काठमाडौंको बजारमा प्याज अभाव, व्यापारीले बढाए मूल्य

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंको बजारमा प्याज अभाव, व्यापारीले बढाए मूल्य

काठमाडौं । सरकारले बजेटमार्फत आयातित फलफूल तथा तरकारीमा मूल्य अभिवृद्धि कर लगाएपछि मूल्य बढेको छ । काठमाडौंको बजारमा प्याजको अभाव हुन थालेको छ । ४० रुपैयाँको प्याज अहिले ६० रुपैयाँ पुगेको छ भने २८० देखि तीन सय रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४ सय पुगेको छ ।

सरकारले बजेटमार्फत आलु, प्याज, फ्रोजन केराउ, बोडीलगायत आयातित तरकारीमा कर लगाएको छ । यस्तै स्याउ, एभोकाडो, किबी, स्ट्राबेरीजस्ता फलफूल पनि करको दायरामा परेका छन् ।

सरकारले फलफूल तथा तरकारी जस्तो चाँडै कुहिने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएको भन्दै व्यापारी आन्दोलित छन् । यस्ता वस्तुमा भन्सार छुट गर्नुपर्ने माग उनीहरुको छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नभएसम्म आयात नगर्ने अडान व्यापारीको छ ।

कुहिने र तौल घट्ने सामग्रीमा मूल्य अभिवृद्धि कर लगाउँदा कुहिएर खेर गएको र घटेको तौलको हिसाबमा कठिनाइ हुने भन्दै व्यापारीहरुले भन्सार छुट नगराएसम्म आयात नगर्ने अडान लिएपछि प्याजको अभाव हुन थालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.