विश्वकप २०२६ मा स्पेन किन सबैभन्दा बलियो दाबेदार ?

जेष्ठ २५, २०८३ |अभय बस्नेत
विश्वकप २०२६ मा स्पेन किन सबैभन्दा बलियो दाबेदार ?

काठमाडौं । यसपालिको विश्वकपमा उपाधिको दाबेदार नै हो स्पेन । 

समर्थकबाहेक धेरै विश्लेषकलाई पनि यही लाग्छ । दुई वर्षअघि मात्र युरोपको ताज पहिरिएको स्पेनको स्क्वाड पनि तुलनात्मकरूपमा बलियो नै छ । त्यसमाथि चर्चाको चुली र प्रदर्शनको केन्द्रमा छन् १८ वर्षीय लमिन यमान । आफ्नो देशको १७औँ विश्वकप सहभागितामा यी १८ वर्षेले कति फरक पार्न सक्लान् त ? अफ्रिकी महादेशमा पहिलो तारा कमाएको स्पेनले उत्तर अमेरिकी महादेशमा दोस्रो तारा कमाउला ?

युरो २०२४ को विजेता स्पेनलाई धेरै समर्थकले विश्वकप २०२६ को पनि उपाधिको मुख्य दाबेदारका रूपमा हेरेका छन् । नहेरून् पनि किन- रोड्री, पेड्री अनि लमिन यमालजस्ता उदीयमान र नयाँ पुस्ताका स्टार खेलाडीहरूको उपस्थिति यो टोलीको मनोबल अहिले अभूतपूर्व उच्च छ । 

फेरि २०१० मै पनि उसले विश्वकप ट्रफीमा आफ्नो नाम लेखाइसकेकै छ । सन् १९३४ देखि विश्वकपको यात्रा सुरु गरेको स्पेनका लागि यो १७औँ सहभागिता हो । यसबीच २०१० मा उपाधि जित्नु अनि १९५० मा चौथो स्थान र १९३४ मा पाँचौँ स्थान हासिल गर्नु टोलीका अहिलेसम्मको उल्लेख्य प्रदर्शन हो ।

यस पटकको विश्वकपका लागि स्पेनले युरोपेली छनोटको समूह 'ई'को विजेता बन्दै प्रभावशाली ढंगले आफ्नो स्थान सुरक्षित गरेको थियो । छनोट चरणका ६ खेलमा अपराजित रहँदै स्पेनले ५ जित र १ बराबरीका साथ २१ गोल गर्दा मात्र २ गोल बेहोरेको थियो । 

प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा स्पेनले आफ्नो परम्परागत 'टिकी-टाका' शैलीलाई परिवर्तन गर्दै थप आक्रामक र 'भर्टिकल' शैली अपनाएको छ । यस पटक टोलीमा १८ वर्षीय युवा स्टार लमिन यमाल मुख्य आकर्षण छन् । यमाललाई विश्व फुटबलकै 'जेनेरेसनल ट्यालेन्ट' मानिएको छ । 

मिडफिल्डमा म्यान सिटीका रोड्री, बार्सिलोनाका पेड्री, र विङ्गमा एथलेटिक बिलबाओका निको विलियम्स मुख्य हतियार हुनेछन् । विश्वकप इतिहासमै पहिलोपटक स्पेनी टिममा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । डिन हाउसेन र डानी कारभाहाल जस्ता खेलाडी 'लस ब्लाङकोस'बाट पर्ने अपेक्षा गरिए पनि उनीहरू उत्तर अमेरिका जाने अन्तिम टोलीको सूचीमा अटाउन सकेनन् ।

स्पेन यसपटक समूह 'एच' मा केप भर्डे, साउदी अरब र उरुग्वेसँगै छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ । दोस्रो खेल उसले जुन २१ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ भने, जुन २७ मा उरुग्वेविरुद्ध आफ्नो समूह चरणको अन्तिम खेल खेल्नेछ ।

स्पेनको फुटबलमा सन् २००८ देखि सन् २०१२ सम्मको समय स्वर्णिम मानिन्छ । जहाँ स्पेनले दुईवटा युरो कप र आफ्नो पहिलो विश्वकप जित्दै इतिहास रचेको थियो । यद्यपि, २०१० को गौरवमय सफलतापछि स्पेनका लागि विश्वकपको मञ्च चुनौतीपूर्ण रहँदै आएको छ । 

सन् २०१४ मा साबिक विजेताका रूपमा स्पेन समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१८ र २०२२ दुवै संस्करणमा टोली अन्तिम १६ बाटै बिदा भएको थियो । पछिल्लोपटक कतारमा स्पेन पेनाल्टी सुटआउटमा मोरक्कोसँग स्तब्ध बनेको थियो ।

विश्वकपमा सन् २०१० को फाइनलमा गोल गरेयता स्पेनले पछिल्लो तीन विश्वकपमा नकआउट चरणमा गोल गर्न सकेको छैन । के उत्तर अमेरिकी विश्वकपमा स्पेनले गोल र उपाधि दुवै खडेरी तोड्न सक्ला ?


Image

अभय बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजनको स्पोर्ट्स ब्युरोमा कार्यरत छन् ।