Explainer : आँगनमा जहाज राखेर उडानको सपना देखाउँदै ठगी गर्नेको वृत्तान्त

चैत्र ३, २०८१ |किरण पौडेल
Explainer : आँगनमा जहाज राखेर उडानको सपना देखाउँदै ठगी गर्नेको वृत्तान्त

काठमाडौंको मध्यबानेश्वर । पिपलबोटको पश्चिमतर्फ । अलिकति पस्नेबित्तिकै सडकको बायाँपट्टि पर्खालले घेरिएको एउटा घर छ । कम्पाउन्डभित्र एउटा प्लेन राखिएको बाहिरैबाट देखिन्छ । साथै देखिन्छ, एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी लेखिएको एउटा ठूलो बोर्ड । कम्पाउन्डमा राखिएको हवाइजहाजमा पनि एभियोट्रेस नै लेखिएको छ ।

तपाईं मध्यबानेश्वर एरियामा आउजाउ गरिहनुहुन्छ र यो घर देख्नुभएको भए तपाईंले पक्कै सोच्नुभएको होला, यहाँ के हुन्छ ? बोर्डमा लेखिए बमोजिम नै यो घरमा उड्डयन सम्बन्धी केही गतिविधि हुन्छ होला भन्ने अनुमान पनि लगाउनु भएकै होला । मलाई पनि लागेकै थियो । संयोगले मेरा एकजना सहपाठीको मोटरसाइकलमा बसेर हालैको कुनै दिन म त्यस घरमा पसें । कम्पाउन्डमा राखिएको यो जहाज जेट स्ट्रिम फोर्टी वन मोडलको कुनै समय अग्नि एअरले चलाएको जहाज हो । जुन अहिले चल्दैन । कम्पाउन्डमा राखिएको जहाजमा के गरिँदो होला ? मैले पनि सोचें ।

तर मौसम खराब हुँदा जोडसँग जहाज हल्लिए जस्तै, घरमा रहेको कार्यालयमा पसेपछि मैले थाहा पाएका कुराहरूले मलाई हल्लाइदियो ।

आउनुस् धेरै युवा विद्यार्थीहरूको जीवन हल्लाइरहेको यो घरमा चलिरहेको व्यवसायबारे म तपाईंलाई बताउँछु ।

नवीन कुनै समयका मेरा सहपाठी हुन् । उनैले हो मलाई मोटरसाइकलमा राखेर यहाँ पुर्‍याएको । उनी प्रबन्ध निर्देशकले बोलाएको भन्दै यहाँ पुगेका थिए, फुर्सद भएकाले म साथी गइदिएँ । केहिबेरको प्रतीक्षापछि हामीलाई एमडीको कक्षमा लगियो ।

त्यहाँ थिए एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक सुरेन्द्र महर्जन, कार्यकारी निर्देशक मोतिराम इटानी, आफूलाई सञ्चालक बताउने निशान भट्टराई र यहाँकी कर्मचारी शिखा नेपाली र पूजा लोहनी ।

संवादमा कुनै सरोकार नभए पनि म त्यहीं बसेर सुनिरहें । नवीनले सोध्दै थिए, यो स्कुलको दर्ता कहाँ गरिएको छ ? तपाईंहरूले कुन निकायको अनुमति लिएर एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ पढाइरहनुभएको छ ?

प्रश्नहरूले आजित प्रबन्ध निर्देशक सुरेन्द्र महर्जन र अरूहरूले घुमाइफिराइ जवाफ दिइरहेका थिए तर नवीनले चित्त बुझाउन सकिरहेका थिएनन् ।

तर संवाद संवादमा सीमित भएन, बहस र विवादमा परिणत भएपछि म चनाखो भएँ ।

अब तपाईंबाट सुरु भएको संवाद तँ मा झर्‍यो ।

खासमा नवीनले सोसल मिडियामा संस्था कतै दर्ता नभएको र आफ्नो साथीले त्यहाँ पढेका कारणले बिच्चलीमा परेको कमेन्ट गरेपछि उनलाई एमडीले ‍त्यहाँ बोलाएका रहेछन् । एअरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ पढ्न भनेर भर्ना भएका विद्यार्थीहरूलाई कोर्स पूरा गरेर थप अध्ययनका लागि अन्य संस्थामा यहाँको प्रमाणपत्र बुझाएपछि मात्रै प्रमाणपत्रको कुनै मान्यता नै नभएको जानकारी हुँदो रहेछ ।

हुन पनि संस्था कतै दर्ता नै गरिएको छैन, कुनै सरकारी निकायले प्रमाणित नै नगरेको, कुनै विश्वविद्यालयबाट मान्यता नै नपाएको संस्थाको प्रमाणपत्रको के अर्थ ?

एअरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ मात्र होइन, उड्डयन सम्बन्धी अरू धेरै कोर्स पनि गराउने भनी प्रचार गरिएको यो संस्थामा तपाईंको संस्था कहाँ दर्ता छ भन्ने प्रश्नले रिसाएका सञ्चालकहरूका अगाडि बस्न मलाई कठिन हुँदै गयो ।

जब मैले नवीनले नै सोधेका प्रश्न दोहोर्‍याएँ, तब प्रबन्ध निर्देशक महर्जन मसँग पनि उसैगरी कड्किए । तँ को होस् भन्दै मसँग जंगिएका उनले नवीनलाई अपशब्द प्रयोग गर्न थालेपछि भने मैले अडियो रेकर्ड गर्न थालें ।

अडियोमा उनले मुख छोडे, मन्त्रीको धम्कीसम्म दिए, विचार गर भनेर धम्काए । ‘मु** तँ  को होस् काठमाडौंको ज्यापू हो, विचार गर’सम्म भने ।

म केही नबोली सुनिरहें, साथी नवीन अझै बहस गर्दै थिए । माहोल झनै अशान्त हुने देखेपछि मैले अब हामी निस्कन्छौं, हाम्रो गल्ती भयो भनेर क्षमा मागी निस्कन खोजें । प्रबन्ध निर्देशक सुरेन्द्र महर्जन र त्यहाँ उपस्थित अर्की महिला शिखा नेपालीले हामीलाई सोध्ने तँ को होस्, नागरिकता निकाल् भनेर धम्क्याए । 

परिचयपत्र नदिएसम्म हामीलाई कोठाबाट निस्कन नदिने भन्दै उनीहरू ढोकामा उभिए । उनीहरूको निरन्तरको दबाबपछि नवीनले आफ्नो सवारीचालक अनुमतिपत्र टेबलमा राखे । उनीहरूले मलाई पनि परिचयपत्र देखाउन दबाब दिए । मैले आफूलाई यसबारेमा केही जानकारी नभएको नवीनसँग साथी मात्रै आएको हो भन्दा पनि तँ ऊसँग किन आइस्, किन सोधिस् भन्दै धम्क्याए । मैले पनि सरक्क आफ्नो लाइसेन्स निकालेर टेबलमा राखें उनीहरूले फोटो खिचे । मैले अझैसम्म आफू कान्तिपुर टेलिभिजनमा कार्यरत रहेको कुरा उनीहरूलाई जानकारी गराएको थिइनँ । हामी त्यहाँबाट निस्कियौं ।

यति भएपछि अब मैले यो संस्थाको बारेमा बुझ्न थालें ।

मैले शिक्षा मन्त्रालयमा बुझें- शिक्षा मन्त्रालयले एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी नामक संस्था आफ्नो रेकर्डमै नभएको बतायो ।

उड्डयन सम्बन्धी कोर्स भएकाले हवाई उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलसँग कुराकानी भयो । उहाँले पनि एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी नामक संस्थालाई क्यानले नचिन्ने बताउनुभयो ।

यसै विषयमा जानकारी लिन म महानगरपालिकाको शिक्षा विभागमा पुगें- महानगरपालिकाले पनि उक्त संस्थालाई आफूले नचिन्ने बतायो ।

पीडित विद्यार्थीहरू पनि मेरो सम्पर्कमा आए । २ वर्षमै सर्टिफाइड इन्जिनियर हुन्छौ भनी झुक्याएर भर्ना गरेको र पछि नेपालमा यो संस्था कहीँ दर्ता छैन् भन्ने थाहा पाएको भन्दै गुनासो गरे । उक्त संस्थामा अध्ययन गरेर उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका विद्यार्थीसँग पनि मेरो कुरा भयो । आफ्नो गुनासो सुनाउन ८ जना विद्यार्थी कान्तिपुरको कार्यलयसम्मै आए । आएकामध्ये २ जना टेलिभिजनमा क्यामाराको अगाडि नै कुरा गर्न तयार भए ।

