किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

काठमाडौं । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गर्नुभयो । उहाँलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे ।

प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गर्नुभयो । उहाँले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिंदै अब नयाँ दृष्टिकोणका साथ उहाँका कथाहरूको समीक्षा र मूल्यांकन गरिनुपर्ने बताउनुभयो ।

गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्दै, “गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताउनुभयो । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर खरेल गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गर्नुभयो । घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको टिप्पणी गर्नुभयो ।

प्रधानसँग व्यतित गरेका केही शैलेन्द्र साकारलेअविस्मरणीय पलहरु जानकारी दिंदै पुरस्कृत सर्जकलाई बधाई दिनुभयो ।

गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गर्नुभयो । खरेललाई हिउँदको खोलाको संज्ञा दिँदै शान्त रुपमा निरन्तर गीत सिर्जनाकर्ममा खरेल लागिपरेको उहाँले बताउनुभयो ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताउनुभयो । “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।” उहाँले भन्नुभयो ।

कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गर्नुभयो । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गरे ।उनले कल्पना प्रधानले समेत नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने बताउनुभयो । “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।” उहाँले भन्नुभयो

कार्यक्रममा समाजका सदस्य डा.शान्तिमाया गिरी र सदस्य प्रदीप सापकोटाले पनि बोल्नु भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.