नेपाल र भारत दुवै देशले कर लगाउँदा आलु, प्याज र लसुनको मूल्य आकासियो

कार्तिक २२, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल र भारत दुवै देशले कर लगाउँदा आलु, प्याज र लसुनको मूल्य आकासियो

वीरगन्ज । आलु, प्याज र लसुनको निकासीमा भारतले ४० प्रतिशत र नेपालले १५ प्रतिशतसम्म कर लगाउँदा त्यसको असर मूल्यमा परेको छ ।

वीरगञ्ज क्षेत्रमा दुई साताअघिसम्म प्रतिकिलो ३० रुपैयाँमा पाइने आलु अहिले ५० रुपैयाँ पुगेको छ भने प्रतिकिलो ५० रुपैयाँ पर्ने प्याजको मूल्य दोब्बरले बढेको छ । त्यस्तै प्रतिकिलो एक सय रुपैयाँ पर्ने लसुन तीन सय रुपैयाँ पुगेको छ । चाडबाडको मुखमा आएर व्यवसायीले मूल्य बढाएको उपभोक्ताको आरोप छ ।

वीरगन्जकी सुशीला कर्णले आलु, प्याज महँगिएको गुनासो गरिन् । उनले भनिन्, ‘छुइ नसक्ने महँगो भएको छ । आलु र प्याजमा त आगै लागेको छ ।’

व्यावसायीहरु भने आयातीत तरकारीमा भारत र नेपाल दुवैले बढाएको कर नै मूल्य वृद्धिको प्रमुख कारण भएको दाबी गर्छन् । भन्सार अधिकारीहरु पनि नेपाल र भारतको गरी झण्डै ५४ प्रतिशत करको भार थपिएपछि त्यसको असर तरकारीको बजार मूल्यमा परेको बताउँछन् ।

वीरगन्जका व्यवसायी राजेशकुमार गुप्ताले भने, ‘पहिला कर लाग्दैन थियो । अहिले भारत र नेपाल दुवैतिरका सरकारले कर बढाएर लगाउँदा भाउ बढेको हो ।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर लगाइएको तर भारतले पनि आफ्नो कर नीति बेलाबेला परिवर्तन गरिरहँदा बजारमा आलु, प्याजलगायत तरकारीको मूल्यमा फरक परेको बताउँछन् ।

‘कृषि उत्पादन आलु, प्याजमा भ्याट लगाउनुको मुख्य उद्देश्य नै हाम्रो उत्पादनलाई सहयोग होस् भनेर हो । तर अहिले पछिल्लो पटक भारतले पनि आफ्नो उत्पादन, माग हेरेर कर व्यवस्था परिवर्तन गर्छ । भारतको ट्याक्स पोलेसी र हाम्रो ट्याक्स पोलेसी कहिँलेकाहीँ म्याच नहुँदा अलिअलि फरक देखिएको हो,’ उनले भने, ‘त्यो चाहिँ हामीले ट्याक्स पोलेसीबाटै करेक्सन गर्ने हो । अथवा हाम्रो आन्तरिक उत्पादन बढाएर करेक्सन गर्ने हो । तर आन्तरिक उत्पादनका लागि अरु विषय पनि जिम्मेवार हुन्छन् । जस्तो हाम्रो कृषिमा गरिने लगानी, पुँजीगत खर्चमा गर्ने लगानी जस्ता कुराहरुले पनि प्रभाव पारेको हुन्छ ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement