नन्दन यादवको घर सिरहा बरियारपट्टी गाउँपालिका वडा नं ४ तेनुवापट्टीमा पर्छ । सबैलाई जस्तै नन्दनलाई पनि आफ्नो ठेगाना प्यारो छ । त्यही गाउँमा मोजाको बल खेल्दै हुर्किएका हुन् नन्दन । आफ्नो ठेगानाका बारे आजभोलि नन्दनलाई राम्रैसँग प्रस्ट पारौं जस्तो पनि लाग्छ । इन्टरनेटमा उनका बारेमा भेटिने कतिपय कन्टेन्टमा सर्लाही जिल्लाबाट आएका भनेर उल्लेख भएका कारण पनि ठेगानाका बारेमा उनी प्रस्ट पार्न चाहन्छन् । मानिसहरूले आफूलाई चिन्दा आफू हुर्के बढेको ठाउँ पनि चिनून् भन्ने नन्दनलाई लाग्छ ।
स्कटल्यान्ड भ्रमणबाट फर्किएको अर्को दिन कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा अन्तर्वार्ताका लागि आइपुग्दा नन्दनलाई कहिले अन्तर्वार्ता सकेर निस्किऊँ भन्ने हतार थियो । हुन पनि सविना कार्की (कान्तिपुर टिभीकी खेल पत्रकार) ले निकै कर गरेपछि सोमबार नै घर जाने योजना थाती राखेर नन्दन आउन राजी भएका थिए ।
“ड्याडीलाई नभेटेको पनि धेरै भयो”, नन्दनलाई परिवार भेट्न हतार थियो । परिवारसँगको लगावका बारेमा नन्दनले फायरसाइडमा कति सुनिएका कति नसुनिएका कुरा खोले ।
साढे २ वर्ष अस्ट्रेलिया बसेर एनपीएल खेल्न नेपाल आएका नन्दनलाई नेपाल नै बसौं जस्तो लागेको थियो, तर हातमा रिटर्न टिकट लिएर आएका थिए । अस्ट्रेलिया फर्किनका लागि बोर्डिङ पास समेत लिएर विमानस्थलको प्रस्थान कक्ष पुगिसकेका नन्दनलाई आमाबुबालाई उतै पुगेर आफू अस्ट्रेलिया फर्किएको कुरा सुनाउँला भन्ने लागेको थियो । तर तारन्तार मोबाइलमा आइरहेको आमाको फोन नउठाइरहन सकेनन् । जब उड्नलाई विमानतर्फ जानुअघि आमाको फोन उठाए, उनी अघि बढ्न सकेनन् । अस्ट्रेलिया उड्ने उनको बोर्डिङ पास विमानस्थलकै कुनै डस्टबिनमा फालियो । नन्दन त्यहाँबाट सरक्क निस्किए र घर पुगे । फोनमा आमाले त्यस्तो के भन्नुभयो ?
जानुपर्ने बाध्यता के थियो ?
