रोनाल्डोको ७ नम्बर जर्सीमा राफाएल लिओ, उत्तराधिकारी कि संयोग ?

आश्विन १६, २०८३ |अभय बस्नेत
रोनाल्डोको ७ नम्बर जर्सीमा राफाएल लिओ, उत्तराधिकारी कि संयोग ?

काठमाडौं । २०२१ मा कतारविरुद्ध रोनाल्डोकै सट्टा दोस्रो हाफमा मैदान छिर्दै पोर्चुगलको सिनियर टोलीमा डेब्यू गरेका राफायल लिओ अहिले रोनाल्डोकै जर्सी पहिरिएर मैदानमा उत्रिए । 

बाल्यकालमा रोनाल्डोलाई आइडल मान्ने लिओलाई कसरी आफ्नै आइडलको जर्सीको भार आइपुग्यो त ? अनि यो जर्सी नम्बर प्रदान गर्नु कुनै प्रशासनिक निर्णय हो वा उत्तराधिकार हस्तान्तरण ?

रोनाल्डोले टिम छोडेर हिँडेको केही घन्टामै उनको आइकोनिक जर्सी नम्बर ७ मैदानमा देखापर्‍यो । तर, फरक यत्ति थियो- त्यो जर्सीमा ‘रोनाल्डो’ लेखिएको थिएन ।

अहिले युरोप नेसन्स लिगमा व्यस्त छ । लिगको नियामक युरोपेली फुटबल महासंघ (युएफा)को नियमअनुसार प्रतियोगिताका लागि दर्ता गरिएका २३ खेलाडीलाई १ देखि २३ नम्बरसम्म क्रमैसँग जर्सी दिनुपर्छ । जसकारण रोनाल्डो नभए पनि ७ नम्बर जर्सी खाली राख्न मिलेन । 

अनि यो जर्सीको भार बोक्न आइपुगे- १७ नम्बर लगाएर खेल्दै आएका राफायल लिओ । अहिलेसम्म प्राप्त जानकारीअनुसार यो कुनै उत्तराधिकार हस्तान्तरण होइन । क्रम भंगताको निरूपण मात्र हो ।

आखिर को हुन् त राफाएल लिओ ?

उनको पूरा नाम राफाएल अलसान्द्रे दा कन्सेइसो लिओ हो । २७ वर्षका यी खेलाडी ६ फिट २ इन्च अग्ला छन् । विशेषगरी विङ पोजिसनमा खेल्ने लिओले सीपीको युथ एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका थिए । सन् २०१८ मा फ्रेन्च क्लब लिल पुगेका उनले २६ खेलमा ८ गोल गरे । 

त्यसपछि इटालीको एसी मिलानमा सात सिजन बिताउँदा उनले २०२१/२२ सिजनमा टोलीलाई सिरी- आ च्याम्पियन बनाउनुका साथै सिजनको उत्कृष्ट खेलाडीको उपाधि जिते । मिलानका लागि २९१ खेलमा ८० गोल गरेका लिओ अगस्ट २०२६ मा टर्कीको गालातासारेमा अनुबन्धित भए ।

लिओले अक्टोबर २०२१ मा कतारविरुद्ध रोनाल्डोकै सट्टा दोस्रो हाफमा मैदान छिर्दै पोर्चुगलको सिनियर टोलीमा डेब्यू गरेका थिए । सन् २०२६ को अक्टोबरसम्ममा उनले राष्ट्रिय टोलीका लागि ५१ क्याप जित्दै ६ गोल गरिसकेका छन् । उनी सन् २०१६ को यु-१७ युरोपियन च्याम्पियन र २०२५ को युएफा नेसन्स लिग विजेता टोलीका सदस्य हुन् । 

मैदानमा उनको स्पिड, वान अन वान ड्रिब्लिङ, र स्पेसमा आक्रमण गर्ने क्षमता बलियो छ । लिओले रोनाल्डोलाई आफ्नो बाल्यकालको आइडल मान्ने गरे पनि उनको खेलशैली रोनाल्डोभन्दा फरक छ । रोनाल्डो आफ्नो करिअरमा प्राय स्ट्राइकरका रूपमा गोल गर्नमा केन्द्रित थिए भने लिओ विङबाट स्पिड र ड्रिब्लिङमार्फत अवसर सिर्जना गर्न ।

पोर्चुगलमा ७ नम्बर जर्सी केवल एक अङ्क होइन, यो रोनाल्डोले बनाएको लिगेसी हो । सन् २००८ मा लुइस फिगोको सन्न्यासपछि रोनाल्डोले लिएको यो जर्सीले सीआर-सेभेन नामको विश्वव्यापी ब्रान्डको रूप नै लिएको छ । रोनाल्डोको बहिर्गमनपछि उनको अन्तर्राष्ट्रिय भविष्यबारे सञ्चारमाध्यममा विभिन्न आकलन गरिए पनि रोनाल्डो वा पोर्चुगिज फुटबल संघले आधिकारिक सन्न्यासको घोषणा गरेका छैनन् । 

तसर्थ, राफाएल लिओले ७ नम्बर जर्सी लगाउनु पोर्चुगल फुटबलमा नयाँ पुस्ताको आगमनको संकेत जरुर हो, तर रोनाल्डो युगको अन्त्य भन्न भने अहिल्यै सकिन्न ।


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।