माथागढी गाउँपालिकामा शिक्षण विधि फेरिँदा बढ्यो सिकाइ उपलब्धि

श्रावण २६, २०८३ |माधव अर्याल
माथागढी गाउँपालिकामा शिक्षण विधि फेरिँदा बढ्यो सिकाइ उपलब्धि

पाल्पा । अंग्रेजी माध्यमबाट पठनपाठन, आधुनिक शिक्षण विधि, परियोजना कार्य, शैक्षिक सामग्रीको प्रयोग, कक्षाकोठामा अनुसन्धान तथा व्यावसायिक सहकार्यको अभ्यासले पाल्पाको माथागढी गाउँपालिकामा पछिल्लो चार वर्षमा शिक्षाको गुणस्तर बढेकाे छ । 

शिक्षक तथा विद्यार्थीमा नेतृत्व क्षमता विकास भएको छ । कक्षाकोठाको सिकाइ अभ्यास तथा नतिजा सुधार र अनुगमन प्रणाली थप व्यवस्थित भएकाले समग्र विद्यालयकै सिकाइ उपलब्धि बढेको हो ।

पाल्पाको माथागढी गाउँपालिकाले गुणस्तरीय शिक्षा, गुणस्तरीय विद्यालय कार्यक्रम सञ्चालन गरेपछि शिक्षक तथा विद्यार्थीमा नेतृत्व क्षमता विकास भएको छ । विद्यालयले बहुभाषिक शिक्षाको प्रयोग र विस्तार भएको दाबी गरिहँदा विद्यार्थीमा सक्रिय सहभागिता, आलोचनात्मक सोच तथा सिकाइ उपलब्धिमा सुधार देखिएको छ । 

दुई वर्षअघि एसईईमा उत्तीर्ण हुने दर २३ प्रतिशत रहेकामा अहिले ४८ प्रतिशत पुगेको छ । विद्यार्थीलाई नयाँ विधिबाट शिक्षण सिकाइ गराउँदा कक्षा ५ मा ९१ प्रतिशत, कक्षा ८ मा ९२ प्रतिशत विद्यार्थी सफल हुन सकेका छन् । दुई वर्षअघि यो आँकडा ४७ प्रतिशत्मात्रै थियो ।

यो चार वर्षमा विद्यालय नेतृत्व, शिक्षकको व्यावसायिक क्षमता, स्थानीय शिक्षा व्यवस्थापन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन देखिएको छ । ब्रिटिस काउन्सिलको सहजीकरणमा गाउँपालिकामा शिक्षा सुशासन सुदृढ हुँदै गएको छ भने १० वर्षे स्थानीय शिक्षा योजना निर्माण गरिएको छ । 

सामाजिक कार्य परियोजनामार्फत विद्यालय–समुदाय सम्बन्ध पनि बलियो बन्दै गएको छ । शिक्षकको क्षमता अभिवृद्धि, विद्यार्थीको सक्रिय सहभागिता र प्रभावकारी मूल्याङ्कन प्रणालीलाई प्राथमिकतामा राखी गरेको कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाको दाबी छ । 

स्थानीय सरकारदेखि विद्यालय, शिक्षक र विद्यार्थीसम्म बहुआयामिक प्रभाव पारेको छ । गाउँपालिकाले चार वर्षे उपलब्धिलाई संस्थागत गर्ने योजना बनाएको छ । ४४ वटा विद्यालय रहेको माथागढीमा विद्यालयको नियमित अनुगमन, कक्षाकोठा अवलोकन, अंग्रेजी भाषा सुधार र स्थानीय प्रशिक्षकमार्फत थप तालिम सञ्चालनलाई निरन्तरता दिने योजना छ । 

गाउँपालिकामा भौगोलिक जटिलताका साथै पारिवारिक र सामाजिक अवस्थाले केही चुनौती पनि नभएका होइनन् । थोरै संख्यामा भए पनि विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयसम्म ल्याउनु र कक्षा ८ सम्म उत्तीर्ण गराउनु चुनौतीपूर्ण छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।