काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण आज काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्रभावित भयो । यसले सार्वजनिक सवारी प्रयोग गर्ने धेरैलाई असर गर्यो । तर बिरामी भएर उपचारका लागि अस्पताल पुग्नुपर्नेलाई त झनै समस्या थपिदियो । उसै त बिरामी, त्यसमाथि सवारी साधन नपाएर धेरैजसो अस्पताल नै पुग्न सकेनन् भने पुग्नका लागि पनि निकै सास्ती झेल्नुपर्यो ।
धादिङबाट उपचार गराउन काठमाडौं आएका मेघलाल सिलवाल दम्पत्ति आज मैतीदेवीबाट त्रिवि शिक्षण अस्पतालसम्म पैदलै पुगे । आइतबार काठमाडौं आएका उनीहरु सोमबार सरकारले सार्वजनिक बिदा दिएकाले अस्पताल जान पाएनन् । मंगलबार पनि सवारी नचलेकाले उनीहरुलाई अस्पताल आउन समस्या परेको हो ।
सिलवाल मात्र होइन, मकवानपुरबाट उपचारकै लागि काठमाडौं आएकी मुना बैजु आइतबार नै वीर अस्पताल पुगेकी थिइन् । तर चिकित्सकको आन्दोलनका कारण सेवा पाइनन् । कालिमाटीमा बस्दै आएकी उनलाई मंगलबार पैदलै अस्पताल पुग्नुपर्यो ।
शनिबार सार्वजनिक विदा, आइतबार चिकित्सकहरुको आन्दोलनको प्रभाव, सोमबार फेरि सार्वजनिक विदा र मंगलबार यातायात अवरुद्ध भएका कारण बिरामीले उपचार पाउनै सास्ती झेल्नुपर्यो । त्यही कारण अस्पताल पुग्ने विरामीको संख्यासमेत कम भएको छ ।
अकस्मात सार्वजनिक विदा दिँदा होस् या आन्दोलन हुँदा बिरामीका लागि उपचार सेवा कसरी प्रदान गर्ने भन्नेमा सरकारले ध्यान दिनुपर्ने विज्ञ बताउँछन् ।
संविधानमा स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ । तर अप्ठ्यारो परिस्थितिमा नागरिक मौलिक हक प्रयोग गर्नबाट बञ्चित नहुन् भनेर सरकार गम्भीर बनेको पाइँदैन ।
सम्बन्धित समाचार...
सार्वजनिक यातायात नचल्दा यात्रु मर्कामा
तनावग्रस्त बालाजु : १० प्रहरी घाइते, प्रहरीका दुई भ्यान र अस्थायी प्रहरी बिटमा आगजनी
बीच सडकमै गाडी तेर्स्याएर यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र (तस्बिरसहित)