जोखिमपूर्ण निर्णय, सुखद नतिजा : विश्वकपमा कोरियाको कमब्याक

जेष्ठ २९, २०८३ |सुवास रोकाया
जोखिमपूर्ण निर्णय, सुखद नतिजा : विश्वकपमा कोरियाको कमब्याक

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो खेलमा फुटबलप्रेमीहरूले उच्चस्तरीय खेलको रोमाञ्चकता देख्न पाए । 

जहाँ दक्षिण कोरियाले चेकियाविरुद्ध २-१ गोल अन्तरको पुनरागमन जित सुनिश्चित गर्यो । पहिलो हाफभरि प्रभुत्व जमाए पनि गोल गर्न असफल कोरियाले दोस्रो हाफमा एक गोलले पछि पर्दा पनि लय गुमाएन । कोरियाली प्रशिक्षकको रणनीति अन्ततः जितको आधार बन्यो । 

यस सामाग्रीमा आज हामी कोरियाको जित र चेकियाको हारको कारणहरु औल्याउने छौं । 

एस्टाडियो एक्रोनमा किक अनको सिट्टी बजेसँगै दक्षिण कोरियाले बल पोजेसनमा स्पष्ट प्रभुत्व जमाएको थियो भने चेकिया आफ्नो परम्परागत शैलीअनुसार गहिरो डिफेन्सिभ संरचनामा बसेर खेल अघि बढाइ रह्याे । डिफेन्समा मजबुती र सेट-पीसमा भर परेको चेकियाले पहिलो हाफमा दक्षिण कोरियालाई खास दबाबमा राख्न सकेन । 

पहिलो हाफको अन्तिम १० मिनेटमा दक्षिण कोरियाले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङ निकै फितलो रह्याे । दोस्रो हाफ सुरु भएपछि खेलको गति परिवर्तन भयो । चेकियाले आफ्नो सबैभन्दा बलियो हतियार प्रयोग गर्दै सेट-पीसबाट अग्रता लिन सफल भयो । 

कप्तान लाडिस्लाभ क्रेज्चीले सेट-पीस अवसरलाई सदुपयोग गरे । उक्त गोलसँगै दक्षिण कोरियामाथि दबाब बढ्ने संकेत देखिएको थियो, तर कोरियाली खेलाडीहरूले विपरीत प्रतिक्रिया जनाए । उ थप संगठित रूपमा आक्रमणतर्फ केन्द्रित रह्याे । 

आफ्नो गेम प्लानलाई कायम राख्दै निरन्तर आक्रमण गरिरहेको कोरियाले ६७औं मिनेटमा त्यसको प्रतिफल पायो । ह्वाङ इन बियोमले उत्कृष्ट व्यक्तिगत क्षमताको प्रदर्शन गर्दै बराबरी गोल गरे । ली काङ-इनको अत्यन्तै सटीक र सिर्जनात्मक पासलाई उनले उत्कृष्ट फुटवर्कसहित नियन्त्रण गर्दै गोलमा परिणत गरे । 

यो गोलले खेलको सम्पूर्ण मोड परिवर्तन गर्‍यो । दक्षिण कोरियाका मुख्य प्रशिक्षक म्युङ-बो हङको रणनीतिक निर्णयहरू यस खेलमा अत्यन्त महत्वपूर्ण साबित भए । विशेषगरी कप्तान तथा टिमका अनुभवी खेलाडी सन हिउङ-मिनलाई ६९औं मिनेटमा प्रतिस्थापन गर्ने निर्णय जोखिमपूर्ण देखिए पनि अन्ततः सही सावित भयो ।

ओह ह्युन-ग्युले मैदानमा प्रवेश गरेलगत्तै विजयी गोल गर्दै खेलको नायक बने । यदि यो निर्णय असफल भएको भए आलोचना हुने सम्भावना थियो, तर प्राप्त नतिजाले हङको साहसिक निर्णयलाई पूर्ण रूपमा सही प्रमाणित गर्‍यो । हङको सफलता ट्याक्टिकल निर्णयमा मात्र सीमित थिएन । 

उनले टिममा मानसिक दृढता र आत्मविश्वासको स्तर उच्च राख्न सफल भए । विश्वकप जस्तो ठूलो प्रतियोगितामा पछाडि परेको अवस्थामा पुनरागमन गर्न मानसिक बल अत्यन्त आवश्यक हुन्छ, र त्यो शक्ति यस टिममा स्पष्ट देखियो । चेकियाको रणनीति सुरुदेखि नै स्पष्ट थियो । 

उसलाई सेट-पीसमा अत्यन्त बलियो टिम मानिन्छन् र यस खेलमा पनि त्यसैमा भर परे । विश्वकप छनोट चरणमा उसले गरेका २२ गोलमध्ये ११ गोल सेट-पीसबाट आएका थिए । ७४ वर्षीय मुख्य प्रशिक्षक मिरोस्लाभ कोउबेकले पनि यही शैलीलाई निरन्तरता दिए ।

चेकियाका लागि चिन्ताको विषय ओपन प्लेमा उसको कमजोरी हो । सोही कारण दक्षिण कोरियाविरुद्ध उसले सेट-पीस बाहेक ओप्पन प्लेमा खासै कुनै खतरनाक अवसर सिर्जना गर्न सकेनन् । समग्रमा हेर्दा चेकियाले अझ सन्तुलित र थप आक्रमण रणनीति विकास गर्नुपर्ने देखिन्छ । 

कोरियाका लागि कप्तान सनको लय चिन्ताको विषय हो । कोरिकाका सर्वकालीन सफल खेलाडी सन चेकियाविरुद्ध पटक पटक फिनिसिङमा चुके । एकएलएसको जारी सिजन १३ खेल खेल्दा गोलको खाता खोल्न नसकेका सन फर्ममा फर्किनु कोरियाका लागि अति आवश्यक छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।