बाढीको छालबाट बाँचेकाहरू अस्पतालमा, आफन्तको अत्तोपत्तो छैन

भाद्र १२, २०८३ |कृपाल गौतम
बाढीको छालबाट बाँचेकाहरू अस्पतालमा, आफन्तको अत्तोपत्तो छैन

काठमाडौं । रसुवा र नुवाकोटमा बुधबार गएको बाढीका घाइतेहरुको अहिले काठमाडौंको वीर, ट्रमा, टिचिङ्गलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । 

घाइतेहरु कसैलाई बाढीको भयानक छालले मृत्युको मुखबाट मिल्काएर बचायो भने कोही भागदौडमा परेर घाइते भए । एकातिर घाइतेहरूको चीत्कार छ भने अर्कोतिर आफन्त खोज्न पुगेकाहरुको प्रश्न छ। 

कोही भित्ता भित्तामा हराएका आफन्तको फोटो टाँसीरहेका छन्, कोही अस्पतालका शय्यामा चिनेका मानिस छन् कि भन्दै खोजिहिँडेका छन्।

दोलखाका तुलसी बहादुर भण्डारी रसुवाको टिम्मुरेमा व्यापारको सिलसिलामा एक हप्ताअघि पुग्नुभएको थियो । व्यापारका लागि रसुवा पुगीरहने उहाँ बुधबार बिहान कोठामा बसिरहेका बेला अचानक डुङ्ग गरेको आवाज सुन्नुभयो । थर्किएको पनि महसुस भएकाले उहाँलाई भूकम्प हो कि भन्ने मात्र के लागेको थियो, बाहिर धुवाँको जस्तै मुस्लो देखियो । 

लगत्तै बाढीले गाडीहरु उडाएर ल्याएको उहाँले देख्नुभयो । हतारहतार भाग्न खोज्दा कोठाबाट निस्किनेवित्तिकै उहाँ एकाएक बाढीमा हेलिनुभयो । तर, भण्डारीलाई बाढीको छालले हुत्याएकै कारण उहाँ बाँच्न सफल हुनुभयो । अहिले उहाँको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यता त्रिवि शिक्षण अस्पतालमा भेटिनुभएको रसुवाका रामकुमार राना मगरको छोरी २२ वर्षीय सुरुचि रानामगर घुम्नका लागी केरुङ्ग पुग्नुभएको थियो । केरुङ्मा दिदिको व्यवसायसमेत भएकाले सुरुचि आफ्ना साथीहरुसँग घुम्न गएको उहाँका बुवा बताउनुहुन्छ । तर, एक्कासी बाढी आयो, भाग्दा भाग्दै छालले बगाएर छोरीलाई बालुवामा फ्याँक्यो र घाइते बनायो । 

सुरुचिलाई हेलिकप्टरले रेस्क्यू गरेर काठमाडौं ल्याए पनि छोरीका केही साथीहरुको भने अत्तोपत्तो छैन । नुवाकोटका रमेश लामिछानेकी ११ वर्षीया छोरी रिहाना लामिछाने बुधबार स्कुल गएको अवस्थामा बाढीको हल्ला चल्यो । स्कुलले बिदा दियो र स्कुलबाट घर जाने क्रममा भागदौडमा परेर घाइते हुनुभयो ।

वीर अस्पतालको आकस्मीक कक्षमा नुवाकोटबाट उद्धार गरी ल्याइएकी अन्दाजी ७५ वर्षकी वृद्धाको भने पहिचान खुल्न सकेको छैन । उहाँको अहिले आकस्मिक कक्षको १३ नम्बर शय्यामा उपचार भइरहेको छ । आफन्तहरु हराइरहेको अवस्थामा यसरी अस्पतालमा उपचारका लागि ल्याइएको छ कि भनेर आफन्तहरु घाइतेको उपचार भइरहेको काठमाडौंको ट्रमा, वीर र शिक्षण अस्पतालमा खोज्नका लागि समेत आइरहेका छन ।

वीर अस्पतालअगाडि उदयपुरका भोट्ला सदा भेटिनुभयो। काठमाडौंमा हरेकजसो अस्पतालमा उहाँ एकजना व्यक्तिको फोटो टाँस्दै हिँड्नुभएको छ। रसुवामा उहाँका आफन्त राजकुमार श्रेष्ठ हराउनुभएको छ। काठमाडौंका अस्पतालमा भेटिने आशाले उहाँ सोधीखोजी गर्दै हुनुहुन्छ।

अकस्मात आएको बाढीले धेरैको खुसी र सर्वस्व उस्तै अकस्मात बगाइदिएको छ। अहिले अस्पतालका शय्याहरूमा घाइतेहरू शरिरका चोटसँगै परिस्थितिले दिएको चोट मेट्न संघर्ष गर्दैछन्। धेरै मानिस हराएका आफन्त खोज्दै र भित्तामा हराएका आफन्तका तस्बिर टाँस्दै अस्पतालका भित्रबाहिर चहारिरहेका छन्।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।