बाढीले २३ विद्यालयमा क्षति, ७ हजार विद्यार्थी प्रभावित

२३० विद्यार्थी र १० शिक्षक सम्पर्कविहीन
भाद्र १५, २०८३ |नारायण किलम्बू
बाढीले २३ विद्यालयमा क्षति, ७ हजार विद्यार्थी प्रभावित

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट र धादिङका गरी २३ विद्यालयका करिब ७ हजार विद्यार्थी प्रभावित भएका छन् । 

तीमध्ये २ सय ३० विद्यार्थी र १० शिक्षक सम्पर्कविहीन छन् । कतिको मृत्यु भयो अहिल्यै भन्न सकिने स्थिति छैन । कान्तिपुरको सम्पर्कमा आउनुभएका एक प्रधानाध्यापकले आफ्नो विद्यालयका दुई दर्जन बालबालिका र ६ शिक्षक सम्पर्कविहीन भएको बताउनभुयो । तर, विद्यार्थी र शिक्षकको अवस्थाबारे मन्त्रालयलाई थाहा छैन ।

भदौ १० गते बिहान पौने ९ बजे । रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घले सधैं झै विद्यालय जाने तयारी गर्दै हुनुहुन्थ्यो। साढे ९ बजे प्रार्थनाको समय हुने भएकाले पनि उहाँ निस्कन हतार गरिरहनुभएको थियो। तर, अचानक ठूलो विस्फोटको आवाज आयो।

उहाँ र उहाँकी श्रीमतीले जसोतसो ज्यान जोगाउनुभयो, तर घरमै रहेका ८ जना आफन्त, विद्यालयका ६ शिक्षक र विद्यालय आउँदै गरेका दुई दर्जन विद्यार्थीको अवस्था कस्तो छ अहिलेसम्म थाहा छैन । चीन सरकारको सहयोगमा दुई वर्ष अघिमात्र बनेको सुविधा सम्पन्न विद्यालय भवनको अहिले अवशेष नै छैन भने अभिभावकहरुको पनि घरहरु सबै बगाएको छ ।

भदौ १० को विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङका १६ वटा सामुदायिक र ७ निजीविद्यालय क्षतिग्रस्त भएका छन् । शिक्षा मन्त्रालयका अनुसार ती विद्यालयहरुमा अध्ययनरत ७ हजार विद्यार्थी र सयभन्दा बढी शिक्षक प्रभावित भएका छन् । 

तीमध्ये रसुवा र नुवाकोटका ८ वटा विद्यालयको अवशेष नै नरहने गरी बगाएको छ भने अरु विद्यालय पनि पठनपाठन गर्न नमिल्नेगरी क्षति पुगेको छ । बाढीका कारण २ सय ३० विद्यार्थी र १० शिक्षक सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।

बाढीबाट उद्धार भएका शिक्षक र विद्यार्थीहरु कहाँ र कुन अवस्थामा छन् भन्नेबारे शिक्षा मन्त्रालय अनभिज्ञ छ । केही एकीकृत उद्धार क्षेत्रमा र केही आफन्तकहाँ रहेको मन्त्रालयको दाबी छ ।

विद्यार्थी र शिक्षकको एकिन विवरण पत्ता लगाउन शिक्षा मन्त्रालयले मंगलबारबाट द्रुत सर्वेक्षणका लागि एक टोली घट्नास्थल पठाउने तयारी गरेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।