हस्तक्षेप र अस्थिरताबीच उदयपुर अस्पतालमा सुधारको प्रयास

भाद्र ३०, २०८३ |भोटराज राई
हस्तक्षेप र अस्थिरताबीच उदयपुर अस्पतालमा सुधारको प्रयास

उदयपुर । कमजोर व्यवस्थापन, नेतृत्वको अस्थिरता र विभिन्न किसिमका हस्तक्षेपले प्रभावित उदयपुर अस्पतालमा पछिल्लो समय सुधारको प्रयास थालिएको छ । 

बन्द भएका सेवाहरू सञ्चालनमा आएका छन् । बिरामीलाई रेफर गर्ने क्रम घटेको अस्पतालको दाबी छ । सामान्य बिरामीलाई पनि बाहिर पठाउनुपर्ने उदयपुर अस्पताल अहिले आफ्नै सेवा विस्तारमा छ । 

बन्द एसएनसीयू, एबीजी र कल्चर अर्थात् माइक्रोबायोलोजी सेवा पुनः सञ्चालनमा आएको छ । डायलासिसका पाँचमध्ये दुईवटा बिग्रिएका मेसिन मर्मतपछि अहिले सबै सञ्चालनमा छन् । दुई सिफ्टमा चल्दै आएको डायलासिस सेवा अब तीन सिफ्टमा विस्तार गर्ने तयारी छ ।

अहिले रगत, पिसाब परीक्षण, एक्स-रे तथा औषधिका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ । धेरै बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता पनि हटेको छ । यो अस्पतालम दैनिक चारदेखि पाँच सयसम्म बिरामी आउँछन् । सेवा व्यवस्थापन सुधार्न बिहान ९ बजे कर्मचारी बैठक तथा अन्तरशाखा छलफलको अभ्यास सुरु गरिएको छ । 

अहिले सबै कर्मचारी समयमै आउँने ड्युटी पूरा गरेर मात्र फर्किने र सिफ्ट परिवर्तन हुँदा जिम्मालिने सहकर्मी नआई ड्यूटी छाड्न नपाइने अस्पताल प्रशासनको दाबी छ । निःशुल्क उपलब्ध हुने ९८ प्रकारका औषधि नियमित बनाउन टेन्डर प्रक्रिया अघि बढाइएको छ भने अस्पताललाई डिजिटल प्रणालीमा लैजाने र पेपरलेस प्रणाली लागू गर्ने तयारी भइरहेको छ । 

सुधारका बीच पनि अस्पतालमा चुनौतीहरु छन् । ५० शय्याको अस्पतालमा अहिले ९४ बेड सञ्चालनमा छन् । स्थायी दरबन्दी ५९ जनाको भए पनि २९ जना मात्रै कार्यरत छन् । विभिन्न स्रोतबाट थप जनशक्ति जुटाएर १५६ जना कार्यरत रहे पनि मेडिकल अफिसर, नर्सिङ र एचएजस्ता जनशक्ति अझै कम छन् । 

१३ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालमा मेडिकल अफिसर भने पाँच जना मात्रै छन् । विगतमा राजनीतिक दबाब, कर्मचारीबीचको गुटबन्दी, बाह्य स्वार्थ र व्यवस्थापनमा हुने हस्तक्षेपले सेवा प्रभावित हुने गरेको थियो । 

अहिले अहिले पनि यस्तो दबाब कायमै छ । उदयपुर अस्पताललाई प्रदेश सरकारले अझ ठूलो स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने तयारी गरेको छ । प्रादेशिक अस्पतालको प्रक्रियासँगै आईसीयू, एनआईसीयू, जलन उपचार कक्ष र ज्येष्ठ नागरिकका लागि जेरियाट्रिक वार्ड सञ्चालन गर्ने योजना अघि सारिएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।