काठमाडौं । राष्ट्रसंघीय शैक्षिक तथा सांस्कृतिक संगठन-युनेस्कोले ललितपुर महानगरलाई सृजनात्मक संगीतको सहर घोषणा गरेको छ ।
ऐतिहासिक तथा साँस्कृतिक सम्पदासँगै प्राचीन बाजागाजा तथा लोकसंगीतमा अब्बल भएको भन्दै युनेस्कोले महानगरलाई संगीत सहरको घोषणा गरेको हो । यसबाट महानगर थप उत्साहित भएको छ । ललितपुर महानगर क्षेत्रमा रहेका ऐतिहासिक मठ मन्दिर र बौद्ध विहारहरू प्राचीन बाजागाजाका संगीतमा दिनहुँ गुञ्जायमान हुन्छ ।
हरेक बिहान साँझ दाफा भजन खलमा परम्परागत बाजाका तालमा भजनकीर्तिन सहितको संगीतले सबैको मन्त्रमुग्ध बनाएको हुन्छ । तान्त्रिक कार्तिक नाचको तीनसय ५० वर्षभन्दा पुरानो परम्परागत बाजा, नौबाजा, मृदङ्ग लगायतका मौलिक बाजाको लोकसंगीतमा समृद्ध छ सहर।
यही महानगरलाई युनेस्कोले शुक्रबार संगीत सहरको रूपमा घोषणा गरेको छ । विश्व सहर दिवसको अवसरमा संगीत सहरको घोषणाले यहाँको परम्परागत बाजागाजा र संगीतलाई समृद्ध बनाउन टेवा पुगेको विश्वास महानगरको छ । दुई वर्षको अथक पहलपछि ललितपुरलाई संगीत सहरको रूपमा घोषणा गर्न सफल भएको महानगरपालिकाले जनाएको छ ।
यसले ललितपुरको मौलिक बाजागाजाहरूको संरक्षणसँगै नयाँ पुस्ताका बाद्यबादकहरूलाई समेत अभिप्रेरित गर्ने विश्वास लिइएको छ । यसका साथै विश्वसामु ललितपुरको थप प्रवदर्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय संस्कृतिकर्मीहरूको भनाइ छ । ललितपुर महानगरले अब मौलिक बाजागाजा र संगीतलाई नयाँ पुस्तामा पुस्तारण गर्न विद्यालय तहको पाठ्यपुस्तकमा राखी प्रशिक्षण दिने योजन बनाएको छ ।