अजिरकोटको नागेपोखरी पर्यटकको रोजाइमा, संरक्षण अभियान पनि सुरु

जेष्ठ २५, २०८३ |भीमलाल श्रेष्ठ
अजिरकोटको नागेपोखरी पर्यटकको रोजाइमा, संरक्षण अभियान पनि सुरु

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पर्ने नागेपोखरी प्राकृतिक, धार्मिक र पर्यटकीय गन्तव्य बन्दै गएको छ। 

हरियाली वन भित्र रहेको शान्त र सफा पोखरी, चिसो मौसम अनि हिमश्रृंखलाको मनोरम दृश्यले यहाँ पुग्नेहरूको मन लोभ्याउँछ। हरेक वर्ष नागपञ्चमीमा मेला लाग्ने यो पोखरीमा सिमसार क्षेत्र संरक्षेण तथा पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।

गोरखाको अजिरकोट गाउँपालिकाको उच्च भेगको डाँडामा रहेको यो नागेपोखरी प्राकृतिक पोखरी हो । सिरानडाँडाबाट करिब ५ घण्टाको पैदलयात्रापछि पुग्नसकिने यो ठाउँ प्राकृतिक, धार्मिक र वातावरणीय सम्पदा संगम हो । यहाँबाट गणेश, बौद्धलगायतका हिमश्रृंखला देख्न सकिन्छ । 

प्राकृतिक शान्त वातावरण, हरियाली वन र चिसो मौसमले नागेपोखरी पुग्ने पर्यटक लोभ्याउने गरेको छ । नागेपोखरी जैविक विविधता र सिमसार क्षेत्रका हिसाबले पनि महत्वपूर्ण रहेको छ । यो पोखरी संरक्षणका लागि डिभिजन वन कार्यालय गोरखाले पनि सिमसार क्षेत्र संरक्षण तथा पर्यापर्यटन प्रर्वद्धन कार्यक्रम सुरु गरेको छ ।

नागेपोखरी सामुदायिक वन क्षेत्रभित्र रहेको छ । स्थानीय वन उपभोक्ता समितिले पनि वन संरक्षण वृक्षारोपण र सरसफाइजस्ता गतिविधिलाई निरन्तरता दिइरहेको छ । प्राकृतिक र धार्मिक महत्व बोकेको नागेपोखरीलाई दिगो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ अजिरकोट गाउँपालिकाले नागेपोखरी संरक्षण र पर्यटक पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

नागपञ्चमीमा मेला लाग्ने नागेपोखरीमा नागको प्रतिमासमेत राखिएको छ । यो स्थानीयको धार्मिक आस्थाको केन्द्र पनि हो । ३ हजार २ सय ५० मिटर उचाइमा अवस्थित यो नागेपोखरीको संरक्षण र प्रर्वद्धन जरुरी छ । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।