कसैले “म गाउँ फर्किन्छु” भन्नु मात्र पर्छ, सुन्नेहरू अनौठो मात्रै मान्दैनन् संसारको आठौं आश्चर्य जस्तै ठानेर वाल्ल पर्छन् । नपरून् पनि किन ? मानिसहरू गाउँमा आफ्नो पैत्तृक सम्पत्ति त्यसै छोडेर बरु शहरमा कोठा भाडा लिएर बस्न रुचाउँछन् । कुनै व्यक्ति वा संस्थाको ऋणको भारी नै बोक्नु किन नपरोस्, सानै भए पनि शहरमा घर चाहिएको छ मानिसहरूलाई ।
गाउँमा शिक्षा, स्वास्थ, रोजगार र यातायात केही पनि सुविधा छैन भन्ने भाष्यले शहर केन्द्रित बसाइँसराइ व्यापक भइरहेको छ । मानिसहरू शहर पस्नुको अर्को कारण अरूका अगाडि धनीमानी देखिन्छ भन्ठान्नु पनि हो । कारण जे सुकै होस्, मानिस गाउँमा बस्न रुचाइरहेका छैनन् । लाखौं खर्च गरेर निर्माण गरिएका घर खण्डहर भइरहेका छन् । अल्लो, सिस्नो र वनमाराले खेतबारी गाँजेको छ ।
तर, शहर पस्न तछाडमछाड गरिरहेकाहरूलाई मेरो प्रश्न छ : शहरमा के छ ? गाउँमा के छैन ?
हो, गाउँमा के छैन ! नमरेरै कतै स्वर्ग देख्न पाइन्छ भने त्यो मेरो गाउँमा पाइन्छ । अग्ला छहरा, छङछङ बग्ने पानी, त्यो पनि अञ्जुलीमा थापेर निःशुल्क पिउन पाइने ! शहरमा किन्छु भन्दा पनि नपाइने स्वच्छ हावा पीपलको बोटको छहारीमा सित्तै पाइन्छ मेरो गाउँमा । प्रायः पाँचतारे होटलको मेनुमा भेटिने ढिँडो, आटो, कोदोको फापर र सिस्नो पेटभरि खाए पनि पैसा तिर्नु पर्दैन । ‘अतिथि देवो भवः’ को मूलमन्त्रलाई मेरो गाउँले पूर्णपालना गरेको छ ।
गाउँमा आत्मीयता छ, सहयोगी मनहरू प्रशस्त छन् । सुखदु:ख साट्न आफन्त छन् । तर शहरमा एउटै घरमा बस्नेहरूले पनि एकअर्कालाई चिन्दैनन् । शहरका हुने खानेहरूले त गर्मीमा चिसो र जाडोमा न्यानो बनाउने ‘एअर कन्डिशनर’ राख्न सक्छ्न । जीविकोपार्जन गर्नै धौधौ भएकाहरूलाई बिहानबेलुका लामखुट्टे भगाउनै ठीक्क हुन्छ । तर मेरो गाउँमा गर्मीमा न जिउ पोल्छ न जाडोमा धेरै चिसो नै हुन्छ ।
हुने खानेहरू सुविधा र अवसरको खोजी गर्दै शहर पस्छ्न, तर हुँदा खाने वर्ग उनीहरूकै लहैलहैमा लागेर शहर पस्छन् । यो प्रवृत्ति झाँगिनुमा शिक्षित वर्गको पनि दोष छ । कोही विदेश त कोही शहरको बन्द कोठाबाट गाउँ बनेन भन्दै नेतालाई सराप्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । तर, मैले गाउँमा धेरै विकास भएको देखेको छु । पहिलेको तुलनामा मानिसहरू सचेत भएको, विकासका दृष्टिकोणले सडक, यातायात, शिक्षा, स्वास्थ र बिजुली जस्ता आधारभूत पूर्वाधार बिस्तारै स्थापित हुँदै गएको देखेको छु ।
त्यसैले अब गाउँ बनेन र बन्दैन होइन, गाउँ बन्छ र बनाउन सकिन्छ भनेर युवा, सचेत नागरिक, शिक्षित वर्ग निःस्वार्थ लाग्ने हो भने शहरबाट गाउँ फर्किनेको लर्को लाग्ने छ। कहींकतै सुनिन्छ, गाउँ फर्किने अभियान चलाउनु पर्छ भनिएको । तर अब गाउँ फर्काउने अभियान होइन, गाउँ बनाउने अभियान चलाउनु पर्छ ।
तीनै तहको सरकारले अभिभावकीय भूमिका खेली बसाइँसराइ रोक्नु पर्छ । यसको प्रमुख जिम्मेवार स्थानीय तह हो । भौगोलिक विकटतालाई ख्याल गर्दै बस्ती स्थानान्तरण गरी शिक्षा, स्वास्थ जस्ता आधारभूत आवश्यकताको सुनिश्चितता गरिनु पर्छ । स्थानीय कृषि र कृषिजन्य पेशालाई प्रवर्द्धन गरी बजारीकरण गरेमा चुनावमा शहरबाट गाडीका गाडी मतदाता ओसार्नु पर्दैन । यसले चुनावमा हुने अनावश्यक खर्च त रोकिन्छ नै गाउँप्रति मान्छेको अपनत्व बढ्नुका साथै असल उम्मेदवारले चुनाव जित्ने छन् ।
म जस्ता धेरै युवा ‘गाउँ फर्किन्छु’ भन्दै छन् । अब हामी गाउँ फर्किनै पर्छ । हामीलाई गाउँले पर्खेर बसेको छ । फर्किने आशामा हेरिरहेको छ बाटो । मलाई कहिल्यै नचिन्ने यो शहर अब मलाई पुग्यो ।