इलाम । पाँचौ संस्करणको इलाम साहित्य महोत्सवले इलामको साहित्यक गतिविधिमा नयाँ तरंग भरेको छ।
नेपाल र भारतका नामूद साहित्यकारहरूको उपस्थितिले महोत्सवको रौनक बढेको हो । यतिबेला इलाम बादलुको घुम्टोसँग लुकामारी खेलिरहेको छ । छिनमा पानी अनि कुहिरोले ढाकिरहँदा चिसिएको मौसममा साहित्यिक जमघटले भने न्यानो थपेको छ।
साहित्य, पर्यटन, डिजिटल युग र पर्यटनका विषयमा व्यापक छलफल चलाइएको इलाम साहित्यिक महोत्सवले नयाँ उमंग थपेको हो। महोत्सवका अवसरमा कवि सुन्दर कुरुपलाई ५० हजार राशीको हाङयुक जुनिता साहित्यिक पुरस्कार प्रदान गरियो ।
त्यस्तै राधिका नेम्वाङ स्मृति पुरस्कार कविता नेपाललाई प्रदान गरियो । सिनेमाकर्मी दिनेश डिसी र गायक पुष्पण प्रधानलाई इलाम नगरपालिकाले सम्मान गरेको थियो । 'कविताः विरासतदेखि रिल्ससम्म', 'डिजिटल मासुभात र हामी पत्रकार', 'पर्यटनको वैभवः समृद्धिको आधार' 'आख्यान उपाख्यान' विषयमा सरोकारवालासँगको खरो बहसले कार्यक्रम थप रोचक वनायो ।
त्यस्तै 'शिक्षा विधेयकको सकस', 'सीमावर्ती साहित्य'सहित कथा, इतिहास, पर्यटनलगायतका हरेक विषयमा बहस भयो । बहसका वक्ताहरूले लेखनलाई गहिरो साधना र चेतनासँग जोडिएको प्रक्रिया भएको उल्लेख गर्दै साहित्यले समाजमा प्रश्न उठाउने र आलोचनात्मक चेत विकास गर्ने भूमिका खेल्नु पर्नेमा जोड दिए ।
नगर साहित्य कला संगीत प्रतिष्ठान इलाम, इलाम साहित्य समाज र हाङयुग जुनिता फाउन्डेसन इलामले आयोजना गरेको महोत्सवले साहित्यकारहरूलाई खुलेर आफ्नो सिर्जना पोख्ने अवसर दियो भने इलामको रमणीय वातावरणलाई साहित्यसँग जोडने आधार पनि बनाइदियो ।