२०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीको नारा दिएर चुनाव जितेका जनप्रतिनिधीले पाँच बर्ष ढुक्कले स्थानीय सत्ताको बागडोर सम्हाले । तर आफैले गरेका बाचा भने पुरा गरेनन् । त्यही कारणले सुविधाको खोजीमा बर्षेनी गाउँ छाडनेहरु बढे भने सामुदायिक विद्यालयमा विद्यार्थी ह्वात्तै घटे ।
भूकम्पपछि दोलखामा नयाँ र अत्याधुनिक सामुदायिक विद्यालय भवन निर्माण भए । तर ती विद्यालयमा पढ्ने विद्यार्थीको संख्या भने बर्षेनी घट्दो छ । २०७४ सालमा दोलखामा प्रावि तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या २५ हजार थियो । अहिले त्यो संख्या १७ हजारमा झरेको छ । रोजगारी नपाएपछि स्थानीयले गाउा छाड्दा विद्यालय रित्तिन थालेका हुन् ।
गाउँमा विद्यार्थी नहुनुको मुख्य कारण अभिभावकहरु रोजगारी खोज्दै शहरतिर बसाई सर्नु हो । शिक्षाको गुणस्तर बढाउन ध्यान नदिने अनि विकास भनेको भौतिक पूर्वाधार मात्रै हो भन्ने बुझाइ कायमै रहे सामुदायिक विद्यालय प्रतिको आकर्षण झन् घट्ने देखिन्छ ।