काठमाडौं । उड्डयन सम्बन्धी सबै खालका कोर्स पढाइ हुने भनी ७ वर्षदेखि सञ्चालनमा रहेको ‘एभियोट्रेस नेपाल’ नामक संस्था गैरकानुनी रूपमा बिनादर्ता सञ्चालनमा रहेको खुलेको छ । २ वर्षको कोर्स पूरा गरेर प्रमाणपत्र लिएपछि संस्था नेपालका कुनै पनि सरकारी निकायमा दर्ता नभएको खुलेपछि विद्यार्थीहरू अन्योलमा परेका छन् । तर यो विषय न शिक्षा मन्त्रालयलाई थाहा छ, न सीटीईभीटीलाई ।
एअरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ, एअरलाइन पाइलट ट्रेनिङ, एअर होस्टेस तथा क्याबिन क्रु र एअरपोर्ट ग्राउन्ड ह्यान्डलिङको अध्ययन नेपालमै । शतप्रतिशत रोजगारीको ग्यारेन्टी ।
वेबसाइट तथा फेसबुक पेजमा यस्ता आकर्षक विज्ञापन देखेपछि एभियोट्रेस नेपाल नामक शैक्षिक संस्थामा भर्ना भएका थिए विद्यार्थीहरू । २ वर्षको कोर्सका लागि १० लाखसम्म तिरेर परीक्षा पनि दिए । तर, जब प्रमाणपत्र लिए, बुझ्दा थाहा भयो यो संस्था नेपालमा कतै दर्ता समेत रहेनछ । ७ वर्षदेखि यो संस्था यसरी सञ्चालनमा रहेको बारे न शिक्षा मन्त्रायललाई थाहा छ, न सीटीईभीटीलाई ।
संस्था दर्ता नै नभएको र आफूले पाएको प्रमाणपत्र नेपालमा काम नलाग्ने थाहा पाएपछि विद्यार्थीहरू अन्योलमा छन् । आफूले पाएको प्रमाणपत्रले नेपालमै मान्य हुने गराइदिन माग गर्दा सञ्चालकहरूले उल्टै धम्क्याउने गरेको विद्यार्थीको गुनासो छ ।
एभियोट्रेस नेपालले आफ्नो संंस्था सीटीभीटी र युरोपियन एभिएशन सेफ्टी एजेन्सीबाट मान्यताप्राप्त भएको दाबी गरेको छ । तर, सीटीईभीटीले एभियोट्रेस आफ्नो रेकर्डमा नभएको बताएको छ । उड्डयन सम्बन्धी विभिन्न कोर्स गर्ने भए पनि नागरिक उड्डयन प्राधिकरणले यो संस्थालाई आफूले नचिन्ने बताउँछ । त्यहाँ अध्ययनरत विद्यार्थीहरू आफू ठगिएको भन्दै कान्तिपुर कार्यालय आएपछि यो विषयमा जान्न खोज्दा संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र महर्जनले मन्त्रीसँग आफ्नो उठबस भएको र आफूहरू नागरिक उड्डयन प्राधिकरणभन्दा ठूलो भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
७ वर्षदेखि उड्डयन सम्बन्धी अध्यापन गराएको दाबी गर्ने संस्थाका सञ्चालकहरूले केही दिनयता भने संस्था ट्युसन सेन्टर भएको दाबी गर्न थालेका छन् । संस्थाका कार्यकारी निर्देशक मोतिराम इटानीको दाबी छ– हामी संस्था ट्युसन सेन्टर जस्तै हौं, त्यसैले कतै दर्ता गरिरहनु पर्दैन ।