अछाम र दैलेखको सीमास्थित खिड्कीजिउलामा आइतबार कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिएर १३ वटा खच्चड अड्किए । ती खच्चड झोलुंगे पुलमा अलपत्र परेको हामीले देख्यौं र तिनका चित्कार हामीले सुन्यौं ।
कर्णालीका नागिरकलाई मर्दापर्दा चाहिने चामल घरआँगनमै पुर्याइदिने प्राणी हो खच्चड । आइतबार पनि एक हुल खच्चड यसैगरी भारी लादेर अछामबाट दैलेख जाँदै थिए, तर तिनले गन्तव्यमा भारी पुर्याउन पाएनन् । कमजोर झोलुंगे पुलले खच्चडको भार थाम्न सकेन र एकतिरको लठ्ठा भाँचियो अनि अड्किए खच्चडहरु त्यहीँ । अबोध जनावरले के गर्न सक्थ्यो र चित्कार गर्नुबाहेक ।
घण्टौंसम्म झोलुंगे पुलमा भारीसहित अड्किएका खच्चडको उद्धारका बेला झनै पीडादायी अवस्था देखियो । भारी लादिएका खच्चरलाई जाली काटेर खसाल्दा उनीहरूले गरेको चित्कार मनै चिर्नेगरीको थियो । मैले सुनेको खच्चडहरुको आवाज यस्तो हृदयविदार कहिल्यै थिएन ।
मेरो सम्झनामा बाल्यकालको समय अझै ताजै छ । घाँटीमा घण्टी झुन्डाइएका खच्चडहरूको लस्कर जब गाउँ पस्थ्यो हामी केटाकेटीहरूमा अनौठो खुसी सञ्चार हुन्थ्यो । किनभने हामीलाई खच्चडमा लादेर चामल आउँछ भन्ने थाहा थियो । लेकबाट झर्दा ती खच्चडले टिनका बाकसमा सल्लाको खोटो बोकेर लैजान्थे । खच्चडले गाउँ उकालेको उसिना चामलको भातको स्वाद अझै बिर्सन सकेको छैन । गाउँको भोक मेटाउने चामल बोकेर उक्लिने खच्चडसँग मानिसहरुको अलग्गै लगाव थियो ।
बाटोमा लिदी देख्दा पनि त्यसले खच्चडसँगको हाम्रो साइनोलाई याद दिलाइरहन्थ्यो । तुषारो जम्ने ठन्डीका दिनहरू होऊन् वा हुस्सुले छपक्कै लेक छोप्ने झरीका दिनहरू घण्टी बजाउँदै खच्चडहरू गाउँ उक्लिँदा गाउँले सबैको मुहारमा मुस्कान छाउँथ्यो ।
पचासको दशकमा जिल्लास्तरमा पनि विस्तारै सडकहरू खुल्न थाले । सडक पुगेको अन्तिम विन्दुमा ठेकेदारहरू खच्चडको मुकाम बनाउँथे । छिन्चु-जाजरकोट सडकको ट्रयाक खुलिसकेको थियो तर भेरीमा पुल बनिसकेको थिएन । त्यसैले सल्यानको सल्लीबजारसम्म मात्रै मोटर जान्थ्यो । ०५७ सालतिर भर्खरै बसेको सल्लीबजारमा मान्छेभन्दा धेरै खच्चड देखेको सम्झनाले अहिले पनि मलाई उद्देलित पार्छ ।
कर्णालीको हिमाली र लेकाली भेकका बासिन्दाको जीवन र संस्कृतिको अभिन्न अंग हो खच्चड । जिल्लाका बजारहरूबाट सुदूर गाउँसम्म चामल नुन तेल पुर्याउने हुनाले यो जनावरसँग मानिसको अपनत्व पनि जोडिएको छ । जहाँ अहिले पनि सडक यातायातको कल्पना गर्न सकिँदैन ती ठाउँहरूमा मानिसको आधारभूत आवश्यकता खाद्यान्न लादेर खच्चड पुग्छन् । खच्चड गाउँ पुग्दा तिनले गाउँ र बजारबीच सांस्कृतिक आदान प्रदानसमेत गर्छन् ।
कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा चिसापानी पुलपछि माथि एकैचोटि मध्यपहाडी राजमार्गमा दैलेखको आठबिसकोट र अछामको पञ्चदेवल विनायक नगरपालिका जोड्ने गरी मात्रै मोटरेबल पुल बनेको छ । पश्चिमी सुर्खेत, डोटी र अछामका पूर्वी क्षेत्रका नागिरकलाई यति ठूलो भूगोलमा पक्की पुल नहुँदा कर्णाली वारपार गरेर दैनिकी धान्नुका सास्ती अनेकन छन् ।