एक विद्यार्थीका अनुसार ‘सुरुमा इन्जिनियर हुन्छौ भनी झुक्याएर कागजात मागेपछि कागजात नै फिर्ता गरेन ।’ 

८ जना विद्यार्थीमा अधिकांशको गुनासो छ- इन्जिनियर र डिप्लोमा सर्टिफिकेशनको लोभ देखाएर भर्ना गरियो, पछि पैसा बुझाएपछि मन भए पढ नत्र छोडेर जा भनियो ।

व्यस्त शहरको बीचमा ठूलो बोर्ड राखेर एउटा व्यवसाय चलिरहेको छ । त्यतिले नपुगेर कम्पाउन्डमा सडकमा हिँड्ने जो कसैलाई आकर्षित गर्ने जहाज नै राखिएको छ । सामाजिक सञ्जालमा विज्ञापनको बजार नै लागेको छ । तर यस्तो व्यवसायबारे कुनै निकायलाई कानोकान खबर छैन । यो समाचारयोग्य विषय थियो ।

यति सोधीखोजी गरुन्जेल मेराबारेमा पनि उनीहरूले उत्तिकै सोधीखोजी गरे। मसँग कुराकानी गर्ने प्रयास गरे । तर जब मैले बुझ्नुपर्ने सबै निकायसँग बुझेपछि हामीलाई धम्क्याएका आफूलाई संस्थाको प्रबन्ध निर्देशक बताउने सुरेन्द्र महर्जनलाई फोन गरें, उनले आफ्नो फोन कार्यकारी निर्देशक मोतिराम इटानीलाई दिए । इटानीले आउनु भनेपछि म र क्यामेरापर्सन पशुपति बुढाथोकी एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीको कार्यलयमा पुग्यौं ।

तर त्यहाँका कर्मचारीले मसँग गएका क्यामरापर्सन र क्यामरालाई बाहिरै रोके । सेक्युरिटी गार्डलाई क्यामेरा पर्सन पशुपति बुढाथोकीको निगरानीका लागि खटाए । कार्यकारी निर्देशक मोतिराम इटानीको कार्यकक्षमा मलाई मात्र प्रवेश दिइयो । त्यहाँ रहुन्जेल बारम्बार उनैले सेक्युरिटी गार्डलाई क्यामरा चलाउन नदिन र रेकर्ड गर्न नदिन आदेश गइरह्यो ।

इटानीको कार्यकक्षमा पुग्दा प्रबन्ध निर्देशक सुरेन्द्र महर्जन पनि साथमै थिए । मलाई पटकपटक यो सामान्य विषय भएकाले बढाइचढाइँ गर्न आवश्यक नभएको भनियो । विद्यार्थीलाई गरिने काउन्सलिङ मलाई पनि गरियो । उहाँले कोर्सबारे मलाई बेलिविस्तार लगाउनुभयो ।

उनीहरूका अनुसार यहाँ एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ, एअर होस्टेस तथा क्याबिन क्रु र एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङको अध्यापन हुन्छ । एअरलाइन पाइलट ट्रेनिङको शैक्षिक परामर्श पनि गरिन्छ । पढाइपछि यहाँ पढेका विद्यार्थीले देशका ठूलाठूला उड्डयन कम्पनीमा काम गरिरहेको, कतिले विदेशी कम्पनीमा पनि काम गरिरहेको बताइयो । तर यहाँकै प्रमाणपत्रले कहाँको मान्यता पाएको छ भन्ने कुरा पुष्टि हुने आधार उनीहरूले देखाउन सकेनन् ।

मसँग ४ वटा प्रश्न थिए ।

मैले यी उत्तर क्यामरामा रेकर्ड गर्न चाहेको पनि दोहोर्‍याएँ । प्रश्नको उत्तर भने उनीहरूले गोलमटोल दिइरहेका थिए ।

संस्था नेपालमा कहाँ दर्ता छ र नेपालको कुन निकायको अनुमतिमा तपाईंले एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ, एअरलाइन पाइलट ट्रेनिङ लगायतका यति संवेदनशील विषयको अध्यापन गराइरहनुभएको छ ?

तपाईंको संस्थाबारे विद्यार्थीको कुनै गुनासो भए त्यसको सम्बोधनको लागि नेपालको कुन निकायमा जाने ?

