काठमाडौं । बीच सडका सवारी साधन तेर्सायर यातायात मजदुर प्रदर्शनमा उत्रिएपछि बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले दुईवटा प्रहरीको भ्यान र माछा पोखरीको अस्थायी प्रहरी बिटमा आगजनी गरेपछि स्थायी तनावग्रस्त बनेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक हिमालय श्रेष्ठका अनुसार स्थिति नियन्त्रणमा लिन खोज्दा १० प्रहरी घाइते भएका छन् भने दुई प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता श्रेष्ठले कान्तिपुर टेलिभिनसँग भने, ‘सवारी साधन बीच सडकमा तेर्साएर आन्दोलनमा उत्रिएकाले प्रहरी समयमै घटना स्थलमा पुग्न नसकेपछि गाडीमा आगजनी भयो । हामीले दुई प्रदर्शनकारी र हुलमुलमा लुटपाट गर्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिएका छौं’
उनका अनुसार प्रदर्शन जारी रहेकाले सडक अझै अवरुद्ध छ भने प्रदर्शनकारीले ढुंगामुडासमेत गरिरहेका छन् ।
स्थिति सामान्य अवस्थामा फर्काउन प्रहरीले बल प्रयोग गर्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार...
बीच सडकमै गाडी तेर्स्याएर यातायात मजदुर आन्दोलित, यात्रु अलपत्र (तस्बिरसहित)