दाङ । सरकारले न त आवश्यक परिमाणमा रासायनिक मल खरिद गर्न सकेको छ न त भएकै मल पनि राम्रोसँग वितरण गर्न सकेको छ।
त्यसैले किसान मल आयो भन्ने सुन्ने बित्तिकै सहकारीमा आधारातदेखि लाइन लाग्ने गरेका छन् । वर्षात्को समय सुरु हुनै लाग्दा सारायनिक मलको अभाव देखिन थालेपछि किसान भने चिन्तित बनेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडबाट गाउँमा ल्याएर रासायनिक मल वितरण गर्ने सहकारी अगाडी हिजोआज किसानहरु रातिदेखि नै लाइन बस्ने गरेका छन् कतिले मल पाएछन् त कति रित्तो हात घर फर्किन्छन् ।
दाङमा ६५ हजार ९८० हेक्टर खेतीयोग्य जरिम रहेको छ भने ३९ हजार हेक्टरमा धानखेती मात्रै हुने गरेको छ । वार्षिकरुपमा दाङका लागि मात्रै युरिया डीएपी र पोटास गरी ३२ हजार ८२१ मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ। तर, आवश्यक माग भएको कोटा भन्दा आधाजति मात्रै पनि मुस्किलले आयात हुँदा किसानले मल सहजरुपमा पाउन सकेका छैनन् ।
जिल्लामा रासायनिक मल वितरण गर्ने २ सय ६७ सहकारी छन् । कृषि सामग्री र साल्ट साल्ट ट्रेडिङले पर्याप्त मल नदिएको र गाउँमा आफूहरुलाई मल वितरण गर्न समस्या रहेको सहकारीको दुखेसो छ । दाङमा रासायनिक मल वितरणका लागि घोराही तुलसीपुर र लमही गरी तीन स्थानबाट कृषि सामग्री कम्पनीले मल बिक्री गर्दै आएको छ भने घोराहीमा साल्ट ट्रेडिङले पनि मल बिक्री गर्ने गर्दछ ।
तुलसीपुर क्षेत्र र सल्यानका लागि मल बिक्री गर्दै आएको कृषि सामग्रीसँग दाङको लागि कुनै पनि रासायनिक मल मौज्दात रहेको छैन भने लमही क्षेत्रमा रहेको थोरै मौज्दातलाई जेठ २६ गतेदेखी बिक्री गर्न थालेको छ भने रोल्पा र रुकुमसहित घोराही उपमहानगरपालिका तथा बंगलाचुली गााउपालिकाका लागि मल बिक्री गर्ने कृर्षी सामग्री कम्पिनी लिमिटेडसँग युरिया ८५६ मेट्रिक टन, डीएपी ७५० मेट्रिक टन र पोटास ८९ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।
गत पुसदेखि दाङका रासायनिक मल बिक्री गर्ने घोराही तुलसीपुर र लमहीका गोदाममा मल भित्रिएको छैन । त्यसअघि भित्रिएर मौज्दात रहेको घोराही र लमही गोदामको मल केही दिनमै सकिने अवस्था छ ।