जीर्ण झोलुंगे पुलमा ६ घण्टासम्म फसेका खच्चडलाई कर्णालीमा खसालियो, ११ बाँचे, २ मरे

खाद्यसामग्री ओसारेर मान्छेलाई बचाउने खच्चडको जीवन मान्छेका लागि सस्तो
जेष्ठ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जीर्ण झोलुंगे पुलमा ६ घण्टासम्म फसेका खच्चडलाई कर्णालीमा खसालियो, ११ बाँचे, २ मरे

दैलेख । देशमा यतिबेला तीन तहका सरकार छन् । सिंहदरबारदेखि स्थानीय तहका सरकारको नेतृत्व गर्नेहरुले हरेक दिन समृद्धिको भाषण गरिरहँदा दुर्गमको जनजीवन कस्तो छ भन्ने दृष्य आज अछाम र दैलेखको सिमाना, कर्णाली नदीमा देखियो । दैनिक उपभोग्य सामग्री ढुवानी गरिरहेका १३ खच्चड जब झोलुंगे पुलमा अड्किए ।

अछामबाट दैलेखतिर सामान बोकेर हिँडेका १३ वटा खच्चड आइतबार बिहान ९ बजेतिर कर्णाली नदीको झोलुंगे पुलमा फसे । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबीस नगरपालिका ४, खिड्कीज्युला बजारमा मानिसलाई चाहिने दैनिक उपभोग्यवस्तु लिएर उनीहरु हिँडेका थिए । मानिसकै लागि आवश्यक सर-सामग्री बोकेर हिँडेका यी खच्चड जीर्ण पुलमा फस्दा आफ्नो उद्धार गर्ने मानिस भने भेट्न सकेनन् ।

६ घण्टाभन्दा बढी अत्यन्तै हृदयविदारक देखिने गरी यो पुलमा खच्चडहरु जीवनरक्षाको प्रतीक्षामा बसे । ६ घण्टासम्म उद्धारको प्रतीक्षामा पुलको जालीमा अल्झिएका उनीहरुको उद्धारका लागि कसैले हिम्मत गर्न सकेनन् न त कुनै सरकारी पहल नै देखियो । केही सीप नलागेपछि स्थानीयको पहलमा उनीहरुलाई कर्णाली नदीमा खसाएर उद्धारको प्रयास भयो ।

पुलको जाली काटेर खच्चडलाई नदीमा खसालियो । सशस्त्र प्रहरीले बाँकी तीनवटा खच्चडलाई डोरीले बाँधेर फसेको ठाउँबाट निकालेको थियो । पानीमा खसेका ११ वटा खच्चड बाँचे तर दुईवटा भने बचेनन् । पुलबाट खसाल्दा आफ्नै शरीरमा भएको सामानको भारीले उनीहरुको प्राण लियो ।

तर कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुईवटा खच्चडको ज्यान गयो ।

यी खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहोराका भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनील दाहालले जानकारी दिनुभएको छ । जीर्ण पुलमा मानिस पनि हिँड्छन् । धन्न मानिस परेनन् भनेर कसैले सुस्केरा हालेको हुन सक्छ तर यो घटनामा ज्यान खच्चडको गयो, लज्जाबोध भने शासकहरुलाई हुनुपर्ने हो ।

सम्बन्धित समाचार...

पुलमा अड्किएका खच्चरमध्ये १० वटालाई कर्णालीमा खसालेर उद्धार

झोलुङ्गे पुलको जाली लत्रियो, १३ खच्चड पुलमै अड्किए (तस्बिरहरू)

कर्णाली पुलमा अड्किएका खच्चरको उद्धार सकियो, १३ मध्ये दुई खच्चर बाँचेनन्


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement