
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आफ्नो अन्तिम सिरिजमा ओमान र क्यानडाविरुद्धको क्रिकोणात्मक सिरिज खेल्न बाँकी छ ।
शीर्ष चारमा रहँदै ग्लोबल छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको अवस्थामा नेपालको मुख्य लक्ष्य शीर्ष ६ भित्र रहँदै आफ्नो ओडीआई मान्यता जोगाउनु हो । त्यसका लागि नेपालले बाँकी चारै खेल जित्नुपर्ने अवस्था छ ।
यही दबाबबीच नेपाल क्रिकेट संघ- क्यानले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
आईसीसी पुरुष विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त भइसकेको छ । तर, लिग-२ को अन्तिम शृङ्खलामा नेपालले खेल्नुपर्ने चार खेलको महत्व भने कम भएको छैन । बरु यी चार खेलले नेपाली क्रिकेटको आगामी ४ वर्षको भविष्य निर्धारण गर्नेछ ।
यही महत्वपूर्ण सिरिजका लागि भारी स्पिन आक्रमणसहितको १५ सदस्य नेपाली टोली घोषणा गरिएको छ । नेपालले ब्याटिङ अडरमा भने कुनै प्रकारको परिवर्तन गरेको छैन । एसीसी प्रिमियर कपको च्याम्पियनका रुपमा २०२७ को ओडीआई एसिया कपमा स्थान बनाएको टिमका ब्याटरमाथि नै ओडीआई जोगानुपर्ने जिम्मेवारी छ ।
ओपनिङमा आसिफ शेख र अर्जुन कुमालले निरन्तरता पाएका छन् । देव खनाल र बायाँ हाते ब्याटर इशान पाण्डे आवश्यकताअनुसार ओपनिङ गर्न सक्षम छन् । तर, यी दुवै खेलाडीलाई शीर्ष क्रममा प्रयोग गरिने छ । मध्यक्रममा रोहित पौडेलसँगै दीपेन्द्र सिंह ऐरी प्रमुख आधार हुन् ।
सन्दीप जोरा र गुल्सन झाको काँधमा आक्रमक फिनिसिङ गर्ने जिम्मेवारी छ । गुल्सनले टिममा तेस्रो फास्ट बलरको भूमिका पनि खेल्नुपर्ने छ । पेस बलिङमा करण केसीले निरन्तरता पाउँदा नन्दन यादवले पुनरागमन गरेका छन् ।
टोलीमा स्पिन बलिङलाई विशेष महत्व दिइएको छ । कप्तान सन्दीप लामिछाने, ललित राजवंशी र शेर मल्लको स्पिन आक्रमणले निरन्तरता पाँउदा देब्रे हाते स्पिनर शाहब आलमलाई अतिरिक्त स्पिनरका रुपमा पुनरागमन गराइएको छ । बसिर अहमदले स्पिनसँगै तल्लो क्रमको ब्याटिङमा पनि महत्वपूर्ण योगदान दिन सक्छन् ।
दीपेन्द्र र रोहितले स्पिन बलिङमा विकल्प थप्ने छन् । टोलीमा यसपटक पनि केही परिचित अनुहार भने छैनन् । ओपनर कुशल भुर्तेल र अनुभवी पेस बलर सोमपाल कामीलाई पुनरागमनको अवसर दिइएको छैन । एसीसी प्रिमियर कप खेलेको टिमबाट हेमन्त धामी बाहिरिएका छन् ।
ग्लोबल छनोटमा पुग्ने सम्भावना कमजोर बने पनि ओडीआई मान्यता जोगाउने लक्ष्यले नेपालका लागि अन्तिम शृङ्खला निकै महत्वपूर्ण छ । जित्नुपर्ने दबाबले प्रत्येक खेललाई नकआउट सरह बनाउने छ । नेपालसहित ओमान र क्यानडाबीच खेलिने यो सिरिज आगामी अक्टोबर ९ देखि १९ सम्म आयोजना हुने तालिका छ । तर, पश्चिम एसियामा जारी तनावले ओमानमा हुने सम्भावना न्यून छ भने वैकल्पिक भेन्यू घोषणा हुन बाँकी छ ।