भारतले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगायो

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगायो

काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध लगाएको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयले २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायी आन्दोलित भइरहेका वेला पुन: भारत सरकारले प्रतिबन्ध लगाएपछि उपभोक्ता झन् समस्यमा पर्ने भएका हुन् ।

थोक बजारमा ३५ रुपैयाँमा बिक्री भएको प्याज नयाँ बजेटले मूल्य अभिवृद्धि कर भ्याट लगाउने घोषणा गरेसँगै दोब्बरले बढेको थियो । सरकारले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने भन्दै आलु-प्याजजस्ता तरकारीमा भ्याट लगाएको थियो । नेपालमा वार्षिक चार लाख टन प्याज खपत हुने गरेको छ ।

भारत र चीनबाट पौने दुई लाख टन प्याज आउने गरेको छ । वार्षिक करिब ६ अर्ब रुपैयाँको प्याज आयात हुने गरेको सरकारी तथ्यांक छ । नेपालमा सञ्चालित प्याज मिसनजस्ता कार्यक्रम सफल नहुँदा आयात बढेको हो ।

यसैबीच आन्तरिक राजस्व विभागले आज (शुक्रबार) सूचना जारी गर्दै स्वदेशी कृषिजन्य वस्तुमा भ्याट नलाग्ने स्पष्ट पारेको छ । काठमाडौंका थोक व्यापारीले आलु र प्याजमा भ्याट लगाइएको भन्दै बिक्री वितरणमा रोक लगाएका थिए । विभागले भ्याट नलाग्ने स्पष्ट पारेसँगै व्यापारीले पनि बिक्री नियमित गर्ने जनाएका छन् ।

यो पनि...

काठमाडौंको बजारमा प्याज अभाव, व्यापारीले बढाए मूल्य

आयात रोकिँदा आलु-प्याज अभाव, मूल्य आकासियो

नेपाल र भारत दुवै देशले कर लगाउँदा आलु, प्याज र लसुनको मूल्य आकासियो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.