कर्णालीको भूगोल कठिन छ । खोला, छहरा, भीरपाखा काट्दै एक गाउँबाट अर्को गाउँसम्म जानुपर्ने बाध्यतामा ठाउँ-ठाउँमा बनेका यस्ता झोलुंगे पुलले मानिसहरूबीचको दूरी छोट्याउन ठूलो सहयोग गरेका छन् । कर्णालीका १० जिल्लामा मात्रै यस्ता एक हजार २१ वटा झोलुंगे पुल छन् । दर्जनौं पुलहरू बन्ने क्रममा छन् । तर, बनिसकेका पुलहरूको नियमित मर्मत-सम्भार र हेरचाहमा ध्यान दिइएको छैन ।
२०६४ पुसमा मेला भर्न गएका मानिसको भिड थाम्न नसक्दा चुँडिएर झोलुंगेपुल भेरीमा खस्दा सुर्खेतको मेहेलकुनामा २५ जनाले ज्यान गुमाएको दुखान्त हामीले बिर्सिएका छैनौं । त्यस्तै दुखान्त आइतबार दैलेख र अछामको सीमानामा घट्यो । त्यहाँ मान्छेको क्षति भएन तर मान्छेका लागि जीवन बोकेर हिँड्ने खच्चडहरुमाथि भयो । घटना बिहान साढे ९ बजेतिरकै थियो । ती बोल्न नसक्ने पशुले उद्धारका लागि घण्टौंसम्म गुहार लगाए ।
गहिरो कर्णालीमाथि लठ्ठा चुँडिइसकेको पुलमा गएर सामान लादिएका खच्चडको उद्धार गर्ने आँट सितिमिति आउने कुरा पनि होइन । उद्धारका लागि कुर्दाकुर्दै ६ घण्टा बितेपछि भने स्थानीयको मनले थाम्न सकेन र केही मानिस आँट गरे खच्चडको उद्धारका लागि पुलमा गए । ढिलै गरेर भए पनि जनपद र सशस्त्र प्रहरी पनि आइपुग्यो ।
तर, खच्चडहरुको उद्धार जसरी गरियो त्यसलाई उद्धार भन्नै नसकिने किसिमको भयो । पुलको जाली काटेर भारीसहित खच्चडहरुलाई कर्णाली नदीमा झारियो । त्यसबेलाको दृश्य कति दर्दनाक थियो भने, जालीले खच्चडको जिउ नै चिरेको समेत देखियो । शक्तिले भ्याएसम्म खच्चडले चित्कार गरिरहे । दुईवटा खच्चड भारीबाट मात्र मुक्त भएनन् जीवनबाटै मुक्त भए ।
जसरी खच्चडलाई कर्णालीमा खसालेर निकाल्ने प्रयास भयो त्यो मानवीय थिए । र, स्थानीयसँग विपत्का बेलाको उद्धारको अभ्यास पनि थिएन । उनीहरुले जसरी सम्भव देखे त्यसरी नै खच्चड निकाल्ने कोसिस गरे । तर, हाम्रो राज्य संयन्त्रसँग त त्यसका लागि तालिम लिएका सुरक्षाकर्मी छन् । ज्यान पशुको भए पनि तिनलाई तत्काल उद्धार गर्न किन पहल गरिएन भन्ने प्रश्न संवेदनशील छ । अड्किएका पशुको तस्बिर सामाजिक सञ्जालमार्फत छिनभरमै देश-विदेशसम्मै फैलिइसक्दा समेत राज्यले थाहा पाएन भनेर कसरी विश्वास गर्नु ।
जब सामाजिक सञ्जालहरूमा कर्लाणीमाथि झोलुंगे पुलमा खच्चड अड्किएका भिडियो र तस्बिरहरू फैलँदै गए नागरिकको आक्रोश पनि बढ्दै गयो । यतिसम्म कि, त्यस ठाउँमा नेताहरु हुनुपर्थ्यो भन्नेसम्मका अराजक र नकारात्मक टिप्पणीको ओइरो लाग्यो । कतिपयले सधैं हेलामा पारिएको कर्णालीको दुःखसँगै त्यसलाई जोडेर हेरे । जे-जस्ता प्रतिक्रिया आए पनि कर्णालीका मानिसहरुका लागि लाइफलाइन मानिने खच्चडहरुमाथि भएको यो दुखान्त घटनाले विपत्मा राज्यको कमजोर उपस्थितिलाई नै छर्लंग पार्छ ।
यो पनि...
जीर्ण झोलुंगे पुलमा ६ घण्टासम्म फसेका खच्चडलाई कर्णालीमा खसालियो, ११ बाँचे, २ मरे
पुलमा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर उद्धार
झोलुङ्गे पुलको जाली लत्रियो, १३ खच्चड पुलमै अड्किए (तस्बिरहरू)
कर्णाली पुलमा अड्किएका खच्चरको उद्धार सकियो, १३ मध्ये दुई खच्चर बाँचेनन्