शिक्षा मन्त्रालय, महानगरपालिका सीटीईभीटी नागरिक उड्डयन प्राधिकरण कसैको रेकर्डमा तपाईंको विवरण भेटिँदैन्, किन ?

चौथो प्रश्न राख्न नपाउँदै कार्यकारी निर्देशक मोतिराम इटानी भन्नुभयो । हाम्रो संस्था कोचिङ सेन्टर ट्युसन सेन्टर जस्तै हो । त्यसैले कहीँ कतै दर्ता गरिरहनु परेन ।

मैले प्रतिप्रश्न गरें- २ वर्षको ट्युसन एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ र १० लाख फि ? यसको जवाफ इटानीसँग थिएन । मलाई फेरि कोर्सको बेलिविस्तार लगाउन थालियो । मैले ‘क्यामेरामा बोल्ने भए म क्यामेरा माथि बोलाउँछु, नत्र अनुमति दिनुस् म निस्कन्छु’ भनें ।

उनले क्यामरामा बोल्न अस्वीकार गरे । बोल्न परे कान्तिपुरको कार्यालयमै आएर बोल्ने बताए । म तल झरें । क्यामेरापर्सन पशुपति बुढाथोकीको रेकी गरिरहेका गार्डले हामीलाई गेटसम्म स्कर्टिङ शैलीमा छोड्न आए ।

धेरैतिरबाट समाचार नबनाउन र प्रसारण नगर्न दबाब आयो । मसँग सम्पर्कमा आएका हरेकजसो विद्यार्थी मार्फत उनीहरूले समाचार नबनाउन भने । मैले आफ्नो नम्बर दिएको थिइनँ । मेसेन्जरमै फोन गरेर मोतीराम इटानीले कुनै ‘मिसअन्डरस्ट्यान्डिङ’ भएको भए कुरा गरेर मिलाउन आग्रह गरे । तर साँझ ८ बजेको कान्तिपुर बुलेटिनमा समाचार प्रसारण भयो, आकाशको सपना देखाएर भुइँमा थचार्ने ठगी

काठमाडौंमा कुनै व्यवसाय सञ्चालन गर्दा दर्ता गर्ने निकाय एउटा महानगर आफैं हो । उद्योग विभागमा दर्ता गर्न सकिन्छ । शैक्षिक गतिविधि सञ्चालन गर्ने संस्था भए शिक्षा मन्त्रालय मातहतका निकाय छन् । उड्ड्यन सम्बन्धी अध्यापन गर्ने संस्थाका लागि नागरिक उड्डयन प्राधिकरणकै समेत अनुमति आवश्यक होला । नभए कमसेकम सीटीईभीटी । तर संस्थाका प्रतिनिधि बताउनेहरू भनिरहेका छन्, शैक्षिक परामर्श केन्द्रका रूपमा अनुमतिप्राप्त संस्था हो । शैक्षिक परामर्श केन्द्रले कुनै विषयको डिप्लोमा कोर्स सञ्चालन कसरी गर्न सक्छ ? अनि त्यो संस्थाले कुनै विदेशी कम्पनीको हवाला दिएर नेपालको नागरिक उड्डयन प्राधिकणभन्दा हाम्रो संस्था ठूलो हो भन्दै प्रचार गर्न कसरी सक्छ ?

काठमाडौं महानगरले बुधबार यहाँ अनुगमनका लागि पुग्यो । संस्थाले सरकारी निकायमा दर्ता भएका कुनै पनि कागजात पेश गर्न नसकेपछि महानगरले भर्ना तथा प्रशासनिक लगायतका कार्य नगर्न निर्देशन दिएको छ ।

एभियोट्रेस नेपालले एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ अध्यापन गराउने भन्दै आकर्षक विज्ञापन गरेर विद्यार्थी भर्ना गरे पनि त्यसका लागि नेपालका कुनै पनि निकायसँग अनुमति नलिएको स्वीकार गरेको छ । महानगरको अनुगमन टोलीसँग संस्थाका कार्यकारी निर्देशक मोतिराम इटानीले आफूहरूले एअरलाइन्स पाइलटका लागि शैक्षिक परामर्शको काम मात्र गरिरहेको बताउनुभयो । तर महानगरपालिकाले संस्थाका वैधानिक कागजातहरू पेश गर्न समयसीमा तोकेर नभए थप कारबाही गर्ने चेतावनी दिएको छ ।

“संस्थाका वैधानिक कागजातहरू पेश गर्न अल्टिमेटम दिएका छौं । आइतबारसम्म पेश नगरे कानुन बमोजिम गर्छौं”, महानगरपालिकाका शहरी योजना आयोग सहायकविज्ञ सस्मित पोखरेलले बताउनुभयो ।

महानगरको अनुगमनपछि पनि प्रतिक्रिया लिन खोज्दा कलेजका कार्यकारी निर्देशक इटानीले बोल्न अस्वीकार गर्नुभयो । शिक्षा मन्त्रालयले पनि संस्थाको वैधताका विषयमा अनुसन्धान गरिरहेको छ भने जवाफ माग गर्दै पत्र पठाउने तयारी गरिरहेको जनाएको छ । तर, वास्तविकता थाहा नपाएका विद्यार्थीहरू भने बुधबार पनि एभियोट्रेस नेपालमा इन्जिनियरिङ पढाइबारे बुझ्न आएका भेटिए । छुट्टाछुटै बोलाएर समाचार सत्य नभएको भनेर कलेजका कार्यकारी निर्देशक मोतिराम इटानीले मिडियामा केही नबोल्न दबाब दिएको विद्यार्थीको गुनासो छ।

विद्यार्थीहरूलाई हाजिर नपुगेको भनेर २० हजारसम्म र फेल भए प्रतिपरीक्षा ८० हजारसम्म लिएर परीक्षा गराइरहेको विद्यार्थीहरूले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा बताए ।

यसैबीच १२ जना विद्यार्थीहरू आफूलाई झुक्याइएको गुनासो लिएर कान्तिपुर टेलिभिजनमा आएका छन् । उनीहरूले सुरुमा भर्ना हुँदा थोरै रकम तिरेर कलेजमा कागजात बुझाएको र पछि दर्ता नभएको थाहा पाएपछि कलेज छोड्न खोज्दा कागजात फिर्ता लिन समेत पूरै रकम बुझाउनुपरेको गुनासो गरेका छन् ।

कलेजका कार्यकारी निर्देशक मोतिराम इटानिले कान्तिपुर टेलिभिजनसँग कुराकानी नगर्ने बताउनुभयो । देशको संघीय राजधानी‍को मुटु मध्यबानेश्वरमा यसरी ७-८ वर्षसम्म कहीँ कतै अनुमति नलिई सञ्चालनमा रहँदा समेत राज्यका निकायले थाहा नपाउनु आफैंमा लज्जाको विषय हो ।

११/१२ मा विज्ञान विषयको अध्ययन गरी इन्जिनियर बन्ने सपना देखेर एभियोट्रेस नेपाल स्कुल अफ टेकनोलोजीमा अध्ययनरत विद्यार्थीहरूको बिच्चल्ली भएको छ । अब यसको जवाफ कसले दिने ? प्रतिविद्यार्थी १० लाखभन्दा बढी रकम लिएर एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङको अवैध अध्यापन गराइरहेको संस्था आफैंमा अवैध भएको स्पष्ट भएको छ ।

अनि विदेशको कोर्स अध्यापन गराइरहेको संस्थाले शिक्षा मन्त्रालयको अनुमतिबिना विदेश रकम पठाउन मिल्दैन । प्यानमा दर्ता भएको संस्थाको कारोबारको अधिकतम सीमा २० लाखबाट सुरु हुन्छ । १० देखि १३ लाखप्रति विद्यार्थी लिइरहेको संस्थाले कारोबारको रकम कति हो ? जबकि १२ जना विद्यार्थी त आफूलाई झुक्यानमा पारिएको गुनासो सहित कान्तिपुर टेलिभिजनसम्मै आएका छन् ।

आफूले सुरुमा भर्ना हुँदा थोरै रकम तिरेर कलेजमा कागजात बुझाएको र पछि दर्ता नभएको थाहा पाएपछि कलेज छोड्न खोज्दा कागजात फिर्ता लिन समेत बुझाउन परेको विद्यार्थीको गुनासो छ ।

यस्ता दर्जनौं प्रश्न छन् । जसको जवाफ एभियोट्रेस नेपाल स्कुल अफ टेकनोलोजीसँग छैन ।

यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्ने बताइरहेको छ । हामी यसलाई निरन्तर फलोअप गर्दै थप विवरण सहित फेरि आउने नै छौं ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement