बढ्दै आँखाका बिरामी, उपचार सेवाको पहुँचमा कर्णाली अझै कमजोर

आश्विन २, २०८३ |देव राना
बढ्दै आँखाका बिरामी, उपचार सेवाको पहुँचमा कर्णाली अझै कमजोर

सुर्खेत । पछिल्लो समय कर्णालीमा आँखाका बिरामी बढ्दै गएका छन् । 

प्रदेशका विभिन्न अस्पताल, आँखा उपचार केन्द्र र इकाईहरूमा बिरामी बढ्दै गएका हुन् । वार्षिक एक लाख २० हजारको उपचार गर्ने सुर्खेत आँखा अस्पतालले बिरामीको चाप बढेपछि शनिबार र सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ ।

सन् २०७१/७२ मा सुर्खेत आँखा अस्पतालबाट सेवा लिने बिरामी ३५ हजार ७ सय ७४ जना थिए । सन् २०८१/८२ मा यो सङ्ख्या बढेर ८७ हजार ८ सय ६१ जना पुग्यो । त्यस्तै २०७८ सालमा प्रदेश अस्पतालमा १ हजार ५ सय १० जनाले आँखाको उपचार गराएकोमा २०८२ मा बढेर ११ हजार ९ सय ६७ जना पुग्यो । 

कर्णालीका विभिन्न जिल्लामा रहेका आँखा उपचार केन्द्र र इकाईमा समेत बिरामी बढिरहेका छन् । सुर्खेत आँखा अस्पतालको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ६१ प्रतिशत मोतियाबिन्दु, १६ प्रतिशत चस्मादोष, १२ प्रतिशत पर्दामा समस्या र साढे दुई प्रतिशत जलबिन्दुका बिरामी छन् । बढ्दो मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र असावधानीका कारण आँखाका बिरामी बढ्न थालेको चिकित्सक बताउँछन् ।

प्रदेश सरकारले सन् २०१९ मा गरेको सर्वेक्षणअनुसार कर्णालीका ६० प्रतिशत नागरिक आँखा उपचारको सेवाबाट वञ्चित छन् । सेवा पाएका ४० प्रतिशतमध्ये पनि ६० प्रतिशतले उपचारका लागि खर्च बेहोर्न सक्दैनन् । खर्च उठाउन नसक्ने ४० प्रतिशत बिरामीलाई सुर्खेत आँखा अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ । 

३० भन्दाबढी प्रकारका उपचार सेवा दिँदै आएको अस्पतालमा वार्षिक साढे चार हजार आँखाको शल्यक्रिया हुन्छ । २०७१ सालमा सञ्चालनमा आएको अस्पतालले पछिल्लो समय रेटिना र जलबिन्दुको उपविशिष्टिकृत सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बिरामी बढ्दै गए पनि आँखा उपचारको प्रमुख अस्पताल सुर्खेत आँखा अस्पतालमा उपविशिष्टिकृत सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार र व्यवस्थापन भने चुनौतीपूर्ण छ । हाल तीनजना नेत्र विशेषज्ञसहित ४२ जना जनशक्तिबाट सेवा दिँदैआएको यो अस्पतालमा सेवा विस्तारका लागि लगानीको खाँचो छ । 

कर्णालीका दश जिल्लामध्ये कालीकोट, मुगु, जुम्ला र हुम्लामा आँखा उपचार केन्द्र, प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आँखा विभाग सञ्चालनमा छन् । स्थानीय तहसँगको समन्वयमा सुर्खेत आँखा अस्पतालले सुर्खेतको पञ्चपुरी र छिञ्चु, जाजरकोटको छेडागाड, दैलेखको राकम, रुकुमपश्चिमको आठविसकोट, डोल्पाको त्रिपुरासुन्दरीमा आँखा उपचार इकाई सञ्चालन गरेको छ । 

तर, भौगोलिक विकटता, गरीबी, चेतना अभावजस्ता कारणले कर्णालीका ६० प्रतिशत नागरिक अहिले पनि आँखा उपचार सेवाबाट वञ्चित छन् ।


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।