तिम्रो गितारले विश्राम लिएको हो रोविन दा, झङ्कारले होइन

असार २२, २०८० |मणि लोहनी
तिम्रो गितारले विश्राम लिएको हो रोविन दा, झङ्कारले होइन

रविन एन्ड द रिभोलुसन– ब्यान्ड मात्र थिएन

यो त रकस्टार रोविन तामाङको सपना र नेपाली नयाँ पुस्ताको ढुकढुकी थियो । लुजाको स्थापनासँगै आफ्नै भाषा र संगीतमा नेपाली युवा झुम्न र रम्न पाउने वातावरण बनेको थियो । त्यसो त लुजा समूह फुट्यो । फुट्यो त के भन्नु विस्तारित भयो । र बन्यो रोविन एन्ड द रिभोलुसन ब्यान्ड । यसले नेपाली रक संगीतमा क्रान्ति नै ल्यायो । अत्याधुनिक संगीतका भोका तन्नेरी र युवा थिए उत्साहित बने ।

नेपालमा स्टेज क्रेज बढाउने र नेपाली रक जनरालाई आम श्रोतासम्म पुर्‍याउने काम यही ब्यान्डले गरेको हो । अंग्रेजी रक सुनेर हुर्किएका किशोर र युवामा रोविनका नेपाली रकसंगीतले निकै ठूलो छाप पार्‍यो । नेपालभित्र र बाहिर रहेका आधुनिक पुस्तामाझ उनी रकस्टारका रुपमा स्थापित भए ।

अन्य जनराको गीतसंगीतमा गायन महत्त्वपूर्ण हुन्छ । तर रकमा गायकीभन्दा बढी पर्फमरको स्टाइल हुनु जरुरी छ । रोविन गायक मात्र थिएनन् उनी एक अब्बल पर्फमर पनि हुन् । उनका समकालीन सुगम संगीतमा रमाइरहेका बेला रोविन रक संगीतमा संघर्ष गरिहेका थिए । त्यसो त त्यहीबेला ओमविक्रम विष्ट पप गीतमा जमिसकेका थिए ।

चालीसको अन्ततिर काठमाडौंलगायत देशका प्रमुख सहरमा भर्खर–भर्खर सांगीतिक स्टेज सोहरू हुन थालेका थिए र त्यहाँ दीप श्रेष्ठदेखि ओमविक्रम विष्टसम्म पुग्थे । अरुण थापा र डेनीले ‘ऋतुहरूमा तिमी‘ र ‘कान्छीलाई घुमाउने काठमाण्डौं सहर’ गाइरहँदा ओमविक्रम पपसंगीतमा ‘म मौनतामा अल्झिरहेको यौटा जीवन’ गाइरहेका हुन्थे भने रोविन ‘मेरो माया’ मा गितार बजाइरहेका हुन्थे । उनको गीतसँगै तत्कालीन युवा पुस्ता हुर्कियो । तन्नेरीहरू गितार समाउने भए । र नेपाली रक संगीत स्थापित भयो ।

उनी चर्चित भएको रकगायक भएर मात्र होइन । उनमा सो–म्यानसिप र आफ्नै स्टाइलको पर्फमेन्स थियो । उनी स्टेजमा उत्रिँदा बेग्लै खाले एनर्जी र पर्फमेन्स देखिन्थ्यो । जो कोही पनि लोभिने उनको आफ्नो शैली थियो । त्यसो त उनले आफ्ना समकालीन गायकहरूका सुगम संगीतमा गाएका गीतलाई रक बनाएर गाए र थप चर्चित बनाए ।

अरुण थापा, दीप श्रेष्ठ, सञ्जीव प्रधान, सञ्जय श्रेष्ठ, सुनील उप्रती, हरिश माथेमासँगै रोविन युवाको ढुकढुकी बने । आधुनिकता पच्छ्याएर हिँडिरहेका युवा उनमा आफूलाई खोज्थे । आफूलाई भेट्थे । विदेशमा जन्मिएर हुर्किएका रोविनको व्यक्तित्व र शैली धेरैले नक्कल गरे ।

अहिले उनका समकालीन र शुभचिन्तक भनिरहेका छन्, ‘उनले संगीतमा दिएको योगदान अतुलनीय छ ।’ उनैले हो नेपाली रकसंगीतलाई लोकप्रिय बनाएको । रकस्टार उनी आफ्नै क्षमताले बनेका हुन् । आफ्नै संघर्ष र शैलीले ।

