साफ च्याम्पियनसिपमा नेपाल यू-१७ महिला टाेली आत्मविश्वाससहित मैदानमा उत्रने

भाद्र ३, २०८२ |खेल ब्युरो
साफ च्याम्पियनसिपमा नेपाल यू-१७ महिला टाेली आत्मविश्वाससहित मैदानमा उत्रने

काठमाडौं । भुटानमा बुधबारदेखि सुरू हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल उच्च आत्मविश्वाससहित मैदानमा उत्रन तयार रहेको मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताएका छन् । 

प्रतियोगिता सुरू हुनुअघि मंगलबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टोली यसपटक उपाधि जित्ने स्पष्ट लक्ष्यसहित मैदानमा उत्रने बताए ।

श्रेष्ठले अघिल्लो संस्करणमा देखिएका कमजोरी सच्याइएको र टेक्निकल तथा ट्याक्टिकल दुवै पक्षमा गहिरो मिहिनेत गरिएको बताए । बलियो प्रतिद्वन्द्वी भारतविरूद्ध पहिलो खेल कठिन हुने स्वीकार गर्दै उनले खेलाडीले मौकाको सदुपयोग गर्न सके जित सम्भव हुने विश्वास व्यक्त गरे ।

कप्तान भूमिका बुढाथोकीले टोलीभित्र उत्साहजनक माहोल रहेको बताइन् । सबै खेलाडी जित्ने भावनाले एकताबद्ध भएको र ड्रेसिङ रूपमा सकारात्मक ऊर्जा छाएको उनको भनाइ थियो । 

भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्। डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । 

नेपालले आफ्नो दोस्रो खेलमा भदौ ६ गते भुटान र ८ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरूद्ध १३ गते प्रतिस्पर्धा गर्नेछ । 

नेपालले आफ्नो अन्तिम खेलमा १५ गते घरेलु टोली भुटानको सानमा गर्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो । त्यतिखेर यो प्रतियोगिता अन्डर फिप्टिन उमेर समूहमा खेलिएको थियो ।