काठमाडौं । करार सेवामा रहेका शिक्षक र कर्मचारीले सीटीईभीटीको पठनपाठन नै रोकिदिएका छन्।
कर्मचारी कटौतीको नीतिअनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले कर्मचारी हटाउन थालेको हो। कटौतीमा परेका कर्मचारीले भने विकल्प नदिइ हटाउन नपाइने भन्दै शैक्षिक र प्रशासनिक काम ठप्प पारिदिएका हुन्।
सरकारले दरबन्दी कटौती गर्ने नीति लिएपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्- सीटीईभीटीले करारका कर्मचारी हटाउन थालेपछि त्यहाँका कर्मचारीहरु आन्दोलित भएका छन्। सीटीईभीटीले ६५ शिक्षक-कर्मचारीको नवीकरण नगरेको तथा ज्यालादारी र करारका कर्मचारीहरुको दुई महिनाकोमात्रै करार सम्झौता गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सीटीईभीटीअन्तर्गत देशभर ६७ वटा आंगिक शिक्षालय छन् । इन्जिनियरिङ, कृषि, वन र होटल म्यानेजमेन्टलगायतका विषय पढाइ हुने प्राविधिक शिक्षालयहरुमा ९ सय ३२ जनाको स्थायी कर्मचारी तथा शिक्षकको दरबन्दी छ। तर, ६ सय ३७ जना करार र ज्यालादारीमा काम गरिरहेकोमा सीटीईभीटीले साउनको पहिलो साता करारमा कार्यरत ६६ जनाको करार नवीकरण नगर्ने निर्णय गरेको थियो।
करारमा कार्यरत बाँकीको भने दुई महिनामात्रै करारअवधि बढाइएको थियो। करारमा रहेका ती शिक्षक तथा कर्मचारीहरुले सरकारले आफूहरुलाई उचित विकल्प नदिइ हटाउन नमिल्ने तर्क गरेका छन् । आन्दोलनका कारण देशैभरिका शिक्षालयमा भर्ना र पठनपाठन रोकिएका छन्।