रोविन आउनुभन्दा पहिला पनि नेपालमा रक गीत गाइन्थे । तर उनी आएपछि रक गायन युवाको ढुकढुकी बन्यो । रक गायनमा पर्फमेन्स पनि हुनुपर्छ भन्ने उनले पुष्टि गरे । युवाले पच्छ्याए । रोविनले नेपाली रक जनराको गीतको विकास र उत्थानमा आफ्नो पूरै जीवन समर्पित गरे । देशभित्र र बाहिर उनी जहाँ रहे पनि रक संगीतमै सक्रिय रहे । त्यसो त पछिल्लो समय उनले नेपाली फिल्ममा अभियन गर्न थालेका थिए । फिल्ममा खलनायकको भूमिकामा रहने उनी जीवनमा सधैं नायक रहिरहे । मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, छड्केलगायत दर्जनौं फिल्ममा पनि अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।

उनलाई के थाहा थियो भने संगीतको साधना र शक्ति भनेको मनको सन्तोष मात्र होइन, संघर्ष र सपनाको पर्याय पनि हो । उनी आफ्नो संघर्षबाट जन्मिएको रक गायन युवापुस्तामाझ लोकप्रिय भएकामा रोमाञ्चित थिए । उनी भन्थे, ‘संगीत भनेको समूहसँगको एकालाप हो । यो एक मनबाट अर्को अर्को हुँदै धेरेको मनमा एकसाथ झंकित हुन्छ ।’

बेलायती सैनिकका छोरा रबिनलाई सबैले रोविन भन्थे । उनी सन् १९६३ मा सिंगापुरमा जन्मिएका हुन् । बाबुको जागिरसँगै उनको बाल्यकाल विभिन्न पाँच देशमा बित्यो ।

सिंगापुरमा प्रारम्भिक विद्यालय शिक्षाको क्रममा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलको गीत सुन्थे । उनी जिमी हेन्ड्रिक्स र डिप पर्पलबाट प्रभावित मात्र भएनन् । उनीहरूकै प्रेरणाले रक संगीतमा लागे । सन् १९८० तिर कलेजमा अध्ययन गरिरहेको समयमा उनले उनी रक संगीतमा अगाडि बढे । सन् १९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्ड स्थापना गरे । त्यसपछि उनको सांगीतिक करियरले छलाङ मार्यो । रोविनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे ।

त्यसपछि उनी सांगीतिक स्टेजका पर्याय बने । सन् २००५ मा लुजा समूह विघटन भएपछि उनले ‘रोविन एन्ड न्यु रिभोलुसन’ ब्यान्ड स्थापना गरे । ‘दम मारो दम’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’, ‘आधुनिकको आगमनमा’ जस्ता उनका चर्चित गीत हुन् । मुगलान रोविनको अत्याधिक रुचाइएको एल्बम हो । प्रवासी नेपालीको दुःखसुख समेटिएका मुगलानले बजार पिट्यो ।

रोविनका आफ्ना निजी बानी र स्वभाव थियो । आफ्नै खालको रहर र संघर्ष थियो । तर उनले आफ्ना बानी र रहरका कारण कसैलाई असहज बनाएनन् । आफू पनि सधैं शान्त रहिरहे । नारायणस्थानमाथिको हरियो डाँडाको निजी निवासमा उनले शान्तसँग जीवन बिताइरहेका थिए । र त्यही उनी कसैलाई खबर नगरी चुपचाप शान्तसँग बिदा भए । के उनले तय गरेको यो महाशून्यतातर्फको यात्रा उनले ठाने झैं शान्त रहला ? के उनको महाप्रस्थानले गितारको झंकारलाई माग्दैन ? तिमी जहाँ जाउ र जसरी जाउ रोविन दा, तिम्रो गितार मात्र रोकिएको हो, तिमीले बजाएको झंकार होइन ।

त्यो बजिरहने छ र झंकृत भइरहने छ युगौंयुगसम्म ।

यी सामग्रीहरू पनि हेर्नुहोस् !

इटस् माइ सोमा रविन तामाङ

ह्वाट द फ्लपमा रविन तामाङ

कविता- ‘उडान’

पढेर कहाँ सकिन्छ ‘सत्यमोहन’ !

थोरङला पासको उचाइमा

सायरको सहर

कथा : लोग्नेमान्छेका कुरा


Image

मणि लोहनी

लोहनी कान्तिपुर टीभीमा कार्यरत छन् ।