लालबन्दी नगर वाङ्मय परिषद्‌द्वारा यसवर्षका तीन पुरस्कार घोषणा

कार्तिक २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
लालबन्दी नगर वाङ्मय परिषद्‌द्वारा यसवर्षका तीन पुरस्कार घोषणा

सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्ले यसवर्षका तीन पुरस्कार घोषणा गरेको छ । 

पुरस्कार तथा सम्मान छनोट समितिले विसं २०८२ को भाषा तथा साहित्य पुरस्कार साहित्यकार रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ (आख्यान), साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८२ कवि एवं गीतकार दिनेश अधिकारी र स्थानीय प्रतिभा पुरस्कार सोही ठाउँका कृष्ण समर्पणलाई प्रदान गर्ने निर्णय गरेको परिषद्ले जनाएको हो ।

‘मकैको खेती’का लेखक कृष्णलाल अधिकारीको स्मृतिमा स्थापित उक्त पुरस्कार प्राप्त गर्ने अधिकारी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि उक्त पुरस्कार साहित्यिक पत्रकार रोचक घिमिरेले पाउनु भएको थियो । कवि तथा गीतकार अधिकारी नेपाली गीत कविताका एक प्रतिभाशाली स्रष्टा हुनुहन्छ ।

परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार राष्ट्रियस्तरमा ख्याति कमाएका कृति तथा स्थानीय प्रतिभाको सम्मान तथा प्रोत्साहनार्थ पुरस्कार स्थापना गरिएको हो । भाषा तथा साहित्य पुरस्कार र कृष्णलाल अधिकारी स्मृति पुरस्कारको राशी जनही रू ५० हजार तथा स्थानीय प्रतिभा पुरस्कारको राशी रू २५ हजार र सम्मान पत्र रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.