उपसभामुखविरूद्ध सत्तारूढ दलको एकाएक हस्ताक्षर संकलन, छानबिनभन्दा राजनीतिक बार्गेनिङ्को अस्त्र बनाइँदै

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपसभामुखविरूद्ध सत्तारूढ दलको एकाएक हस्ताक्षर संकलन, छानबिनभन्दा राजनीतिक बार्गेनिङ्को अस्त्र बनाइँदै

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरविरूद्ध एकवर्ष अगाडी संसद्‌मा उठेको विषयले मंगलबार एकाएक राजनीतिक बजार तताएको छ । 

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कसरत थालेका हुन् । त्यसका लागि दुबै दलले सांसद्हरूको हस्ताक्षर संकलन समेत गरेका छन् ।

पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन सत्तारूढ दल कांग्रेस र एमालेले आज हस्ताक्षर संकलन गरेका हुन्। 

त्यसका लागि सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई बोलाइएको थियो । सांसदहरूको हस्ताक्षर दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर उनीहरूले उपसभामुख रानामाथि उठेको विषय संसद्को छलफल प्रकृयामै रहेको भन्दै हस्ताक्षर संकलन भने हटाउनका लागि नगरिएको दाबी गरेका छन् ।

संवैधानिक परिषद्मा सत्ता पक्ष अल्पमतमा परेपछि कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने प्रयास फेरि अघि बढाएका हुन् । कांग्रेस स‌सदीय दलको कार्यालयमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरूबीच छलफल भएको थियो । 

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी हुनुभयो । आजै बिहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा समस्या भएकोले रानालाई हटाउनुपर्ने विषय उठेको श्रोतले जनाएको छ ।

कांग्रेस र एमालेका नेताहरूबीच हिजो साँझ बालुवाटारमा बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको थियो । उपसभामुख रानाले अनधिकृत व्यक्तिलाई अमेरिका पठाउन दूतावासलाई पत्राचार गरेको र उक्त विषय मानव बेचविखनसँग जोडिएको सत्ता पक्षको दाबी छ । 

उनीहरूलेकी उपसभामुखले नैतिकताका आधारमा राजिनामा दिएर छानबिनमा सघाउनुपर्ने नभए संवैधानिक व्यवस्था बमोजिम पदबाट हटाइने दाबी गर्दै आएका छन् ।

उपसभामुख राना भने अहिले अमेरिका भ्रममा हुनुहुन्छ । उहाँ भदौ १३ गते स्वदेश फर्कने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.