गत असोज २२ गते म ओपीडीमा बिरामी जाँचिरहेको थिएँ । डोल्पा जिल्ला अस्पतालको ओपीडीमा त्यस दिन बिरामीको चाप थियो । त्यसैले होला एक जना अधबैंसे महिला ‘कस्तो भिड हो’ भन्दै पुर्जी छोडेर ‘एकछिनमा आउँला’ भनेर बाहिर निस्कनुभयो ।
म आफूअघि राखिएको पुर्जी हेर्दै त्यहाँ लेखिएको नाम पढेर बिरामीलाई बोलाउँदै पालैपालो जाँचिरहेको थिएँ । ती पुर्जीहरूमध्ये एउटामा बिरामीको नाम मात्र लेखिएको थियो । मैले अरू बिरामीलाई जस्तै नाम पढेर बोलाएँ, “कोपिला ।” (परिवर्तित नाम)
मेरो आवाज सुन्नासाथ दुई जना भित्र पसे । यसो टाउको उठाएर हेरेको अघि टेबलमा पुर्जी छाडेर जाने महिला नै रहिछन् । उनीसँगै अर्की सानी नानी पनि थिइन् ।
दुवै जनालाई बस्न अनुरोध गर्दै सोधें, “के भएर आउनुभयो ?”
“मलाई त के हुँदो हो । यी यसैलाई हो”, ती सानी नानीतर्फ इशारा गर्दै उनले भनिन् ।
मैले फेरि पुर्जीतिर हेरें ।
नाम : कोपिला
उमेर : १२ वर्ष
सम्पर्क नम्बर : खाली
ठेगाना : ठूलीभेरी नगरपालिका- ३
मैले दोहोर्याएर पुर्जी हेरिसक्दा कोपिला कोठामा थिइनन् । “खै त बिरामी ?” मैले सोधें । आमाले बाहिर गई भनेकी मात्र थिइन्, कोपिला दौडिँदै भित्र पसिन् ।
“के भयो ?” मैले कोपिलालाई सोधें । कोपिला बोलिनन्, आमा नै अघि सरेर जवाफ दिइन्- “के हुनु डाक्टर साहेब, अस्तिबाट पेट दुख्यो भन्दै छ, खान पनि मान्दैन, पर पनि सरेकी छैन ।”
पर सरेकी छैन भन्ने सुन्नासाथ मलाई उनको पिसाबमा समस्या छ जस्तो लाग्यो । उनको पिसाब जाँच गर्न पनि पठाएँ । कहिलेकाहीँ पिसाबमा समस्या हुँदा महिनावारी पनि रोकिन्छ ।
तर, जब कोपिलाकी आमाले पिसाबको रिपोर्ट लिएर आइन् म अचम्मित भएँ । सुरूमा त पिसाब जाँच्ने किट नै पो बिग्रियो कि जस्तो लाग्यो ।
मैले ती नानीकी आमालाई केही नभनी एक पटक भिडिओ एक्सरे पनि गर्न भनें । आमाले पनि ग्यास्ट्रिक हुनसक्ने भन्दै भिडिओ एक्सरे गर्ने कुरामा सहमति जनाइन् ।
भिडिओ एक्सरे (अल्ट्रासाउन्ड) गर्नका लागि कोपिलाको पेटमा प्रोव राख्नासाथ आश्चर्यान्वित भएर मैले पुनः पुर्जी तानेर उनको उमेर हेरेँ । फेरि अल्ट्रासाउन्ड मेसिनको स्क्रिन हेरेँ । पिसाब जाँचको रिपोर्ट पनि दोहोर्याएर पढेँ । म स्तब्ध भएँ ।
खाटमा सुतेकी नानीको अनुहार हेरेँ उनी केही डराएजस्तो देखिन्थ्यो । पछाडि फर्केर आमालाई हेरेँ उनी मेरो मुखबाट ‘सब ठीक छ’ भनेको सुन्न कुरिरहेको जस्तो लाग्यो । मैले आफूभित्रको कौतुहल रोक्न सकिनँ अनि ती आमालाई सोधेँ, “नानुको बिहे गर्दिनु भएको त छैन नि ?”
म जिल्ला अस्पतालमा काम गर्न थालेदेखि कोपिलाकी आमा उपचारका लागि आइरहन्थिन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा लगभग निःशुल्क नै गर्ने गरेका थियौँ हामी स्वास्थ्यकर्मीहरूले । यो पटक पनि कोपिलाको भिडिओ एक्सरे निःशुल्क गरिदिएका थियौँ ।
तर उनले छोरीको बिहे नभएको भन्दै सोधिन्, “किन ?”
आफैँले गरेको प्रश्नको उत्तर मौनताकै बीचमा शायद उनले पाइसकेकी थिइन् । ती महिला थ्याच्च भुइँमा बसिन् । फेरि जुरुक्क उठिन् र भिडिओ एक्सरेका लागि बेडमा पल्टिएकी छोरीतिर गएर ‘यसले मेरो इज्जत फाली’ भन्दै बरबराउँदै गालामा झापड हान्न थालिन् । मैले उनलाई सम्हाल्ने प्रयास गरेँ ।
०००
“अन्तिम पटक महिनावारी कहिले भएको थियो ?”, मैले सोधेँ ।
“साउनमा”, कोपिलाले जवाफ दिइन् ।
अन्तिम पटकको महिनावारी र भिडिओ एक्सरे अनुसार उनी ८ हप्ता ५ दिनको गर्भवती थिइन् । मैले के कसरी यस्तो भयो भनेर जान्न खोजेँ । मैले कोपिलालाई यो प्रश्न गर्नासाथ उनकी आमा फेरि आक्रोशित भइन् । छोरी पिट्न थालिन् । यसपटक भने मलाई रिस उठ्यो । अलि ठूलो स्वर गर्दै भनेँ, “तपाईंले छोरीलाई यसरी नै हातपात गर्नुभयो भने म पुलिस बोलाइदिन्छु ।”
यति भनेपछि आमाले रुँदै आफ्नो कथा सुनाउन थालिन् । तर मलाईं भने आमाको भन्दा नानीको कुरा सुन्नु थियो । १२ वर्षकी कोपिलालाई कसले चुँड्न खोज्यो ? उनी कसरी गर्भवती भइन् ?
तर, आमा आफ्नो कथा सुनाउँदै थिइन् । मजदुरी गरेर जीविकोपार्जन गर्ने उनी श्रीमान्ले छोडेपछि छोरी च्यापेर डोल्पा आएकी रहिछन् । दुनैमा कोठा भाडामा लिएर मजदुरी गर्दै छोरी हुर्काएकी रहिछन् । घर बनाउने ठाउँमा ढुंगा बोक्ने, ट्रकबाट सामान लोड/अनलोड गर्ने, कसैले घाँस काट्न बोलाए काटिदिने, कसैलाई बोकेर अस्पताल पुर्याउनुपरे पुर्याइदिने । जसले जे काम लगाए पनि गर्ने गरेको सुनाइन् उनले । उनी मजदुरी गर्न जाने बेला कहिलेकाहीँ छोरी पनि सँगै सघाउन जाने रहिछन् ।
केही दिनअगाडि छिमेकीलाई छोरी हेर्दिनु भन्दै उनी काम परेर १०/१५ दिन मूल घरतिर गएकी रहिछन् । फर्केर आएपछि सधैँजसो छोरीले पेट दुख्यो भन्न थालेपछि ‘भूत लागेको’ भन्ठानेर धामीलाई देखाउन पनि लगेकी रहिछन् । तर पेट दुख्न नरोकिएपछि अस्पताल आएकी रहिछन् ।
सुरूमा त ती नानीले आफूमाथि के भयो भनेर आमालाई भन्न सकिनन् । तर जब भिडिओ एक्सरेबाट उनी गर्भवती भएको खुल्यो, तब उनले सारा वृत्तान्त सुनाइन् ।
आमा घर गएको ४/५ दिनपछि, नजिकै बस्ने एक जना केटा रक्सी खाएर मातेर उनको डेरामा आएको रहेछ । पहिले पनि आउजाउ गरिरहने ती केटालाई कोपिलाले दाइ भन्थिन् । साँझ परेपछि कोपिलाले आफू सुत्न जान लागेको भनेर ती केटालाई पनि घर जान आग्रह गरिछन् । तर ऊ मानेन ।
“म खाटमा पल्टेको थिएँ । निदाएँछु । एकैछिनमा केहीले थिचे जस्तो भयो अनि आँखा खोल्दा त्यही रक्सी खाएको दाइले थिचेको थियो”, कोपिलाले भनिन्, “मलाई बोलिस् भने मार्दिन्छु भन्यो । म केही बोलिनँ अनि मेरो लुगा खोलेर जबर्जस्ती गर्यो । त्यो दिन त्यहीँ सुत्यो, अर्को दिन बिहानै उठेर गयो । त्यो दिनबाट बेला-बेला आएर केही बोलिस् भने मार्दिन्छु भन्थ्यो । डरले मैले भनिनँ । आमा गाँउबाट फर्केपछि पनि भन्न डर लाग्यो ।”
एक अवोध बालिका, जो भर्खर फुल्न खोजिरहेकी थिइन् तर पारिवारिक वाध्यताले थिचिएकी थिइन् तिनलाई एउटा नरपिचासले फुल्न नदिएर चुँडाएछ ।
ती बालखको कुरा सुनेपछि मलाई उनीप्रति माया र दया लागेर आयो । त्यति बेलै उनकी आमाले पुनः एक झापड हानिन् र अँगालो हालिन् । एकछिन माहोल शान्त भयो । म अवाक् भइरहेको थिएँ । केही बेरको मौनता तोडेर आमा रोइन् । अनि केही बेरको रोदन सकेर भनिन्, “डाक्टरसाब यसको गर्भमा रहेको बच्चा फालिदिनुस् ।”
मलाई गर्भपतन गर्ने नगर्नेभन्दा पनि जसले उनलाई यो हालतमा पुर्यायो त्यसलाई के गर्ने भन्ने कुराले पिरोल्न थालेको थियो । मैले नानीकी आमालाई भनेँ, “म त यति सानी नानीको गर्भपतन गराउन सक्दिनँ, १२ वर्षकी नानीको कसरी गर्भपतन गराऊँ ? तपाईं त्यो केटालाई बोलाउनुस् र प्रहरीमा रिपोर्ट गर्नुस् ।”
दिउँसो करिब १ बजेको थियो । उनी एकछिनमा आउँछु भनेर निस्किइन् । र, निस्कँदै गर्दा भनिन्, “सर अरूलाई केही नभन्नु है ।”
उनीहरू हिँडेपछि पनि मलाई भने उनीहरूकै याद आइरह्यो । करिब २ बजेतिर आमाछोरी टुप्लुक्क आइपुगे । अघिदेखि मेरा आँखा उनीहरूलाई नै खोजिरहेको थियो । देख्ने बित्तिकै भित्र बोलाएँ । जाँच्दै गरेको बिरामी बाहिर निस्कनासाथ सोधिहालेँ, “के भयो ?”
