काठमाडौं । काठमाडौं उपत्यकामा आन्दोलनरत यातायात मजदुरले आज आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।
बिहानैदेखि काठमाडौंका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन न्यून संख्यामा चलेका छन् । केही बस, माइक्रो बस र ट्याक्सीहरु चले पनि सामान्य अवस्थाको संख्यामा सार्वजनिक यातायात नचल्दा यात्रुले भने सास्ती भोग्नु परेको छ ।
कम संख्यामा सार्वजनिक सवारी चल्दा यात्रुले कोचिएर यात्रु गर्नु पर्ने बाध्यता छ । कतिपय रुटमा गाडी नचल्दा ती गन्तव्यका यात्रु मर्कामा परेका छन् ।
गाडी नचल्दा कतिपय यात्रुहरु गन्तव्यमा पुग्न पैदल हिँड्न बाध्य छन् । निजी सवारी भने निर्वाध चलिरहेका छन् ।
यातायात मजदुर तथा यातायात व्यवसायीहरु विभिन्न १० बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
पहिलो पटकको ट्राफिक नियम उल्लंघनमै १५ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने नियमको उनीहरुले विरोध गरेका छन् ।
यसैबीच सरकार र यातायात मजदुर तथा व्यवसायीबीचको वार्ता भइरहेको छ ।
वार्ताका लागि यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भीमज्वाला राई,अखिल नेपाल यातायात मजदुर संघका दीपक केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरलगायतको प्रतिनिधिमण्डलको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उपस्थिति छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।
आन्दोलनरत यातायात मजदुरले सोमबार अपराह्न बालाजु क्षेत्रमा प्रहरीको दुई वटा भ्यान र अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए ।