असम्भव केही हु्न्न, सम्भव बनाउन त्यति सहज पनि हुन्न जति सोचिएको हुन्छ । त्यसका लागि अनेकौ चुनौती, बाधा, व्यवधान र संघर्ष गर्नैपर्छ । निरन्तर मिहिनेत, अटुट आत्मविश्वास र गतिशील लगनशीलताको संगम हुनु आवश्यक हुन्छ । दुर्गम पाँचथरको लिम्बुवान क्षेत्रमा जन्मिएँ र कर्मथलो पनि त्यही बनाएँ । सही कुरामा आवाज बुलन्द गर्न कहिल्यै डर भएन । सत्य र न्यायको पक्षमा निडरताका साथ लड्ने क्षमता सानैदेखि थियो र आजसम्म पनि जिवन्त छ । उतिबेलाको समाजको संरचनाले मेरो अस्तित्व जीवित रहेकोमा भाग्यमानी सम्झन्छु । दुई सन्तानलाई धेरै सम्झने आधुनिक समाजको परिवेशमा मेरो जन्म असम्भव थियो किनकि सात दिदीबहिनीमा जन्तरीको पहिचान छ मेरो ।
जन्मेदेखि नै राजनीतिक माहोललाई प्रत्यक्ष रुपमा देख्ने अवसर पाएकाले होला, हुर्के बढेसँगै जीवनका अधिकांश समय राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्ता र विकासप्रेमीको रुपमा बित्यो । बुबाको इच्छा पनि यतै थियो जसले गर्दा अनभिज्ञ अवस्थामा नै राजनीतिक वातावरणमा घुलिन पुगेछु । पाँचथरको दुर्गम बस्तीमा जन्मेर त्यहाँको विभेदपूर्ण समाजलाई प्रत्यक्ष हेर्ने मौका पाएकाले होला नेपाली समाजमा व्याप्त महिला पुरुषको विभेद, गरिबलाई धनीले गर्ने शोषण, बलियाले कमजोरलाई गर्ने थिचोमिचो अझै पनि मानसपटलमा ताजै छ । बुबा विपी कोइरालाको वैचारिक सिद्धान्तका पक्षधर हुनुहुन्थ्यो । मामा, बुबाका सहयात्रीलगायत थुप्रै जनालाई अठार सालमा गोली हानी मारियो । बुबा धनकुटा जेल बस्नुभो । हामी सर्वस्वहरणमा परेर बिस्थापित हुनुप¥यो । अभिभावक बिनाको छ जनाको परिवारमा परेका दुःख पीडाका चुनौतीलाई पनि सहजै स्वीकारेर अघि बढ्ने शक्ति मैले त्यतिबेला देखि नै सिके जस्तो लाग्छ अहिले सम्झँदा ।
किशोरावस्थादेखि नै अन्याय, अत्याचार र विभेदका विरुद्ध बोल्ने र लड्ने शक्ति रहेछ भनेर त्यतिखेर गरेका क्रियाकलापले बुझाउँछ अहिले । गाउँघरमा भएका सामान्य झगडा मिलाउनदेखि लिएर सामाजिक कुरीति, कुसंस्कार र अन्धविश्वासलाई हटाउने मानसिकता त्यतिखेर नै विकास भइसकेको रहेछ । सबै चुनौतीलाई सामना गर्दै समुन्नत र समतामूलक समाजको विकासमा मेरो कर्मले अन्जानमै मूर्त रुप लिइसकेको थियो । जस्तै छोरीले जन्ती जान नपाउने चलनलाई कान्छा दाजुको बिवाहमा जन्ती गएर सुरुवात गरेको थिएँ ।
पुरुषमात्र मलामी जाने प्रथालाई हजुरआमा बितेको समयमा छोराछोरी समान हौं हामी पनि जान्छौं भनेर गएका थियौ । प्रचलित नियमभन्दा बाहिर जाँदा खेप्नुपर्ने गालीगलोजका पर्वाह नगरी डटेर सामना गर्ने बानी थियो मेरो । घर– घरमा हुने महिला हिंसाका घटनामा अघि सर्दै मिलाउने काम गरिरहन्थँे । जामा सिलाउन घरमा आउने दाजुलाई घरभित्रै राखेर खाना खुवाउनेदेखि लिएर दही मही दिन बाध्य बनाउँथे । छोरी–बुहारी समान हुन् र शिक्षा दिनु आवश्यक छ भनी गाउँभरि शिक्षाको ज्योति छर्न प्रौढ शिक्षाको कक्षा चलाइछाडेँ । खानेपानीको समस्या भोगीरहेका बस्तीलाई मेची–पहाडी कोरिडोर समितिको सदस्य भएर ‘एक घर एक धारा’ को व्यवस्था गरी २÷३ घण्टा लगाएर पानी लिन जानुपर्ने काकाकुल अवस्थालाई समाधान गर्न सफल भएँ ।
यातायातको सुविधा नभएर सास्ती भोगिरहेका जनतालाई भौतिक मन्त्रालय, योजना आयोग दौडिएर सहज आवतजावतको व्यवस्था गराउन पाउँदा निकै खुशी छु । बच्चा जन्माउन नसकेर बर्सेनि धेरै आमाहरुले अकालमा ज्यान गुमाउनुपरेको कारुणिक दृश्यले मुटु छियाछिया बनाउँथ्यो । जिल्लामा अस्पतालको आवश्यकता महसुस गरेर ५० शय्याको भवन बनाउन योजना आयोगबाट ३२ करोडको बजेट हाल्न सफल भएँ । मेरो सोचले सधै सामाजिक विकासलाई रोज्यो र यसमा नै मेरो सन्तुष्टि केन्द्रित भयो । सामाजिक विकासले नै राष्ट्र र राष्ट्रियताको विकास हुन्छ भन्ने धारणाले नै अघि बढिरहेको छु ।
महिलामाथिका अनेकौं घरेलु तथा बाह्य हिंसा उत्पीडन शोषण र विभेदका विरुद्ध विभिन्न फोरममार्फत् चेतना र जागरणका अभियन्ताकै रुपमा खरो उत्रँदै आउने क्रममा २०५६ सालमा पाँचथरको महिला जागृति तथा आयआर्जन कार्यक्रमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेँ । सशक्त नेतृत्व तथा समन्वयमा विकसित महिला चेतना जागरण र आत्मविश्वासले दरिलो आधारशीलाको रुपमा खडा गरेको महसुस हुन्छ ।
आम नेपाली महिलाहरु माथिका सबैखाले हिंसा, उत्पीडन, शोषण तथा विभेद र बन्धनको अमानवीय गैर कानुनी तथा घोर अन्यायको दुष्चक्रबाट उठाइ कानुनी संरक्षण, न्याय र पहुँचको मूल प्रवाहमा समाहित गर्ने राज्यको सर्वाधिक महत्वपूर्ण निकाय मध्येको राष्ट्रिय महिला आयोगको सदस्यका रुपमा नियुक्त हुनुले थप जिम्मेवारी बोध गरेको छु । सम्पूर्ण नेपाली महिलाहरुको अवस्था बदल्न अहम् भूमिका निर्वाह गर्ने राज्य संयन्त्रमा नियुक्त भई प्राप्त राष्ट्रिय जिम्मेवारीलाई न्यायोचित रुपमा कार्यान्वयन गर्न गराउन मेरो हुटहुटीले अन्जानमै धकेलिरहेको हुन्छ ।
सभ्य समाज, कानुनी शासन, मर्यादित र सम्मानजनक जीवनका लागि निरन्तर आवाज उठाइरहेको छु । १८ महिनाका नाबालिकादेखि ८० वर्षका वृद्धासमेत नजिकका नातेदार र परिवारका सदस्यबाटै बलात्कृत हुनुपरेको घटनाले मन छियाछिया बनाउँछ । उद्धार गरिएकालाई सुरक्षित गृहवास तथा पुनस्र्थापनजस्ता कार्यहरुको व्यवस्थापन अझ चुनौतीपूर्ण हुन्छ । थुप्रै चुनौतीलाई जिम्मेवारीबोधले बाँधेर व्यवस्थापनमा लाग्नु एक कर्तव्य हो, पदीय मर्यादाको हिसाबमा पनि ।
कुनै यस्तो क्षेत्र छैन जहाँ शक्तिको दुरुपयोग नभएको होस् । पुरुषमात्र होइन महिलाले पनि भेटेसम्म शक्तिलाई नचाउन खोज्दारैछन् भन्ने प्रत्यक्ष भोगाइले नै देखायो । कुनै भ्रष्टाचारको विषय होस् वा राज्यकोष हिनामिनाको विषय होस्, स्वतन्त्र रुपमा बोल्न लेख्न लोकतान्त्रिक राज्य व्यवस्थामा हामी स्वतन्त्र छौ तर व्यवहारमा यस्तो देखिदैन । गैरकानुनी क्रियाकलापविरुद्ध बोल्दा अनेकौं चुनौती झेल्नुपर्ने र स्पष्टीकरणको भागिदार हुनुपर्ने भोगाइले अझै सशक्त भएर काममा लाग्नुपर्ने ऊर्जा दिँदो रहेछ । न्यायिक निकाय अदालतमा समेत फरक मत र विचार राख्न छुट छ भने एउटा पदीय हैसियत र मर्यादाले पनि मलाई आर्थिक, राजनीतिक, सामाजिक प्रभावमा नपरी निर्धक्कसँग बोल्न सधै उत्प्रेरित गरिरहन्छ । अनैतिकता, भ्रष्टाचार र हिनामिनाको विरुद्ध बोल्दा झेल्नुपर्ने जस्तासुकै चुनौतीसँग सामना गर्ने आँट लिएर हिडेको छु । आफ्नो लक्ष्य र जनताको सेवा सुविधा मेरो प्राथमिकताका केन्द्रविन्दु हुन् । जिम्मेवारीले बाँधिएको कुर्सीको गरिमालाई उच्च बनाउने हेतुले काम गर्नुपर्छ ।
इमानदारिताले खारिएको कर्तव्य, राष्ट्र र राष्ट्रिय स्वाधिनताका पक्षमा सक्रिय बन्दै महिला हिंसाका विरुद्ध कानुनमा समानता कार्यान्वयन गर्नु नै मेरो मूल उद्देश्य रहेको छ । कानुन पारित हुनु र संविधानमा लेखिनु विकासको ढोका खोलिनु हो, यो सबैको खुशीको विषय हो । ढोका सबैका लागि सधैँका लागि खुला रहनु प¥यो, व्यक्ति, शक्तिको प्रभाव दबाबमा घरी ताल्चा मार्ने, घरी चुकुल लगाउने र घरी खुला गर्ने हुनु भएन, मेरो आशय यति नै हो ।
मस्यौदामा पारित कानुनले महिलालाई सक्षम बनाएको हो वा असाम बनाएको हो सुक्ष्म विश्लेषणको खाँचो रहेको कुरा अनुभूत गर्दै छु । महिलाका लागि कानुन बनाउने तहमा पुरुष, त्यो पनि पितृसत्तात्मक मापदण्डमा बनाएका अनि कार्यान्वयन गर्ने, परिणामको व्याख्या गर्ने स्थानमा पनि अधिक संख्या पुरुष, न्यायालय, प्रधानमन्त्री, मुख्यमन्त्री पुरुष नै छन्, त्यसमा विमती होइन तर जो क्षमता र हैसियतमा माथिल्लो पदमा पुगेका महिला छन् उनीहरु आफ्नो हक, अधिकार सुनिश्चित गर्न र न्यायका लागि पहल कदमी चाल्नुपर्नेमा तिनै पुरुषले सत्ताको चाकडीबाजमा समय नगुजारिदिए वेश हुन्थ्यो भन्ने मेरो आशय हो ।
हैसियत र मर्यादाको पालना गरियोस्, प्राप्त हक अधिकारलाई दिए मागेर, नदिए खोसेर पनि लिन सक्ने साहस बनाउन् भन्ने मेरो चाहना हो । यो हुन सकेको छैन त्यसैले कतिपय ठाउँमा हामी आफ्नै हक अधिकार र सेवा सुविधाबाट वन्चित हुनुपरेको तितो यथार्थ छ । हामी जुन जिम्मेवारी, कर्तव्यले बाँधिएका छौं, त्यही सीमाभित्र रहेर न्यायोचित कार्यसम्पादन गर्न कुनै बाह्य शक्तिको प्रभावमा परिनु हुँदैन र उद्देश्यलक्षित भएर अघि बढियो भने एकदिन अवश्य सफल भइन्छ ।
(कृष्णकुमारी पौडेल खतिवडा राष्ट्रिय महिला आयोगकी सदस्य हुनुहुन्छ )