पुटिनको प्रतिबद्धता : वाग्नर विद्रोहका नेतालाई न्यायको कटघरामा ल्याइने छ

असार १२, २०८० |कान्तिपुर टीभी संवाददाता
पुटिनको प्रतिबद्धता : वाग्नर विद्रोहका नेतालाई न्यायको कटघरामा ल्याइने छ

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहान्तको वाग्नर विद्रोहका नेताहरुमाथि रुसलाई रक्तपातपूर्ण द्वन्द्वमा डुबेको हेर्न चाहेको आरोप लगाएका छन् ।

मस्कोतर्फ अगाडि बढेको वाग्नर समूह पछि हटेसँगै पहिलोपटक टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त विद्रोहको जिम्मेवार व्यक्तिलाई न्यायको कटघरामा उभ्याउने प्रतिबद्धता जनाए ।

सोमबार राति सम्बोधन गर्दै उनले विद्रोहको प्रयासमा सामेल नेतृत्वलाई न्यायका कटघरामा उभ्याउने जनाएका हुन् । तर उनले आम वाग्नर सैनिकलाई भने देशभक्त भएको उल्लेख गरे । वाग्नर सैनिकका लागि उनले विकल्पसमेत दिएका छन् । रुसी सेनामा भर्ती तथा बेलारुस वा आफ्नो घर फिर्ता मध्ये जुनकुनै विकल्प रोज्न सक्ने पुटिनले जनाएका छन् ।

‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु तथा कमान्डर रुसी देशभक्त हुन् । आफ्ना जनता र राज्यप्रति बफादार छन् । उनीहरुले युद्धको मैदानमा आफ्नो साहसबाट यो सावित गरेका छन्,’ राष्ट्रपति पुटिनले भने, ‘उनीहरुले डोनबास र नोभोरोसियालाई मुक्त गरे । यसैले घटनाको सुरुवातबाट नै मेरो निर्देशनअनुसार कदम उठाइयो । मेरो निर्देशन थियो, ठूलो रक्तपातपूर्ण अवस्थाबाट बच्नू । जब कि पश्चिमी देश तथा युक्रेन रुसीहरु एकआपसमा लडुन् भन्ने चाहन्थे ।’

सम्बोधनको क्रममा पुटिनले वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको नाम भने कतै लिएनन् । उनले भने, ‘हामीले विद्रोह भएको २४ घण्टाभन्दा कम समयमा समाप्त गरिदियौँ ।’

यसअघि विद्रोहको अगुवाइ गरेका वाग्नर समूहका येभ्गेनी प्रिगोजिनले आफूहरुको कदम पुटिनविरुद्ध लक्षित नभएको बताएका थिए । विद्रोहको कदमबाट पछि हटेपछि पहिलोपटक एक श्रव्य सन्देश जारी गर्दै उनले न्यायका निम्ति मार्च गरेको बताएका हुन् ।

वाग्नरहरुको विनाश रोक्न र आफ्ना अव्यावसायिक कदमहरुमार्फत थुप्रै त्रुटि गरेको अधिकारीहरुलाई जवाफदेही बनाउन मार्च गरेको उनको भनाइ थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement