गत शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रको बलुडाँडामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भयो । जहाँ १८ जना घाइते भए । प्रहरीले आन्दोलन साम्य पार्न गोली समेत चलायो, ३ जना प्रदर्शनकारीलाई गोली नै लाग्यो । घाइतेहरुको अहिले उपचार भइरहेको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडपको स्थितिसम्म आइपुग्ने विषय थियो, पाथिभरा (मुक्कुमलुङ) मा केवलकार निर्माण । पाथीभरा आफ्नो धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका हिसाबले महत्वको क्षेत्र भएको र त्यहाँ अतिक्रमण गरी केवलकार निर्माण गर्न नहुने भन्दै मुख्यगरी लिम्बु समुदायका मानिस लामो समयदेखि संघर्षरत छन् । जब, केबलकार बनाउने उद्देश्यले निर्माण कार्य सुरु भयो, तब स्थानीयबासीको विरोध, आक्रोशमा परिणत भयो । अन्ततः सुरक्षाकर्मीले गोलीसमेत चलायो । पाथीभरामा केबलकार निर्माणको विषय लामो समयदेखि पेचिलो बनेको छ । राज्यपक्ष सो क्षेत्रको विकास र समृद्दिको कुरा गर्दै केवलकार बनाउने गरी काम सुचारु गर्न चाहन्छ भने सो क्षेत्रका बासिन्दा भने प्राकृतिक सम्पदा र संस्कृतिमाथिको अतिक्रमण हुन नदिने भन्दै अवरोधमा उत्रिरहेका छन् । ठिक यहिबेला काठमाडौंको मण्डला नाटकघरमा केवलकार कसरी सांस्कृतिक अतिक्रमण हो भन्ने विषय बुझाउने नाटक हप्ता दिनअघिबाट मञ्चन भइरहेको छ । नाटकको नाम छ- 'मुक्कुमलुङ : चोत्लुङ अफ याक्थुङ'
...
साँझको ५ बजेको छ । थापागाउँस्थित मण्डला नाटकघरको प्रांगणमा होहल्ला शुरु हुन्छ । पूर्वी पहाडी क्षेत्रका लिम्बु समुदायको घरको झल्को दिने गरी सझाइएको स्थानमा उस्तै लवजका तन्नेरी र बुढाखाडाहरु भेला हुन्छन् र शुरु गर्छन् मुन्धुमी मन्थन । टिकट काटेर नाटकघरको घण्टीको पर्खाइमा बसेकाहरु तानिन्छन् उनीहरुको गन्थनमन्थनतिर । ठेट पूर्वेली भाषामा पाखुरा सुर्कासुर्कीसम्म गर्न थालेपछि टिकट काटेकाहरु मात्र होइन सडकमा हिँडिरहेकाहरु समेत मण्डलाको गेटमा चिहाउन आइपुग्छन् । पात्रहरुले अलिकति मुन्धुम नमिलेको कुरा र अलिकति पाथिभरा मुक्कुमलुङमा केवलकार बनाउने कुरामा माथापच्ची गर्छन् । झण्डै २० मिनेट हुने गनथन भने केवल नाटकको प्रारम्भ विन्दु हुन्छ त्यसपछि बझ्छ मण्डलाको घण्टी र नाटकघरमा छिर्छन्, टिकट लिएर लामबद्ध उभिएकाहरु ।
कथा नाटकघरभित्र प्रवेश गरेपछि सुरु हुन्छ । मुक्कुमलुङ बुझाउन, आदिम मानिस जो पृथ्वीमा उत्पति भए, कथा त्यहीँबाट भन्न सुरु गरिन्छ । मुन्धुम अनुसार मुजिङ्ना खेयङ्ना नै पहिलो मानिस हुन् । उनका छोरा सुसुवेन लालावेन बन्छन् पहिलो सिकारी । सिकार गर्न विभिन्न ठाउँ पुग्दै गर्दा उनको महिलाहरुसँग प्रेम सम्बन्ध हुन्छ । प्रेम सम्बन्धमा परेका महिलाहरुबाट सन्तान समेत हुन्छ । यता सिकारमा हिँडेका सुसुवेन लालावेन भने सिकारकै क्रममा भोक र थकानले मृत्युवरण गर्छन् । छोराको पर्खाइमा बसेका आमा मुजिङ्ना खेयङ्ना भने यो खवरले विक्षिप्त हुन्छिन् । यसै मिथकलाई देखाएर मुक्कुमलुङको प्रादुर्भावको कथालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
नाटकका अधिकांश समय सुसुवेन लालावेनको सिकारमा हिँडेका बेला प्रेममा परेका प्रशंगलाई देखाइन्छ । जीवजन्तु, हावापानी, ढुंगामाटो, वनजंगलसँगको मानवसम्बन्ध र तिनीहरुसँगको जीवन संवादलाई नाटकमा कलात्मक र श्रृंगारिक तवरमा प्रस्तुत गरिन्छ । आमाले छोरालाई जीवनदर्शन भनेर होइन, प्रकृतिसँगको सामीप्यतामा रमेर थाहा पाउने कुरामा स्वतन्त्रता प्रदान गरेकी छन् । आदिम मानिसहरुका मित्र र शत्रु केवल मानिस थिएनन् जीवजनावर नै शत्रु थिए र थिए मित्र पनि उनै । नाटकले यिनै कुरालाई पुष्टि गर्न खोजेको छ । प्रकृतिसँग जो माटो हो, उभिएको ढुंगा हो, हावापानी, रुख-विरुवा हो, तिनीहरुको लयमा समुदायको जीवनपद्दति गाँसिएर अहिलेका मानिससम्म आइपुगेको छ र त्यो संस्कृति बनेको छ अनि समुदायको सांस्कृतिक तथा धार्मिक रुप ग्रहण गरेको छ ।
मुजिङ्ना खेयङ्ना र उनका छोरा सुसुवेन लालावेन अर्थात् धर्तीका पहिला मानिसहरु अहिले पनि मुक्कुमलुङ बनेर उभिएको मान्यता छ । तर, अहिले विकासको नाममा मुक्कुमलुङको प्राकृतिक संरचना भत्काएर नयाँ रुप दिन खोजिँदैछ अर्थात् केवलकारको लेपनले मुक्कुमलुङको आदिम इतिहास छोप्ने काम हुँदैछ । यो सांस्कृतिक अतिक्रमन हो । खासमा नाटकको मूल ध्येय तथा निष्कर्ष यति कुरा भन्नु नै हो ।
'मुक्कुम'को अर्थ अग्नि वा शक्ति हुन्छ भने 'लुङ'को अर्थ ढुङ्गा, शिला वा चट्टान हुन्छ । त्यसैले मुक्कुमलुङ भनेको अग्निपुञ्ज, शक्तिपुञ्ज वा शक्तिदायिनी शिला, चट्टान हो भनेर त्यस क्षेत्रका लिम्बु समुदायले अर्थ्याउँछन् । पाथिभरा नामांकन हुनुअघि मुक्कुमलुङ भनिन्थ्यो । मुक्कुमलुङ लिम्बु समुदाय शक्ति प्राप्त गर्न, चिताएको पूरा होस् भनी कामना गर्न, आफ्नो आदिम मानिस वा पुर्खासँग बल माग्न अनिवार्य पुग्ने पवित्र स्थान हो । अर्थात् त्यहाँका लिम्बु समुदायले मुक्कुमलुङमा 'युमा माङ'को पूजा गर्छन् । लिम्बु समुदायले युमा माङलाई पुकार्न मुक्कुमलुङमा पुग्न नसके पनि देखिने ठाउँमा पुगेर बल माग्ने, चिताएको कुरा पूरा होस् भन्ने कामना गर्दछन् । मुक्कुमलुङलाई पछिल्लो समय अपभ्रंश गर्दै पाथिभरा नाम दिएपछि त्यहाँका लिम्बु समुदायले पुरानै नाम स्थापित गर्न राज्यपक्षसँग माग गरिरहेका थिए । तर, उनीहरुको ऐतिहासिकता र पहिचानको बेवास्था गर्दै विकासका नाममा केवलकार बनाउने निर्णायसँगै काम नै सुरु भएपछि परिस्थिति पेचिलो बनेको हो । नाटक मुक्कुमलुङमा यही कुरा भन्न खोजिएको छ ।
...
मुजिङ्ना खेयङ्नाको भूमिकामा देखिएकी बेदना राई र सुसुवेन लालावेनको भूमिकामा रहेका सुरज तमुको अब्बल अभिनयले नाटकलाई जीवन्त बनाएको छ । कथासँगै कतिपय दृष्य अतिरिक्त लाग्दै गर्दा प्रमुख भूमिकामा उभिएका उनीहरुको अभिनयले नै दर्शकलाई अडिरहन बल मिल्छ । मुन्धुमी ज्ञान फलाक्ने धामी, जीवजनावरको भूमिकामा देखिएका कलाकार, सेसेवेन लालावेनको प्रेमिकाका रुपमा उभिएका कलाकारले कथालाई मर्न दिएका छैनन् । अब्बल अभिनयले झन्डै दुई घण्टा नाटकमा भुलिरहन दर्शकलाई झिँझो लाग्दैन । गीलु रातोस्,विष्णु मोक्तान र अनिल सुब्बाको लेखन तथा परिकल्पना तथा अनिल सुब्बाको निर्देशन रहेको नाटकको अर्को सबल पक्ष भनेको नाटकसँगै बहने संगीत संयोजन पनि हो । घरिघरि कथासँगै बहने ख्यालीले नाटकलाई उचाई प्रदान गरेको छ । प्रवृति राई, युकेश राई, आशिष माझी र तृष्णा नेम्बाङले संगीत संयोजनमा गज्जब काम गरेका छन् । नाटकको मूल सार खिचिएको कविता पृष्ठभूमिमा गुञ्जायमान भएसँगै नाटक समापन हुन्छ ।
...
मुक्कुमलुङमा मुडभेड छ, यता मुक्कुमलुङ बुझाउन नाटक मञ्चन भइरहेको छ । मञ्चमा सूत्रधारका रुपमा उभिएका कलाकार विष्णु मोक्तान भन्छन्, 'हामी यहाँ नाटक मार्फत मुक्कुमलुङ बुझाउन खोजिरहेका छौं, तर राज्य त्यही मुक्कुमलुङमा भिडन्त गर्न हतियार लिएर पुगेको छ ।'
संविधानले सांस्कृतिक मानवअधिकारलाई सुरक्षित गरेको छ । त्यस क्षेत्रका आदिवासी समुदायले सांस्कृतिक अधिकारको माग गरिरहेका छन् । राज्यले माथिबाट विकास देखेको छ तर त्यहाँका आदिवासी लिम्बु समुदायले त्यसलाई विनास देखेको छ । साझा बुझाइ र छलफलको अभाव छ । नाटकका लेखक गीलु रातोस् नाटकको भूमिका प्रस्ट्याउँदै प्रश्न गर्छन्, 'शिर र स्वाभिमानले अरुको शिरसमेत ठाडो हुन्छ, उनीहरु नै शिरविहीन भएको कसरी सुहाउँछ ?' मण्डलामा माघ २७ सम्म प्रदर्शन हुने नाटक 'मुक्कुमलुङ : चोत्लुङ अफ याक्थुङ'को सार नै अतिक्रमणविरुद्दको प्रतिरोध आवाज अथवा एक सांस्कृतिक प्रतिरोध हो ।