दर्ताबिनै सञ्चालनमा रहेको एभियोट्रेस नेपाललाई तत्काल भर्ना रोक्न काठमाडौं महानगरको निर्देशन

वैधानिक कागजात पेश नगरे थप कारबाही गर्ने चेतावनी
फाल्गुन २८, २०८१ |किरण पौडेल
दर्ताबिनै सञ्चालनमा रहेको एभियोट्रेस नेपाललाई तत्काल भर्ना रोक्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । विद्यार्थीलाई पाइलट र एअर होस्टेस बनाउने सपना देखाएर ७ वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको 'एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी' मा आज काठमाडौं महानगरले अनुगमन गरेको छ । विद्यार्थीको गुनासो सहितको समाचार कान्तिपुर टेलिभिजनमा गत बिहीबार प्रसारण भएपछि महानगरले आज अनुगमन गरेको हो ।

त्यसक्रममा उक्त संस्थाले महानगरले मागेका कुनै पनि कागजात पेश गर्न सकेन । महानगरले उक्त संस्थामा तत्कालका लागि भर्ना लगायत काम बन्द गर्न निर्देशन दिएको छ ।

७ वर्षदेखि उड्डयन सम्बन्धी विभिन्न कोर्स पढाउँदै आएको एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी नेपालका कुनै पनि निकायमा दर्ता नभएको समाचार कान्तिपुर टेलिभिजनले गत बिहीबार प्रसारण गरेपछि काठमाडौं महानगरले बुधबार अनुगमन गरेको हो । अनुगमनमा क्रममा उक्त संस्थाले सरकारी निकायमा दर्ता भएका कुनै पनि कागजात पेश गर्न नसकेपछि महानगरले भर्ना तथा प्रशासनिक लगायतका कार्य नगर्न निर्देशन दिएको छ ।

एभियोट्रेस नेपालले एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ अध्यापन गराउने भन्दै आकर्षक विज्ञापन गरेर विद्यार्थी भर्ना गरे पनि त्यसका लागि नेपालका कुनै पनि निकायसँग अनुमति नलिएको स्वीकार गरेको छ । महानगरको अनुगमन टोलीसँग संस्थाका कार्यकारी निर्देशक मोतिराम इटानीले आफूहरूले एअरलाइन्स पाइलटका लागि शैक्षिक परामर्शको काम मात्र गरिरहेको बताउनुभयो । तर महानगरपालिकाले संस्थाका वैधानिक कागजातहरू पेश गर्न समयसीमा तोकेर नभए थप कारबाही गर्ने चेतावनी दिएको छ ।

शिक्षा मन्त्रालयले पनि संस्थाको वैधताका विषयमा अनुसन्धान गरिरहेको छ भने जवाफ माग गर्दै पत्र पठाउने तयारी गरिरहेको जनाएको छ । तर, वास्तविकता थाहा नपाएका विद्यार्थीहरू भने बुधबार पनि एभियोट्रेस नेपालमा इन्जिनियरिङ पढाइबारे बुझ्न आएका भेटिए । केही विद्यार्थीहरू त्रिवि अन्तर्गतको सीएसआईटीको अध्ययन छाडेर विराटनगरदेखि बुझ्न आएका थिए । 

यस्तै, कान्तिपुरमा समाचार प्रसारण भएपछि कलेज प्रशासनले छुट्टाछुटै बोलाएर समाचारमा सत्यता नभएको भन्दै सञ्चारमाध्यममा थप नबोल्न दबाब दिएको विद्यार्थीको गुनासो छ । महानगरको अनुगमनपछि पनि प्रतिक्रिया लिन खोज्दा कलेजका कार्यकारी निर्देशक इटानीले बोल्न अस्वीकार गर्नुभयो ।

यसैबीच १२ जना विद्यार्थीहरू आफूलाई झुक्याइएको गुनासो लिएर कान्तिपुर टेलिभिजनमा आएका छन् । उनीहरूले सुरुमा भर्ना हुँदा थोरै रकम तिरेर कलेजमा कागजात बुझाएको र पछि दर्ता नभएको थाहा पाएपछि कलेज छोड्न खोज्दा कागजात फिर्ता लिन समेत पूरै रकम बुझाउनुपरेको गुनासो गरेका छन् । विद्यार्थीहरूलाई हाजिर नपुगेको भनेर २० हजारसम्म र फेल भए प्रत्येक परीक्षामा ८० हजारसम्म लिएर परीक्षा गराइरहेको विद्यार्थीहरूले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा बताए ।

कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययन गरी इन्जिनियर बन्ने सपना देखेर एभियोट्रेसमा पढ्न पुगेका विद्यार्थीहरूको बिचल्ली भएको छ । यसको जवाफ कसले दिने ?

सम्बन्धित समाचार :

दर्तै नभएको संस्थाले पाइलट र क्याबिन क्रु पढाएपछि विद्यार्थीको बिचल्ली


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement