एमाले महाधिवेशनमा सहभागी दलहरूको एकस्वर : अहिलेको सरकार अवैधानिक

मंसिर २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशनमा सहभागी दलहरूको एकस्वर : अहिलेको सरकार अवैधानिक

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन समारोहमा शुभकामना दिन पुगेका अधिकांश राजनीतिक दलहरूले अहिलेको सरकार अवैधानिक तरिकाले बनेको बताएका छन । 

उनीहरूले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका कार्यवाहक सभापति पुर्णबहादुर खड्काले निर्वाचनका माध्यमबाटै लोकतन्त्रको रक्षा गरिनुपर्ने बताउनुभएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि संसद् पुनर्स्थापना गरेरै छाड्ने दाबी गरिरहेका बेला कांग्रेस कार्यवाहक सभापति खड्काले भने प्रतिनिधि सभा पुनर्स्थापना अदालतको विचाराधीन विषय भएकाले त्यसलाई समेत खुला राख्दै निर्वाचनबाटै लोकतन्त्र लिकमा फर्काउनुपर्ने धारणा राख्नुभयो । यद्यपि उहाँले लोकतन्त्रको रक्षाका लागि ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टिका नेता देव गुरूङले मुलुकलाई संकटबाट निकास दिन सबै कम्युनिष्टको एकता अनियवार्य रहेको बताउनुभयो भने नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले पनि अहिलेको सरकारलाई अवैधानिक भन्दै देश विकासका लागि कम्युनिष्ट एकताका लागि आफू सकारात्मक रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानलाई जवरजस्ती ब्यूँत्याएर देशलाई थप दुर्घटनातिर नलैजान आग्रह गर्नुभएको छ । उहाँले राजा,  राजनीतिक दल र जेन-जीबीच नयाँ समझदारी गरेर जानुपर्ने धारणा राख्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले आगामी निर्वाचन भाग लिएर लोकतान्त्रिक अभ्यासमा साथ दिन आग्रह गरेको छ ।

एमालेको महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरूले पनि संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.