साहित्यिक पत्रकार संघद्वारा सर्जकहरू सम्मानित

चैत्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
साहित्यिक पत्रकार संघद्वारा सर्जकहरू सम्मानित

काठमाडौं । साहित्यिक पत्रकार संघले ४५ औं कथा दिवसको अवसरमा सम्मान एवं पुरस्कार समर्पण समारोहको आयोजना गर्‍यो ।

त्यस अवसरमा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट साहित्यिक पत्रकार रमेश पोखरेल (कार्यकारी सम्पादक, शब्द संयोजन मासिक) र साहित्यिक पत्रकार प्रवीण जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक), लोकप्रिया पुरस्कारबाट साहित्यकार प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ 'नवोदित' सम्मानित र पुरस्कृत हुनुभयो । व्यथित काव्य डायस्पोरा सम्मानबाट सम्मानित गरिने घोषणा गरिएका कविहरू लालगोपाल सुवेदी र दीपा राई पुन अमेरिकामा रहनु भएकोले पछि प्रदान गरिने भएको छ ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्यले सम्मान र पुरस्कार समर्पण गर्नुभएको हो ।

कार्यक्रममा सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय वरिष्ठ समालोचक प्रमोद प्रधानले दिनुभएको थियो । यसैगरी सो सम्मान र पुरस्कारका लागि गरिएको चयनका बारेमा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ "रोदन"ले स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमा प्रकाश पार्दै कथा दिवसबारे जानकारी दिनुभएको थियो । यसैगरी प्रमुख अतिथि के के कर्माचार्यले सम्मान र पुरस्कारका लागि असल पात्रहरूको चयन भएको बताउँदै यस्ता सम्मानबाट स्रष्टाहरूलाई अझ सक्रिय भएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभएको थियो । कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरू रमेश पोखरेल, प्रवीण जोशी, प्रतिसरा सायमि, विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ 'नवोदित'ले पनि आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

 शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर उद्घाटन गरिएको त्यस कार्यक्रममा कवि एवं कथाकार मणि लोहनीले साहित्यिक पत्रकार संघको योगदानबारेमा बोल्नु भएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.