएको थियो । मलेसियाको सैनिक राडारले भने विमानले अचानक दिशा परिवर्तन गरी दक्षिण-पश्चिम दिशातर्फ लागेको पत्ता लगाएको थियो ।
विमान लामो अनुभव प्राप्त क्याप्टेन जहारी अहमद शाहले चलाएका थिए । यसअघि २६ देशका ६० जहाज र ५० विमान संलग्न बहुराष्ट्रिय खोजी अभियान सन् २०१७ मा समाप्त भएको घोषणा गरिएको थियो । सन् २०१८ मा गरिएको एक अनुसनधानले विमान नियन्त्रणमा लिएर जानाजानी दिशा परिवर्तन गरिएको पत्ता लागेको थियो । मलेसिया एयरलाइन्स बेपत्ता भएको यो घटना उड्डयन इतिहासकै ठूलो रहस्य मानिन्छ ।