“सर उजुरी गरे मुद्दा लड्न पैसा लाग्छ होला, मसँग छैन । अहिले यो गर्भ फालिदिनु । उजुरी पछि गरौँला”, आमाले जवाफ दिइन् ।
मैले गर्भ नफाल्ने बताएँ । कसरी हुन्छ, ती युवकलाई कानुनको कठघरामा उभ्याउनेबारे मात्र सोचिरहेको थिएँ ।
“त्यो केटाले 'मैले गरेको होइन जहाँ गएर भन्नु छ भन्, मेरो पनि मान्छे छन् हेरौंला के गर्न सक्छस्' भन्यो । छोरीले त्यही केटाले हो भनिन् । अनि जङ्गिँदै 'हो मैले नै तेरो छोरीलाई बलात्कार गरेको । के गर्छेस् गर्' भन्छ,” बलिन्द्र आँसु झार्दै आमाले बिन्ती बिसाइन्, “डाक्टरसाब बच्चा फालिदिनुस् । यो झमेलामा मलाई नपार्नुस् ।”
मैले एउटा निर्णय लिनैपर्ने भयो । उनलाई थामथुम पारेर अस्पतालको ओसीएमसी फोकल पर्सनलाई फोन गरेर बोलाएँ । अनि सबै कुरा बेलिबिस्तार लगाएँ । उहाँले पनि प्रहरीमै जान सल्लाह दिनुभयो । त्यसपछि म आफैं आमा र छोरीलाई लिएर प्रहरीमा गएँ । उजुरी पर्ने बित्तिकै प्रहरीले असोज २२ गते ती युवकलाई पक्राउ गर्यो, अनि अनुसन्धान थाल्यो ।
नानीको स्वास्थ्य परीक्षण भयो, ती युवकको पनि भयो । करिब १२ हप्ता पुगेपछि नानीलाई र उनकी आमालाई सुर्खेत प्रदेश अस्पतालको ओसीएमसी पठायौँ । त्यहाँ एक हप्तापछि गर्भपतन गर्ने भनियो । तिहारका लागि छोरीलाई त्यहीँ छाडेर आमा आइन् । तिहारपछि मंसिर ५ गते उनको गर्भपतन भयो ।
गर्भपतन सकेर कोपिला डोल्पा आइन् । उनी डोल्पा फर्किएपछि अस्पताल आएकी थिइन् । अलि अलि पेट दुखेको, रगत बगिरहने गरेको बताइन् । मैले केही औषधि दिएँ ।
करिब एक हप्तापछि उनी फेरि एक्लै आइन् । बडो बहादुरीपूर्वक भनिन्, “डाक्टर मेरो आमासँग कुरा गर्न अरू मान्छे आएका थिए, आमाले मुद्दा फिर्ता लाने भन्नुहुन्छ । तर त्यसलाई सजाय गर्नुपर्छ । तपाईं आमालाई भनिदिनु ।”
उनको बहादुरीले म भने झसङ्ग भएँ । “आमालाई तुरुन्त लिएर आऊ” भनेँ । दिउँसो ३ बजेतिर आमाछोरी अस्पताल आए ।
मैले झपारेजस्तो गरेर भनेँ, “किन मुद्दा फिर्ता लिने ? तपाईं चुप लागेर बस्नुहोस् अब जे गर्छ प्रहरी र अदालतले गर्छ ।”
“धम्क्याउँछन् । पैसाको लोभ दिन्छन् सर”, उनले भनिन् ।
“त्यो अपराधीलाई अहिले निकाल्नुभयो भने भोलि फेरि तपाईंहरूमाथि यस्तै गर्दैन भन्ने केही ग्यारेन्टी छ ? कोपिलाजस्तै अरु छोरीलाई सिकार बनाउन पनि त सक्छ ।”
उनी केही बोलिनन् । मुद्दा फिर्ता लिन नमिल्ने बताइदिनु भनेर सम्झाएँ ।
उनी जानलाई उठ्दै थिइन् मैले नानीलाई सोधें- “विद्यालय जान्छौ ?”
“नाइँ”, उनले भनिन्, “डर लागेर गएको छैन ।”
मैले त्यहीँबाट प्रधानाध्यापकलाई फोन गरेर सोधेपछि उताबाट हामी सहज वातावरण बनाएर पढाउँछौँ भन्नुभयो । मैले उनलाई भोलिबाट विद्यालय जानू भनेँ । भोलिपल्ट म अस्पताल जाँदै गर्दा बाटोमा उनलाई देखेँ, विद्यालयको ड्रेसमा चिटिक्क परेकी थिइन् । “राम्ररी पढ” भनेर म अस्पतालतिर लागेँ । तर, मनमा कुरा खेलिरहेको छ, "न्यायको लडाइँमा कतै ती आमा गल्ने त होइनन् ? पहुँच र पैसाको धाकले कतै ती अवोध कोपिलामाथि अत्याचार गर्ने अपराधी छुट्ने त होइनन् ? १२ वर्षमै लुछिएकी कोपिला कतै मुर्झाउने त होइनन् ?"
- लेखक डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन् । डाक्टर उपाध्यायले जोरबल गरी सम्झाएपछि कोपिलाकी आमाले मुद्दा फिर्ता लिइनन् । यस मुद्दाको फैसला हुन भने बाँकी नै छ । अहिले अदालतले ती युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।