पूर्वाधारमा कमजोर सामुदायिक विद्यालय- न खेल मैदान छन्, न छन् बाल मैत्रीभवन ! (भिडियो रिपोर्ट)

फाल्गुन २२, २०७९ |आनन्द गौतम|दीपेन्द्र शाक्य|विनोद घिमिरे
पूर्वाधारमा कमजोर सामुदायिक विद्यालय- न खेल मैदान छन्, न छन् बाल मैत्रीभवन ! (भिडियो रिपोर्ट)

ताप्लेजुङ, संखुवासभा, धनकुटा । विद्यालयका बालबालिका पढाइसँगै खेलकुदका गतिविधिमा सहभागी हुन रुचाउँछन् । बालबालिकाले खेलकुदका गतिविधिमा रुची राख्नु स्वभाविक मात्र नभई अनिवार्य पनि हो । तर हाम्रा सामुदायिक विद्यालयमा बालबालिकालाई घुमफिर गर्ने पर्याप्त ठाउँ र उपयुक्त खेल मैदान छ त ?

धनकुटा सदरमुकामको गोकुण्डेश्वर बालमन्दिर माविमा ११ सयभन्दा बढी विद्यार्थी छन् । उमेर र तहअनुसार विद्यार्थी खेल्ने मैदानको कुरा छाडौँ, विद्यालयमा एकैपटक सबै विद्यार्थी पङ्क्तिवद्ध भएर उभिने ठाउँसमेत छैन । सातसय विद्यार्थी अध्ययन गर्ने सिरानबजारको माथिल्लो गोकुण्डेश्वर माविमा पनि सबै विद्यार्थी अटाउने मैदान छैन् । विद्यालयको स्वामित्वमा १० रोपनी जग्गा भए पनि टाढा भएकाले खेलमैदानका लागि उपयुक्त छैन । अपवादबाहेक धनकुटाका साढे तीनसय विद्यालयमा खेल पूर्वाधार कमजोर छ ।

तीन सय ३१ विद्यालय रहेको हिमाली जिल्ला ताप्लेजुङका अधिकांश विद्यालयमा खेलमैदान छैन । संखुवासभाका विद्यालयमा पनि खेलमैदानको समस्या उस्तै छ । यहाँका ७५ प्रतिशत विद्यालयमा खेलमैदान छैन, भएका पनि बालमैत्री र मापदण्डअनुसारका छैनन् ।

सरकारले विद्यालय सञ्चालन अनुमति दिनुपूर्व नै भवन, कक्षाकोठा र तिनको क्षेत्रफल, खेल मैदान, अलगअलग शौचालय, धारा, पानीजस्ता पूर्वाधारबारे मापदण्ड बनाउनुपर्नेमा यस्ता पक्षलाई ख्याल गरिएको पाइदैन ।

विद्यार्थीलाई कक्षाकोठाभित्र राखेर पाठमात्रै घोकाउने प्रवृतिले सिकाइ उपलब्धि प्रभावकारी हुँदैन । विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि कक्षाबाहिर गरिने अतिरिक्त क्रियाकलाप पनि शिक्षण सिकाइको महत्वपूर्ण पाटो हो । हरेक विद्यालयमा बाल उद्यानको अवधारणा आइसकेको अवस्थामा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद र मनोरञ्जनात्मक शारीरिक सक्रियता आवश्यक छ । त्यसका लागि हरेक विद्यालयहातामा उपयुक्त पूर्वाधार विकास गर्नेतर्फ सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ ।  

सम्बन्धित समाचार...

दोलखाका सामुदायिक विद्यालयमा विद्यार्थी घटे
धनकुटाका सामुदायिक विद्यालयमा विज्ञान पढाउने शिक्षक अभाव
सामुदायिक विद्यालयमा चरम बेथिती


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।

Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।