आठ दिनदेखि बन्द तातोपानी नाका जोड्ने कोदारी सडकखण्ड सञ्चालनमा

मंसिर २७, २०८२ |कमला पाख्रिन
आठ दिनदेखि बन्द तातोपानी नाका जोड्ने कोदारी सडकखण्ड सञ्चालनमा

सिन्धुपाल्चोक । आठ दिनदेखि बन्द तातोपानी नाका जोड्ने कोदारी सडक खण्ड सञ्चालनमा आएकाे छ।

तातोपानी क्षेत्रका स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबीच भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित इको पहिरो नियन्त्रणका लागि दुई महिनाभित्र काम सुरू गर्ने सहमति भएपछि आठ दिनदेखि बन्द रहेको कोदारी सडक खण्ड बिहीबारदेखि सञ्चालनमा आएकाे हो।

सहमति जुटाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले स्थानीयसँग बिहीबार र शुक्रबार वार्ता गरेका थिए। स्थानीयले इको पहिरो नियन्त्रण र बस्ती सुरक्षाको माग गर्दै २० मंसिरदेखि सडक अवरूद्ध गरेका थिए।

सडक सञ्चालनमा आएसँगै खासामा अड्किएका मालबाहक कन्टेनर धमाधम लिपिङ प्रवेश गर्न थालेका छन्। भोटेकोशी-२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा रहेका स्थानीय र सडक डिभिजनबीच सहमति भएपछि तातोपानी नाका सञ्चालनमा आएको हो।

इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रूपैयाँ विनियोजन भइसकेको र ठेक्का आह्वानसमेत सम्पन्न भएको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ। डिभिजन प्रमुख भण्डारीका अनुसार ठेक्का सम्झौता गरेर दुई महिनाभित्र पहिरो नियन्त्रणको काम सुरू गरिनेछ। 

उहाँले इको पहिरोमाथि रहेका मानव बस्ती जोगाउन सबै सम्भावित उपाय अपनाइने बताउनुभयाे। भौगोलिक विकटताका कारण सबै जोखिमको जिम्मा लिन सकिने अवस्था नभए पनि बस्ती सुरक्षालाई प्राथमिकता दिइने उहाँको भनाइ छ।

स्थानीयले पहिरो नियन्त्रणका क्रममा गाउँको सम्पूर्ण जिम्मेवारी लिन माग गरेपछि तत्काल सहमति हुन नसकेको भए पनि हाललाई अन्तर्राष्ट्रिय कोदारी राजमार्ग सञ्चालन गर्ने सहमति जुटेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयाे । ६० दिनभित्र निर्माणको काम सुरू गर्ने सहमति भएको छ ।

कोदारी राजमार्ग बन्द हुँदा खासामा रोकिएका कन्टेनरमा स्याउ कुहिएको जनाइएको छ। सडक खुले पनि चिनियाँ पक्षले मालबाहक कन्टेनर सहज रूपमा पास गराउँछन् वा गराउँदैनन् भन्ने विषयमा व्यापारी वर्ग चिन्तित देखिएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।