.png&w=1000&height=550)
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसईईको पुरक परीक्षा आउन दुई दिन बाँकी छ । तर, अहिलेसम्म ९ सय ७१ जना विद्यार्थीको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गर्न सकेको छैन ।
ती विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । यसले परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीलाई छताछुल्ल पारेको छ । त्यतिमात्र होइन, नतिजा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएकामध्ये करिब चार प्रतिशतको हाराहारीमा विद्यार्थीको नतिजा फेरिएको छ ।
यसले पनि एसईईको उत्तरपुस्तिका परीक्षण र परीक्षा बोर्डको विश्वसनीयतामाथि थप प्रश्न उब्जिएको हो । सर्लाही जिल्लाको श्रीजनजागृति माविका विद्यार्थी गुजनाज तबस्सुम रजबी एसईई परीक्षामा ३ वटा विषयमा अनुतिर्ण हुनुभयो । नतिजा चित्त नबुझेपछि रजबीले अंग्रेजी, विज्ञान र गणित विषयको पुनर्योगका लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिनुभयो । तर, अहिलेसम्म पुनर्योगको नतिजा आएको छैन ।
पुरकको परीक्षा आउन दुईदिन बाँकी छँदा समेत नतिजा नआएपछि रजबी तनाबमा हुनुहुन्छ भने उहाँको परिवार अन्याेलमा परेको छ । रजबीजस्ता ९ सय ७१ विद्यार्थीको पुनर्योगको नतिजा प्रकाशित भएको छैन् । परीक्षा नियन्त्रण कायालयका अनुसार एसईई नतिजामा चित्त नबुझेर ३३ हजार ८ सय ८७ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए त्यसमध्ये ९ सय ७१ जनाको उत्तरपुस्तिका हराएको छ ।
कार्यालयले उत्तरपुस्तिका खोज्नेकाम जारी राखेको छ । तर, अझै भेट्टाउन सकेकाे छैन । ती विद्यार्थीहरुको उत्तरपुस्तिका भेटाउन नसक्दा पुनर्योगको नतिजा प्रकाशनमा ढिलाइ भएको कार्यालयले स्वीकारेको छ । पुनर्योगका लागि निवदेन दिएका ती विद्यार्थीको उत्तरपुस्तिका अन्य परीक्षा केन्द्रको उत्तरपुस्तिकाको पोकामा परेको हुनसक्ने भन्दै शनिबार र आइतबार दुईदिनको बिदाको समयमा खोजबिन गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यलयका अधिकारीहरु बताउँछन् ।
विद्यार्थीको उत्तरपुस्तिका हराउनु एउटा समस्या भयो । पुनर्योग गरिएका १२ सयभन्दा बढी विद्यार्थीका नजितामा फेरबदल देखिएको छ । परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगका लागि आवेदन दिएका ३१ हजार ५ सय १६ जनाको नतिजा प्रकाशन गर्दा १२ सय ७४ जना अर्थात् ३ दशमलव ७५ प्रतिशतको नतिजामा परिवर्तन भएको हो ।
देशभरका परीक्षा केन्द्रमै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा अनुभव नभएका शिक्षकहरुले परीक्षणको क्रममा प्राप्तांक अंक जोड्न छुटाएको, कतिपयमा प्राप्तांक अंक जोडेकै नमिलेको लगायत मानवीय त्रुटि भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसपालि विगतको तुलनामा धेरै गल्तीहरु भई पुनर्योगमा परिवतन भएको परीक्षा नियन्त्रण कार्यलयले स्वीकारेको छ । यसपालि उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणसम्बन्धी शिक्षकहरुलाई तालिमसमेत दिन नपाएका कारणले पनि धेरै त्रुटिहरु आएको बताएका छन् ।
विगत वर्षहरुमा पुनर्योगको क्रममा २ प्रतिशतसम्म नतिजामा परिवर्तन आउने गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।