पर्यटकको नेपाल घुम्ने ‘सिजन’, मुख्य पदमार्गमा बढ्यो चहलपहल

चैत्र १०, २०८० |भुपाल गुरुङ|वसन्तप्रताप सिंह|आश गुरुङ|आनन्द गौतम|केदार शिवाकोटी
पर्यटकको नेपाल घुम्ने ‘सिजन’, मुख्य पदमार्गमा बढ्यो चहलपहल

पोखरा । मार्च र अप्रिल विदेशी पर्यटक नेपाल घुम्न आउने सिजन हो । वर्षको दोस्रो सिजनका रूपमा लिइने यो बेलामा हिमाल आरोहण, पदयात्रा, तीर्थाटन र प्राकृतिक सौन्दर्यसँग रम्न पर्यटक नेपाल आएका छन् । देशका मुख्यमुख्य ट्रेकिङ रुटमा पर्यटकीय गतिविधि बढेको छ ।

यहाँको सुन्दर हिमालको दृश्य हेर्न होस् या अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रभित्रको पदयात्रा गर्न विदेशी पर्यटक आउने गर्छन् । हिमाल आरोहण र पदयात्राबाट फर्किने पर्यटकहरुले पोखराको पर्यटन क्षेत्र चलयमान बनाएको छ । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ जना विदेशी पर्यटक भित्रिएका छन् ।

‘रेस्टुरेन्ट राम्रा छन् । मान्छे रमाइला छन् । हामी पदयात्रामा जाँदै छौं । हाम्रा लागि नेपालका हिमाल, पहाड सपनाजस्तै हुन् । त्यसकारण हामी एकदमै खुसी छौं,’ आयरल्यान्डबाट आएका पर्यटक एन्टिनेन्सको भनाइ छ । गण्डकी प्रदेशकै लमजुङमा राउन्ड अन्नपूर्ण र मनाङको तिलिचो गएर फर्किने पर्यटक पनि निकै भेटिन्छन् ।

उता एक लाख २० हजार जनसंख्या भएको ताप्लेजुङले तेब्बर पर्यटकलाई स्वागत गर्ने अवसर पाएको छ ।

बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तडमा पनि पर्यटकको चलपहल राम्रै छ ।

यसैगरी दोलखाका पदमार्गमा पनि विदेशी पर्यटक बढ्न थालेका छन् । दोलखाको रोल्वालिङ उपत्यका, च्छोरोल्पादेखि टासिलाप्चा पास गरेर सगरमाथा जाने पदमार्गमा पर्यटकहरु बाक्लिएको छ ।

नेपालमा भारत, चीन, अमेरिका, बेलायतलगायत देशबाट धार्मिक एवं साहसिक पर्यटक धेरै आउने गर्छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा विदेशी पर्यटकको आगमन सन् २०१९ को पूर्ववत् अवस्थामा फर्किएको छ ।

यो पनि...

सगरमाथा आरोहणका लागि डोरी टाँगेर बाटो बनाइँदै


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।

Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।

Image

आश गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका लमजुङ संवाददाता हुन् ।

Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement