
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा सखी प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान गरेको छ। सखी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आयमेली कवि बैरागी काइँला, गायिका ज्ञानु राणा, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा पूजा चन्द र साहित्यकार सुनील सङ्गमलाई सम्मान गर्नुभएको हो ।
सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न कार्यक्रमका महाकवि देवकोटाका जेष्ठ सुपुत्र पद्मप्रसाद देवकोटाले महाकविसँगका स्मरण सुनाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति कुलपति भूपाल राईले तिहारको छेकामा यसै प्राङ्गणमा महाकविको ११७ औँ जन्मजयन्ती मनाएको स्मरण गर्दै यो प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानकै शाखा रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई महाकविको सङ्ग्रहालयबारे जानकारी नरहेको र यहाँ आएर महाकविबारे बुझ्ने संस्कृतिको विकास हुन नसकेकोमा दुखेसो पनि पोख्नुभयो ।
त्यसअवसरमा आयमेली कवि बैरागी काइँलाले देवकोटाको यात्री कविताको चर्चा गर्नुभयो भने गायिका ज्ञानु राणाले महाकवि जस्तो विशिष्ट व्यक्तित्वका नामबाट सम्मानित हुन पाएकोमा गर्व लागेको बताउनुभयो । 'मान्छेको माया यहाँ खोलाको पानी जस्तो' बोलको गीत गाएर उहाँले सुनाउनु भएको थियो ।
कार्यक्रममा महाकवि देवकोटाकी पनातिनी तथा प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले महाकवि देवकोटाको स्मरण गर्दै जन-जनमा र मन-मनमा रहेका महाकवि देवकोटाका रचनाहरू यात्री कविता र मुना मदनका केही हरफहरू गाएर सुनाउनुभएको थियो ।
कवि मुरारी सिग्देलले सम्मानित व्यक्तित्वहरूको संक्षिप्त्त परिचय सहित नेपाली साहित्य र कला क्षेत्रमा पुर्याएको योगदानको गर्नुभएको थियो । कार्यक्रममा कवि मणि लोहनी र सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले पनि बोल्नु भएको थियो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, वन्दना गौतम, एलिशा ढुङ्गाना, राधा दुलाल कार्की, लक्ष्मण सिटौला, शान्ति रिसाल, कृष्ण बाउसे, रवीन्द्र आशिष 'शैली', सुभाषचन्द्र पौडेल'भीमफेदीया', मीना श्रेष्ठ, मदनराज थापा, हरिश कल्पित, नरेन्द्रबहादुर श्रेष्ठ, कलानिधि दाहाल, विजयध्वज थापा, मनिला वन्त तथा रश्मि रिमाल लगायतले कविता वाचन गरेका थिए ।