रातभर बाढीकै झझल्को, आँखामा निद्रा छैन, कसरी निदाउने ?

भाद्र १६, २०८३ |कृपाल गौतम
रातभर बाढीकै झझल्को, आँखामा निद्रा छैन, कसरी निदाउने ?

काठमाडौं । भोटेकोशी बाढीले सबथोक खोस्यो- आफन्तको साथ खोस्यो, धनसम्पत्ति खोस्यो । 

समग्रमा जीवनभरका सपना खोस्यो । बाढीले प्रभावित क्षेत्रमा मानसिक र भावनात्मक रुपमा गहिरो आघात पुर्याएको छ । प्रभावित क्षेत्रमात्र होइन, त्यहाँ आफन्त र प्रियजन गुमाएका अनि मोबाइलका स्क्रीनमा यो खबर बारम्बार हेरिरहेका अरुको पनि निद्रा बिथोलिएको छ ।

यो आघातबाट कसरी बाहिर निस्कने ? मनका कुरा कसलाई र कसरी सुनाउने ? अनि, कस्ता समस्या देखिइरहेका छन् बाढीप्रभावित बस्तीमा ?

बेत्रावतीका ३४ वर्षीय कुसकुमार जोशीलाई न रातमा निद्रा छ, न दिनमा भोक । त्रिशुलीको त्यही भयानक भेल हरपल आँखामा आइरहन्छ । भदौ १० गते के भयो भन्ने भेउसमेत नपाउँदै सबै तहसनहस भइसकेको थियो । आफू भागेर बाँचे पनि बाढीले घरसहित बुबा आमा र बहिनी सबैलाई बगायो । 

बुबा जसोतसो बाँच्न सफल हुनुभयो । तर, आमा र बहिनीको अत्तापत्तो छैन । अब उहाँलाई बेत्रावतीमा जान मन छैन । भन्नुहुन्छ- अलिकता जग्गा थियो त्यो पनि बुबा बचाउनेलाई दिएँ ।

मनोचिकित्सकहरुका अनुसार यस्तो बेला मानिसहरुमा गहिरो मानसिक आघात पर्ने गर्छ । जस्तो कि- भेल तथा घर बगाएको दृश्य सम्झिइरहने, दिमागमा विभिन्न कुरा खेलिरहने, राति निन्द्रा नपर्ने, तर्सिएर उठ्ने आदि । यसबाहेक ध्यान केन्द्रित नहुने, सानो कुरामा पनि झर्को लाग्ने, रिस उठ्ने वा बोल्न छोडेर टोलाएर बस्ने जस्ता व्यवहारगत परिवर्तन समेत आउन सक्छन् ।

सरकारले उद्धार अनुरोध पोर्टलमार्फत मानसिक स्वास्थ्यमा केही सहयोग गर्न खोजेको छ-रेस्क्यू डट ओपीएमसीएम डट जीओभी डट एनपी स्ल्यास मेन्टल ड्यास हेल्थ- मा मलाई तनाव भइरहेको छ कहाँ सल्लाह लिन सक्छु ? निद्रा लाग्दैन के गर्ने तथा बालबालिकालाई कसरी सम्हाल्ने जस्ता विषयमा सोध्ने विकल्प दिइएको छ। र, संकटमा परेको अवस्थामा सम्पर्क गर्न एम्बुलेन्सको १०२ र उद्धारको १२३४ नम्बर पनि दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटीले पनि विपद्का समयमा मानसिक समस्या बेहोरिरहेकाहरुका लागि मनोपरामर्श दिन छिट्टै काम थाल्ने तयारी गरेको छ । यस्ता मानसिक समस्याहरूलाई लुकाउने वा समयमै ध्यान नदिने हो भने यसले विकराल रूप लिन सक्ने चिकित्सक बताउँछन् । 

पीडितहरूसँग कुरा गर्ने, उनीहरूको कुरा सुन्ने, एक्लोपन महसुस हुन नदिने वातावरण जतिसक्दो छिटो र व्यापक रुपमा सिर्जना गर्नुपर्ने चिकित्सक बताउँछन् । लामो समयसम्म मानसिक तनाव रहिरहँदा यसले अरु शारीरिक स्वास्थ्य समस्या समेत निम्तन सक्छ । 

क्षति भएका भौतिक संरचना त पुनर्निर्माण गर्न सकिएला, तर मानसिक पीडा र यसबाट निम्तन सक्ने जटिलता पुनर्निर्माण गर्न गाह्रो हुन्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।