भारतबाट नेपाल पैसा पठाउन अब रेमिट्यान्स नचाहिने, बैंक खातामै सिधै रकम ट्रान्सफर

जेष्ठ २५, २०८३ |सुदिल पोखरेल
भारतबाट नेपाल पैसा पठाउन अब रेमिट्यान्स नचाहिने, बैंक खातामै सिधै रकम ट्रान्सफर

काठमाडौं । नेपालबाट भारतमा काम गर्न गएकाहरुले अब नेपालमा पैसा पठाउन रेमिट्यान्स कम्पनीको सहारा लिनु नपर्ने भएको छ । 

अब भारतमा रहेका श्रमिकले आफ्नो खाताबाट नेपालमा रहेका आफन्तको खातामा सिधै रकम पठाउन सक्नेछन् । त्यस्तै नेपालमा काम गर्दै आएका भारतीय नागरिकले पनि भारतमा रहेका आफन्तलाई सिधै बैंक खातामा रकम भुक्तान गर्न सकिने भएको छ । तर, यो सुविधा भारतमा घुम्न, पढ्न, तिर्थयात्रा र उपचार गर्न जानेहरुले भने उपयोग गर्न पाउने छैनन् ।

नेपाल र भारतबीच अब व्यक्तिगत रुपमै एकअर्काको खातामा रकम पठाउन मिल्ने भएको छ । गत शनिबार परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरले भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेसबीचको आबद्धताको संयुक्त रूपमा सुरुआत गर्नु भएको हो । 

नेपालमा अहिले ८ वटा बैंकबाट यस्तो सेवा लिन सकिन्छ । फोन पेमार्फत क्यूआर गरेर कुनै बस्तु तथा सेवा खरिद गर्दा रकम तिर्न मिल्ने गरेको थियो । तर, अहिलेसम्म व्यक्तिले नै व्यक्तिको खातामा रकम पठाउन भने सकिँदैनथ्यो । अब यो सेवा सुरु भएसँगै भारतबाट एक पटकमा दुई लाख भारुसम्म नेपालमा व्यक्तिको खातामा पठाउन सकिन्छ। 

मसिक रुपमा के कति सीमा राख्ने भन्नेचाहिँ अहिलेसम्म तोकिएको छैन । नेपालबाट भारतमा भने प्रतिकारोबार १५ हजार र मासिक १ लाख भारतीय रुपैयाँसम्म पठाउन मिल्नेछ । २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका बेलामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच सीमापार डिजिटल भुक्तानी सम्झौता भएको थियो । 

त्यसको कार्यान्वयन भने शनिबारबाट मात्रै भएको हो । अब दुवै देशका नागरिकले एक अर्काको बैंक खातामा सिधै रकम पठाउन खुला भएको छ । अब एभरेष्ट, ग्लोबल आइएमई, माछापुच्छ्रे, नबिल र नेपाल एसबिआइ बैंकमार्फत रकम प्राप्त गर्न तथा भुक्तानी दुबै गर्न मिल्छ । 

हिमालयन, एनएमबी र सिद्धार्थ बैंकबाट प्राप्त मात्रै गर्न सकिनेछ । तर, भारतमा घुम्न, पढ्न, तिर्थयात्रा र उपचार गर्न जानेहरुले भने यो सुविधाको उपयोग गर्न सक्नेछैनन् । यो सुविधाले हुन्डीजस्ता अवैध कारोबारलाई निरुत्साहित गर्ने र भारतमा रहेका नेपाली श्रमिकहरूलाई सुरक्षित रूपमा घरमा पैसा पठाउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।