ताप्लेजुङ । असोज ८ गते दिउँसो भएको आगलागीबाट घर, व्यवसाय गुमाएका ताप्लेजुङको दोभान बजारका अग्नी पीडित शनिबारदेखि आफ्नो घर तथा पसलको भग्नावशेष पन्साउने, पारिवारिक व्यवस्थापन गर्ने जस्ता कार्यमा जुटेका छन् ।
आठ व्यक्तिका १० घर र १७ वटा पसल जल्दा १४ करोड ५० लाखको क्षति भएको छ ।
आगलागीपछि आफन्त र छिमेकीकोमा बस्दै आएका प्रभावित परिवारहरु माैसममा सुधार आएपछि शनिबार भग्नावशेष बनेको घर तथा पसलमा जाने, पन्साउने जस्ता कार्यमा जुटेका छन्। उनीहरुलाई छरछिमेक र आफन्तले साथ दिइरहेका छन्।
गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, उद्योग वाणिज्य संघलगायतका सरकारी तथा गैरसरकारी निकायले दिएको राहत सामग्री प्रयोग गर्ने र त्यही व्यवस्थापन गर्ने तयारी छ । आगोमा जलेका सामग्रीको गन्ध आउने र थप प्रदूषण हुने भएकाले पन्साउने कार्यमा स्थानीय पनि सक्रिय बनेका हुन् ।
बुधबार देखिनै सिमसिम वर्षा भइरहेको दोभान बजारमा बिहीबार दिउँसो दावा शेर्पाको घरबाट आगलागी सुरु भएको थियो । सदरमुकाम फुङलिङबाट दुईवटा दमकल, सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियताका कारण १० वटा घर जले पनि बाँकी क्षति हुनबाट जोगाइयो ।
सदरमुकाम फुङलिङपछिको दोस्राे बढी कारोबार हुने यहाँ ८० को हाराहारीमा घर पसल रहेको उद्योग वाणिज्य संघ दोभानले जनाएको छ । प्रभावितहरुले सरकारबाट निर्ब्याजी कर्जा, आगलागी भए तत्काल नियन्त्रणकालागि दमकल लगायतको माग गर्न थालेका छन् ।
यो बजारमा २०७७ साल फागुनमा पनि आगलागी भएको थियो । त्यसबेला ४० करोड बढीको क्षति व्यहोरेका अग्नी पीडित यस पटक पनि दोहोरो मारमा परेका छन् ।