बितेको चार महिनामा टी ट्वेन्टी अन्तर्राष्ट्रिय र एकदिवसीय दुवैमा नन्दनले राष्ट्रिय टिमबाट डेब्यु गरे । आफ्नो कसिलो बलिङले मात्र सबैलाई प्रभावित पारेनन्, ब्याटिङमा पनि कम नरहेको प्रमाण पेश गरे । स्कटल्यान्डसँगको प्रतिस्पर्धात्मक खेलमा त उनले आफूलाई भरपर्दो ब्याट्सम्यानकै रूपमा अघि सारे । अन्तिम बलमा चौका हानेर सुपर ओभरमा पुर्याएका नन्दनको दायाँ हातको बुढी औंलामा चोट थियो । तर पनि ललित राजवंशीलाई 'तँ बस्, म जान्छु' भनेर क्रिजमा गएका थिए । उनलाई टिमलाई जिताउन सक्छु भन्ने नै लागेको थियो । तर बराबरीमा पुर्याए । भलै तेस्रो सुपर ओभरमा पुगेको खेल नेपालले हार्यो ।
चैतमा टी ट्वेन्टी सिरिजमा पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएका नन्दनको परिवारले लिएको ऋण उकास्नकै लागि उनी अस्ट्रेलिया गएका थिए । त्यो ऋण अझै चुक्ता भएको छैन । तर अब उनलाई अस्ट्रेलिया जानु छैन । उता पीआरको लागि आवेदन दिइसकेका थिए, अब जानुपर्यो भने भिसा लाग्छ कि लाग्दैन– थाहा छैन । “अब त दिँदैनन् होला !” नन्दन मुस्काउँदै सुनाउँछन् ।
२५ वर्षको उमेरमा ६ फिटभन्दा अग्लो शरीरमा नन्दन ह्यान्डसम देखिन्छन्, टल डार्क एन्ड ह्यान्डसम । अनुहारमा अलिअलि दाह्री, सेट नगरिएको कपाल उनको आवरण हो । जब बोल्न थाल्छन्, स्पष्ट सुनिन्छन् । आफ्नै मान्यता र विश्वासहरू ।
स्कटल्यान्डसँगको एकदिवसीयमा नेपालले ३२४ रनको लक्ष्य पछ्यायो । ३२१ रन बनाएर सम्मानजनक हार बेहोर्यो । त्यो ठूलो स्कोर बनाउनलाई उनको पनि राम्रो योगदान रह्यो । तर नन्दन भन्छन्, “मैले जिताउन सकिनँ । जिताउन सकेको भए पो त्यो योगदान ।”
खेलाडीले खेल्ने भनेकै जित्नका लागि हो । हारका लागि खेल्ने नै होइन । नन्दनको विश्वास फरक छ । खेलमा कहिले हार हुन्छ कहिले जित । तर सिक्ने केबाट ? नन्दनले यसको बारेमा जे भन्छन्, त्यसलाई लिएर धेरैले उनको माइन्ड सेटको प्रशंसा गरेका छन् । नन्दनको मान्यता हो, “सिक्ने जितबाट हो । जितबाट सिक्छु भन्नेले नै खेल जित्छ । हारबाट सिकेर जितिँदैन ।”
नेपाली क्रिकेटको बितेको १५ वर्षमा खेलाडी, कोच र पदाधिकारीहरूले धेरै पटक हारबाट सिके । क्रिकेट नसुधारिएको होइन तर अब यही गतिले जितिरहन सकिन्छ त?
“अब जित्ने हो र सिक्ने पनि जितबाटै हो ।” प्रशंसकहरू नन्दनको यो भनाइलाई नेपाली क्रिकेटले अब लिनुपर्ने माइन्ड सेट नै यही हो भन्दछन् । फायरसाइडमा उनको अन्तर्वार्ता आएपछि युट्युब र सामाजिक सञ्जालमा धेरै क्रिकेटप्रेमीले उनको यो विचारको खुलेर प्रशंसा गरेका छन् ।
तर के नन्दनलाई हारले केही सिकाउँदैन ?
उनी अलिअलि ध्यान गर्छन् तर नियमित । ध्यान गर्दा आफ्ना हारहरूले उनलाई बिथोल्छ । “एनपीएलका केही खेल म सम्झन्न पनि चाहन्नँ । तर ध्यान गर्दा दिमागमा ती दृश्य आउँछन्”, उनी भन्छन् ।
जुन क्षणलाई सम्झिँदा पनि मन बिथोलिन्छ, तिनलाई सम्झिनु नै किन ? बिहान नियमित हनुमान चालिसा उच्चारण गर्ने नन्दन सफलताका लागि भने 'भिजुअलाइज' गर्छन् । कति समयदेखि ? ५-६ वर्षदेखि ।
'भिजुअलाइजेशन' ध्यानको यस्तो शैली हो जसमा व्यक्तिले आफूले गर्न चाहेको कामलाई मस्तिष्कमा बलियोसँग दृश्यमा उतार्छ । जस्तै; आफूले बलिङ कसरी गर्न चाहेको हो ? निश्चित प्रकारको स्थिति सिर्जना भए त्यस्तो अवस्थामा कसरी प्रतिक्रिया जनाउने ? कुन कुरालाई कसरी प्रस्तुत गर्ने ? आफूलाई कुनै स्थानमा कसरी उभ्याउने ? यसबारे आफूलाई सकारात्मक अवस्थामा उभ्याउँदै मस्तिष्कमा दृश्य निर्माण गरिन्छ । नन्दन त्यही गर्छन् । यसले विषय र घटनालाई स्पष्ट रूपमा हेर्न सघाउँछ । सायद त्यस कारण उनी धेरै कुरामा स्पष्ट छन् ।
जस्तै; नन्दनको उद्देश्य नेपाललाई विश्वकपमा पुर्याउने होइन, जिताउने हो । जस्तै; अब क्रिकेटको भविष्य क्यान वा सरकारको हातमा होइन, खेलाडीको हातमा हो । भन्छन्, “हामीले खेल सुधार्ने हो, प्रदर्शन राम्रो गर्ने र धेरै खेल जित्ने हो भने लगानी आफैं आउँछ । त्यसपछि खेत मात्र होइन, खेलाडीले धेरै कुरा किन्न सक्छन् ।”
निम्नमध्यम वर्गीय परिवारबाट आएका नन्दन कुन विषयमा बोल्नुपर्छ र कुनमा बोल्नुहुन्न भन्नेमा पनि स्पष्ट छन्, अन्तर्वार्तामा सोधिएका कतिपय प्रश्नका उनका जवाफहरूले देखाउँछ ।
एनपीएलमा उनले ज्ञानेन्द्र मल्लको टिम कर्णाली याक्सबाट खेले । उनको प्रदर्शनको राम्रो चर्चा भयो । राष्ट्रिय टिममा पर्ने आशा बढेको थियो तर ढुक्क हुन सकेनन् । बुबाआमासँग नेपाल नै बस्न मन लागेको कुरा सुनाए । दाइलाई पनि सुनाए । बुबाको नाम राजेन्द्रप्रसाद यादव, आमाको नाम समीरा यादव । बुबा अवकाशप्राप्त प्रहरी, आमा गृहणी । दाइ नेपाल एअरलाइन्समा इन्जिनीयर, भाइ +२ पढ्दै । बुबाआमा, दाजुभाइ सबैले मन छ र सकिन्छ भने अस्ट्रेलिया नगए हुन्छ भन्ने सुझाव दिए । तर निर्णय उनकै हातमा थियो ।
अस्ट्रेलियामा उनी अलिअलि कमाउँथे, अलिअलि क्रिकेट खेल्थे । उताकै एउटा क्रिकेट टिममा आबद्ध पनि थिए । त्यही क्लबले काटिदिएको थियो नन्दनलाई अस्ट्रेलिया फर्कने टिकट । निश्चय गर्न केही दिनलाई टिकट सार्न पनि सफल भए । तर कतिन्जेल ? निर्णय धकेल्न सकिन्छ, तर समयलाई धकेल्न सकिँदैन । उनले जाने निर्णय गरे, लगेज घिसार्दै विमानस्थल गए, बोर्डिङ पास लिए अनि प्रस्थान कक्षमा पुगेर बल्ल आमाको फोन उठाए । त्यो फोन सायद उनले घिसार्दै लगेको लगेजभन्दा गह्रुँगो थियो, त्योभन्दा भारी उनको आफ्नै मन ।
त्यो दिन आमा फोनमा रुनुभयो । आमालाई नगए हुन्थ्यो भन्ने नै लागेको थियो । छोराले बुझ्छ भन्ने नै लागेको थियो । तर नन्दनलाई अस्ट्रेलिया नगई परिवारको ऋण तिर्न सकिँदैन भन्ने लाग्यो । तर आमाले फोनमा रुँदै भन्नुभयो, “जाने नै थियौ भने मलाई किन सोध्यौ ?”
अनि नन्दन गएनन् । अनि आए नन्दन राष्ट्रिय क्रिकेट टिममा । थाहा नहुनेलाई यो कथा थाहा भइहाल्यो, त्यसपछिको कथा त तपाईंलाई थाहै छ ।