फर्जी कागजात पेस गर्ने विदेशी चिकित्सकमाथि काउन्सिलको कारबाही

भाद्र ५, २०८३ |नारायण किलम्बू
फर्जी कागजात पेस गर्ने विदेशी चिकित्सकमाथि काउन्सिलको कारबाही

काठमाडौं । मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत करिब एक दर्जन विदेशी चिकित्सकहरु कारबाहीमा परेका छन् । 

मेडिकल काउन्सिलमा दर्ताका लागि पेस गरेका कागजातहरु फर्जी पाइएपछि उनीहरुलाई काउन्सिलले कारबाही गरेको हो । नक्कली कागजत पेस गरेका र छानबिनको क्रममा रहेका चिकित्सकहरुको दर्ता प्रक्रिया काउन्सिलले रोकेको छ । नेपालमा करिब ५ सयको हाराहारीमा विदेशी चिकित्सकहरु कुनै न कुनै रुपमा कार्यरत छन् ।

काउन्सिलले विभिन्न मेडिकल कलेजको फ्याकल्टी डाक्टर र अस्पतालमा कार्यरत चिकित्सकहरुको छानबिनको क्रममा १० जनाको कागजातहरू फर्जी पाइएको जनाएको छ । सम्बन्धित देशको मेडिकल काउन्सिलबाट गुड स्ट्यान्डिङ सर्टिफिकेट समेत उनीहरुले नल्याएको काउन्सिलले जनाएको छ । 

काउन्सिलले छानबिनको क्रममा फर्जी कागजात पेस गर्ने विदेशी चिकित्सकहरु माथि कारबाही गरी चिकित्सकीय दर्तामा रोक लगाएको छ । मेडिकल काउन्सिलका अनुसार नेपालमा मेडिकल कलेज तथा अस्पतालहरुमा गरी करिब ५ सयको हाराहारीमा विदशी चिकित्सकहरु कार्यरत छन् । 

एमबीबीएस, बिडीएसदेखि स्नातकोत्तर तहसम्मको सिट निर्धारणका लागि मेडिकल कलेजहरुले विदेशी चिकित्सकहरु ल्याउने गरेको छ । गुणस्तरीय चिकित्सा शिक्षाका लागि विदेशी चिकित्सकमाथि छानबिन सुरु गरी कारबाही सुरु गरिएको काउन्सिलले जनाएको छ ।

शिक्षण संस्था र अस्पतालहरुमा कार्यरत विदेशी चिकित्सक तथा सनाखत गर्ने नेपाली चिकित्सकहरुसँग समेत काउन्सिलले लिखित स्पष्टीकरणसहित बयानका लागि बोलाएको छ । यता, चिकित्सकहरुको छाता संस्था चिकित्सक संघका अध्यक्ष समेत रहनु भएका काउन्सिलका सदस्य बद्री रिजालले विदेशी चिकित्सकमाथि छानबिन गरी कारबाही थालिएकोमा आपत्ति जनाएको छ ।

काउन्सिलले कलेज र अस्पतालमा कार्यरत विदेशी चिकित्सकहरुको दर्ता अवस्था, कार्यस्थिति र व्यावसायिक गतिविधिको आवश्यक अनुसन्धानका लागि विशेष समिति समेत गठन गरेको छ । छानबिन प्रक्रियामा रहेका अन्य विदेशी चिकित्सकहरुको समेत काउन्सिलमा दर्ता स्थगित गरेको छ । 

नेपालमा एमबीबीएस र बीडीएस पढाउने शिक्षण संस्थाहरु २८ वटा छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।