काठमाडौं । क्यान्सर, ब्लड प्रेसर, सुगरजस्ता रोग च्वाट्टै निको पारिदिने भन्दै अहिले अस्पतालहरूमा केही गिरोह सक्रिय छन् ।
यिनका गलत उपचार पद्धति र गलत औषधिले मानिसका जायजेथा मात्र सकिइरहेका छैनन्, ज्यानसमेत जोखिममा परेको छ । अपरेसन गर्नुपर्ने बिरामी या दीर्घ रोगीहरूलाई सामान्य औषधिका पुरियाले चाँडै निको हुन्छ भन्दै ठगी गर्दै उनीहरूले बिरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् । उनीहरूले कसरी ठगिरहेका छन् ? यो अपराधबारे के भन्छ स्वास्थ्य मन्त्रालय ?
बनेपाका ४२ वर्षय राजु कालिराजलाई २०८२ को जेठमा मलासयको क्यान्सर देखियो । उहाँको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । क्यान्सरको सुरुवाती अवस्था भएकाले उपचारमा संलग्न चिकित्सकहरु शल्यक्रियापछि उहाँको क्यान्सर निर्मुल हुनेमा ढुक्क थिए ।
मंसिरको १६ गते उहाँको शल्यक्रिया गर्ने निधो भयो । काउन्टरमा शल्यक्रियाका लागि ६० हजार पैसा बुझाउनुपर्ने थियो। तर, काउन्टरमा पैसा बुझाउन उभिनु भएका उहाँलाई दुई अपरिचित महिलाले अपरेसन गरिहाल्नु हुँदैन भनेर अल्मलाए ।
ती महिलाले अस्पतालको गेट बाहिर लगेर औषधि सेवनबाट क्यान्सर निको हुन्छ भन्ने विश्वासमात्र दिलाएनन्, अपरेसन गरियो भने जीवन नै कठिन हुन्छ भन्दै मोबाइलमा विभत्स फोटोहरु देखाए। र 'हाम्रो औषधि खाए क्यान्सर छिट्टै निको हुन्छ' भन्दै फकाए।
जसोतसो खर्च जोहो गरेर उपचार गरिरहेका राजु र उनको परिवार ती महिलाको भरोसामा परिहाले । ती महिलाहरुले राजु र उनका परिवारलाई कहिले बसुन्धरा त कहिले बौद्ध लग्दै औषधिको नाममा रकम असुल्न थाले। बसुन्धरामा १५ दिनको औषधिको ३० हजार रूपैयाँसम्म र बौद्धमा १८ हजार रूपैयाँ उनीहरुले लिए ।
क्यान्सर निको हुने आशमा राजुले ४ लाख रुपैयाँ बराबरको औषधि खाए । तर, ७ महिनासम्म औषधि खाँदा कुनै सुधार आएन। चिकित्सकको निगरानीमा हुनुपर्ने उपचार अरुको लहलहैमा जे पायो त्यही खाएर कहाँ निको हुनु ?
गैरचिकित्सकको लहलहैमा लागेर खाएको अनेक पुरियाहरुले काम नगरे पछि अहिले राजुको परिवार फेरि क्यान्सर अस्पताल पुगेका छन् । सात महिनाको बीचमा उहाँमा क्यान्सर थप फैलिएको छ । सुरुमा उहाँको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डाक्टर पुण्य खर्बुजाले अहिले रोग थप जटिल अवस्थामा पुगेको जानकारी दिनुभयो।
थप परिक्षण गरेर उपचार विधिबारे निर्णय लिने तयारीमा अस्पताल छ । भक्तपुर क्यान्सर अस्पतालका अनुसार यसरी भर्खरै क्यान्सर देखिएको वा क्यान्सर शंका गरिएका १ सय नयाँ बिरामीहरु मध्ये करिब ८ देखि १० जना बिरामीहरु गलत उपचार विधि वा औषधिको प्रयोग गर्छन् ।
हाम्रोमा यसरी उपचारमा ठगिएकाहरुको यकिन तथ्याङ्क नभए पनि भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुको अनुभवको आधारको ठूलो संख्या रहेको अनुमान गरिएको छ । यसरी क्यान्सरको मात्र हिसाब गर्दा ८ कडा रोगका लागि सरकारले दिने १ लाख बराबरको सहयोग आर्थिक वर्ष ८२/८३ मा १९ हजार ५ सय ४४ जना नयाँ क्यान्सरका बिरामीले लिएका छन् ।
अस्पताल र चिकित्सकहरुको अनुमानलाई आधार मानेर दश प्रतिशतकै हिसाब गर्दा पनि हाम्रोमा गत आर्थिक वर्ष थपिएका नयाँ क्यान्सरका बिरामी मध्ये १९ सयभन्दा बढीले यस्तो जथाभावी उपचारका नाममा रकम बुझाएको अनुमान गर्न सकिन्छ।
क्यान्सरमा मात्र होइन, उच्च रक्तचाप, मधुमेहदेखि लिएर अन्य धेरै रोगका बिरामी गलत मानिसको लहलहैमा लागेर अनौपचारिक उपचारका नाममा ठगिने गरेका छन् । धेरैले ठगी गर्ने अभिप्रायले उपचार गर्छ भने उनीहरुले यस्ता उपचार पद्धतिलाई आयुर्वेदिक भन्दै हिँड्ने र मानिसहरुलाई प्रलोभनमा पार्ने गर्छन् ।
आर्युवेद तथा वैकल्पिक चिकित्सक विभागका अनुसार कसैले आयुर्वेद पद्धतिबाट उपचार गरेर सबै रोग निको पार्छु भन्दै हिँड्छ भने यो सरासर ठगी हो । यता स्वास्थ्य मन्त्रालयका अनुसार दर्ता भएकै चिकित्सक वा स्वास्थ्यकर्मीहरुले यसरी ठगी गरेमा वा भ्रम फैलाएमा उनीहरुलाई सम्बन्धित काउन्सिलले ऐन अनुसार कारबाही गर्छ ।
तर, यसरी दर्ता नै नभइ कसैले रोग निको बनाउँछु, वा औषधि सिफारीस गर्छ भने त्यो अपराध हो । यस्तो देखिएमा तुरुन्त उजुरी दिन समेत मन्त्रालयले आग्रह गरेको छ । मुलुकी अपराधसंहिता २०७४ को इलाज सम्बन्धि कसुरमा यसरी अनुमति विना गलत व्यक्तिले उपचार गरेर ज्यान गएमा ज्यान मारेबराबरको कसुर, अंगभङ्ग वा अशक्त भएकाेमा सोही अनुसारको कानुन र अन्य अवस्थामा ५ वर्ष कैददेखि ५० हजारसम्मको जरीवाना हुने व्यवस्था छ ।
नेपाल प्रहरीका अनुसार अनौपचारिक उपचारका नाममा भएका गठीका उजुरी आए पनि त्यस्को एकीकृत तथ्याङ्क भने छैन । अब तपाईँलाई लाग्ला राजुको परिवारले उजुरी दिए कि दिएनन् ? अहँ दिएका छैनन् । उनीहरुका अनुसार यसरी लिएको औषधिको बिल तथा अन्य कागजात केही पनि छैन । भएका कागजात पनि फ्याँकिसकेका छन् ।
केको आधारमा उजुरी गर्नु ? राजु त एक पात्र हुन् जो हाम्रो सम्पर्कमा आउनु भयो । यस्ता कति बिरामी होलान् जो गलत मानिसको लहलहैमा लागेर स्वास्थ्य बिगारीरहेका ?
AI GENERATED PICTURE